माधव प्रसाद अर्याल: दुःखको गहिराइदेखि ध्यान र साधनाको उचाइसम्म

माधव प्रसाद अर्याल: दुःखको गहिराइदेखि ध्यान र साधनाको उचाइसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन १५, २०७७

पहाडको धुलो मैलो, खेतीपाती, लेक बेसी अनि मेलापात गरेर हुर्किएको एउटा सामान्य व्यक्तित्व हो माधव प्रसाद अर्याल । जसले सुविधा उपभोग त कुरै छोडौँ देखेको समेत थिएन । 

तर, पछि  उहाँ कालान्तरमा गएर महेश महर्षि विद्यालयको भावातीत ध्यान शिक्षकका रुपमा आम मानिसलाई ध्यान के हो ? किन गर्ने ? र, कसरी गर्ने ? भन्ने बारेमा आध्यात्मिक चेतनाको विकासमा एउटा महत्त्वपूर्ण कडीको रुपमा जोडिन आइपुग्नुभयो । 

अध्ययन, ध्यान र चेतना चेतलाई एकसाथ अघि बढाइरहनु भएको उहाँको व्यक्तित्व सम्बन्धी यो आलेख आफ्नो अन्तस्करणको आवाज सुन्ने, अनि आफैँलाई चिन्न तथा जान्न खोज्नेका लागि एउटा महत्त्वपूर्ण पठनीय सामग्री हो । साथै अन्यका लागि पनि एउटा रोचक र जीवनमा अघि बढ्ने उत्प्रेरक दस्ताबेज हो । 

पारिवारिक अवस्था 

उहाँको बुवा इन्डियन आर्मी । आमा भने गृहिणी । तर, परिवार भने संयुक्त । संयुक्त परिवार भएकोले परिवार सङ्ख्या ठुलो नै  थियो । उहाँका चार सन्तान तीन भाइ दाजुभाइ तथा एक बहिनी । उहाँ भने जेठो । पानी लिन घण्टौँ हिँड्नु पर्ने । घाँस दाउरा गर्न घण्टौँ लेक बेसी गर्नुपर्ने । 

जन्म र बाल्यकाल

उहाँको जन्म अञ्चल गण्डकी । जिल्ला भने तनहुँ । क्यूँ गाविस । वडा नं नौ को हुक्का । अनि सालका हिसाबले २०२६ साल । नागरिकता र अन्य आधिकारिक दस्ताबेजले पनि यही नै पुष्टि गर्छ । 

एकदमै विकट, उहाँ भन्नुहुन्छ । उहाँको बाल्यकाल एकदमै दुःखद रह्यो । ठाउँ विकट भएपछि दुःख त्यसै थपिने भयो, उहाँ भन्नुहुन्छ । उकाली ओराली । घाँस, दाउरा । मेलापात । ढिकी, जाँतो । कुटो, कोदालो । झरी, बादल यसरी बित्यो बालापन उहाँ थप्नुहुन्छ । 

तर, जतिसुकै विकट र विपन्न भए पनि उहाँको बालापनमा पनि अरुकाझैं केही खेल र रमाइलो भने भए । कबड्डी, सात पत्रे  (एकमाथि अर्को सात वटा ढुङ्गा राखेर खेलिने खेल), गुच्चा, खोपी आदि खेलेर बित्यो उहाँको बाल्यकाल । 

उहाँ चौध वर्षको हुँदा उहाँको जेठाबा तराई  जानुभयो, रुपन्देही । जहाँ उहाँको ससुराली पनि हो । र, तराई गएर उहाँ एकदमै प्रभावित भएर आउनु भयो । यहाँ जस्तो उकाली ओराली होइन, सम्म फाँट हुन्छ । धान खेती हुन्छ । गाडी चढ्न पाइन्छ । साइकल चढ्न पाइन्छ । स्कुल पढ्न जान पनि धेरै हिँड्नु पर्दैन भनेर भन्नुभयो । त्यो प्रभाव उहाँको बाल मस्तिष्कमा पनि पर्‍यो । उहाँलाई त्यो त स्वर्ग भो । अनि कहिले जाऊँ जाऊँ  जस्तो पनि भयो  उहाँलाई । 

उहाँको बुवाले  पनि आफ्नो भागको जग्गा बेच्नुभयो । त्यो बेला पनि उहाँ घाँस काट्न जङ्गलमा जानु भएको थियो । घर आउँदा हजुरआमाले इन्डियाको एक जना सुबेदार आएर एक सिरानी जति पैसा दिएर हाम्रो जग्गा किन्यो । अब हामी तराई जाने भयौँ भन्नुभयो । यसो भन्दा उहाँलाई त्यो जत्तिको खुसी कहिले लागेन उहाँ भन्नुहुन्छ । 

अनि उहाँ तराई लाग्नुभयो । उहाँको जेठाबाले तराइका बारेमा जे सुनाउनु भएको थियो । अघिसम्मको त्यो कल्पना वास्तवमै यर्थाथ थियो । साँच्चै उहाँले परिकल्पना गरेको स्वर्ग नै रहेछ त्यो । 

उहाँ त्यसपछि तनहुँको त्यो विकट ठाउँबाट हिँडेर स्याङ्जा आउनुभयो । अनि स्याङ्जाबाट माल, लत्ता कपडाको भारी बाँधेर ट्रकमा तराई लाग्नुभयो । ट्रकले त्यस बेला भाडा एक हजार रुपैयाँ लियो । त्यो भनेको निकै हो त्यस बेला उहाँ भन्नुहुन्छ । यो २०४१ सालको कुरा हो । 

उहाँको त्यो सम्पूर्ण जायजेथा उहाँको बुवाले त्यस बेला असी हजारमा बिक्री गर्नुभएको थियो । उहाँको हजुरआमाले एक सिरानी पैसा भनेको त्यही रहेछ, उहाँ सम्झनुहुन्छ । त्यस बेला तराइमा अठार हजार बिगाहा जमिन रहेछ, उहाँ भन्नुहुन्छ । उहाँको बुवाले साँढे दुई बिगाहा जमिन किन्नुभयो । बाँकी पैसाले पहिलेका केही ऋण तिरिए, उहाँ भन्नुहुन्छ । 

रुपन्देही आएपछि एकदमै स्वर्गीय अनुभूति भयो, उहाँ भन्नुहुन्छ । जताततै सम्म समथर । घाम त्यति रातो हुन्छ भन्ने कुरा उहाँलाई पहाडमा कहिले पनि अनुभूति भएन । रातो घाम, हरियो मुसुरोको बाली, उब्जाउ जमिन साँच्चीकै अनौठो अनुभूति रह्यो तराइको उहाँमा । 

भारतमा उहाँले ध्यान शिक्षकका रुपमा टप गर्नुभयो । त्यसपछि उहाँहरूलाई नेदरल्याण्ड जाने मौका पनि मिल्यो । पहिले भने उहाँ एक्लै जानुभयो । पछि भने जोडीलाई मिल्यो यो मौका । त्यसपछि शिक्षासँग ध्यानलाई जोड्ने हिसाबले उहाँहरूले पढेर आउनुभयो । कोर्स थियो 'साइन्स अफ क्रियटिभ इन्टिलिजेन्स' । जसलाई चेतना विज्ञान पनि भनिन्छ । 

खाना पनि त्यतिकै मिठो लाग्यो रे  ! त्यहीँ उब्जाएको आलु, खेतमै आँखा अगाडि उब्जिएको धानको भात । अनि उहाँलाई के सबैभन्दा मिठो लाग्छ भनेर सोध्यो भने आलु र भात भन्नुहुन्थ्यो रे ! अनि साइकलै साइकल । अरूले चलाएर हिँडेको देख्दा पनि रमाइलो लाग्ने । अनि कुनै दिन साइकल चलाएर हिँड्ने सपना हुन्थ्यो रे ! उहाँको । तर, संयोगले हिजो साइकलको सवारीमा चढ्न रम्ने ठिटोको आज सवारी चार पाङ्ग्रे सम्म पुगेको छ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा घर नजिकै तनहुँको पृथ्वी प्राथमिक विद्यालयमा  भएको हो । त्यस बेला अहिले जस्तो नर्सरी नभनेर शिशु कक्षा भनिन्थ्यो, उहाँ भन्नुहुन्छ । शिशु कक्षा देखि तीन कक्षासम्म उहाँको पढाई पृथ्वी प्राथमिक विद्यालयमा भयो । 

बस्नलाई बेन्च थियो । ठुलो चउर भएका हुनाले जाडोमा घाम तापेर बाहिरै पढिन्थ्यो उहाँ भन्नुहुन्छ । घरमा धुलाम्य भए पनि स्कुलमा भने धुलाम्य भएर पढिएन, उहाँ भन्नुहुन्छ । स्कुलको अवस्था राम्रै थियो । त्यस्तो दयनीय थिएन भन्नुहुन्छ उहाँ । 

कक्षामा बिसको हाराहारीमा विद्यार्थी हुन्थे । विद्यार्थी खासै नभएकोले अगाडि पछाडि भन्दा पनि गोल घेरा जस्तै राखेर पढाइन्थ्यो । त्यै भएर अगाडि बेन्च र पछाडि बेन्च भन्ने हुँदैनथ्यो । छात्राहरु करिब एक तिहाइको सङ्ख्यामा हुन्थे । त्यो भनेको बिस जनामा झन्डै पाँच, छ जना । स्कुल करिब पन्ध्र, बिस मिनेटको दूरीमा थियो । फिस भने एक दुई रुपैयाँ थियो । 

त्यस बेला उहाँको बुवा छुट्ट भिन्न हुनुभयो । अनि उहाँको बुवाले बेसीमा खोलाको किनारमा जग्गा किनेर बस्न थाल्नुभयो । बसाई सहज होस भन्नका लागि बुवाले बेसीमा जग्गा त किन्नुभयो । तर, यसले पनि जीवन भने खासै सहज बनाएन । कारण जीवन यापनका माध्यम भने अझ टाढा भए । 

अब उहाँको स्कुलको दूरी बढेर झन्डै दुई घण्टामा रूपान्तरण भयो । स्कुल जङ्गलै जङ्गलको बाटो भएर जानुपर्थ्यो । त्यो देखेर दया लागेर माथिल्लो कक्षाका दाइहरूले बरु हामी नजिकको स्कुलमा भर्ना गर्दिन्छौ पनि नभनेका होइनन् । यो भनेको क्युँ स्थित बडहर भन्ज्याङको सिद्धार्थ माविको कुरो हो । 

उहाँ त्यस बेला बिचतिर बस्नुहुन्थ्यो कक्षामा । विद्यार्थी पनि बिच तिरैको हो उहाँ । कक्षामा झन्डै त्यस बेला पच्चीस तीस जना हुन्थे । महिलाहरूको सहभागिता पनि राम्रै थियो, उहाँ भन्नुहुन्छ । फी झन्डै पाँच, छ रुपैयाँ थियो । 

छ कक्षा पछि भने बेसीबाटै हिँडेर जाने अलि नजिकको स्कुलमा सर्नुभयो उहाँ, शङ्कर मावि डुम्री बेसी । जुन केलादी घाट नजिकै थियो । उक्त स्कुलमा उहाँ छ, सात र आठ कक्षा पढ्नुभयो । ठाउँ नयाँ अनि साथी पनि नयाँ । 

सङ्गतले परिवर्तन

सङ्गतले मानिस परिवर्तन हुन्छ भन्ने कुराको अनुभव शङ्कर मावि डुम्री बेसी आएर भएको बताउनुहुन्छ उहाँ । यो सङ्गतले अघिसम्मको एउटा सामान्य विद्यार्थी अब तीक्ष्ण विद्यार्थीको रुपमा परिणत हुन थालेको बताउनुहुन्छ, उहाँ । 

ती साथीहरू प्रथम, द्वितीय हुन्थे भने उहाँ चौथा हुनुहुन्थ्यो । पढाइमा यति प्रतिस्पर्धा थियो कि कुरै थिएन, उहाँ भन्नुहुन्छ । साथी सुतेपछि आफू भने मइन्टोल बालेर पढ्ने चलन थियो । ताकि साथीले आफूले पढेको चाल नपाओस् । अर्को भनेको त्यहाँको माहौल पनि एकदमै आध्यात्मिक थियो । भजन, कीर्तन । खैँजडी नाच गान इत्यादि हुन्थ्यो । भगवान् कृष्णका भजन, नाच गान आदि हुन्थे उहाँ भन्नुहुन्छ । 

त्यहाँ वैष्णव धर्म मान्नेको जमात ज्यादा थियो । त्यसले उहाँलाई कला तर्फ यानेकी सङ्गीत तर्फ जानलाई प्रेरित गर्‍यो । पछि उहाँ पाटन, पुलचोकस्थित कलानिधि इन्दिरा सङ्गीत विद्यालयमा भर्ना हुनुभयो र त्यहाँबाट सङ्गीत तर्फ आइए पनि पास गर्नुभयो । उहाँ बन्न त गायक नै बन्न खोज्नु भएको हो, तर त्यसो भने हुन सकेन । त्यसका लागि आर्थिक लगायत अन्य थुप्रै कारण रहेको पनि बताउनुहुन्छ, उहाँ । 

उहाँ शङ्कर मावि डुम्री बेसीमा आठ कक्षासम्म पढ्नुभयो । अनि त्यहाँबाट उहाँको बसाई सराई भयो । अनि उहाँ जानुभयो रुपन्देही । बुटवलदेखि दक्षिण तथा भैरहवादेखि पश्चिम छपिया, मदनगञ्ज, सर्जुगञ्ज भन्ने विभिन्न ठाउँ छन् त्यहाँ ।  उक्त ठाउँको फर्सा टिकर माविमा उहाँ नौ कक्षामा भर्ना हुनुभयो । यहाँ भने विद्यार्थी पचास, साठी जना हुन्थे । छात्राको सहभागिता पनि राम्रै थियो । करिब बिस, बाइस जना । उहाँ अब पढ्ने विद्यार्थी भइसक्नु भएको थियो । चौथो पाँचौँमा पर्नुहुन्थ्यो । 

अब भने उहाँ कक्षामा अगाडिको बेन्चमा बस्ने भइसक्नु भएको थियो । उहाँ सिधासादा विद्यार्थी । शिक्षकको हेराई पनि त्यस्तै रहन्थ्यो, उहाँ भन्नुहुन्छ । पढाइमा पनि एकदम लगनशील । उहाँले २०४३ सालमा एसएलसी दिनुभएको हो । उहाँको स्कुलबाट कोही पनि प्रथम श्रेणीमा उर्तीण हुनुभएन । करिब तीस, पैँतिस जनाले एसएलसी दिएका थिए त्यो बेला । उर्तीण भने पन्ध्र, सोह्र जना भएका होलान् । उहाँले दोस्रो श्रेणीमा एसएलसी उर्तीण गर्नुभएको हो । त्यो समय दोस्रो भनेको पनि उल्कै हुन्थ्यो, उहाँ भन्नुहुन्छ । 

एसएलसी पछि 

एसएलसी पछि उहाँ लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा भर्ना हुनुभयो । आईकममा । ०४३–०४५ को ब्याच हो उहाँ । त्यस बेलासम्म उहाँलाई वाणिज्य बाहेक अरु पनि विषय हुन्छ भन्ने ज्ञान नै रहेनछ । अनि सबैले पढ्ने भनेको वाणिज्य नै हो भन्ने लाग्दो रहेछ उहाँलाई । अलि साइन्स र इन्जिनियरिङका कुरा साथीहरूले गरेजस्तो चाहिँ लाग्छ, उहाँ भन्नुहुन्छ । उहाँलाई भने त्यो पछि पढ्ने पछि बन्ने होला भन्ने लाग्थ्यो रे ! अनि त्यो बेला पढ्ने भनेको आई कम मात्रै हो भन्ने लाग्दो रहेछ । 

त्यसपछि उहाँ बिकम पढ्न भैरहवा बहुमुखी क्याम्पसमा जानुभयो । क्याम्पस पढ्दै उहाँ सङ्गीतमा एकदमै रम्ने भइसक्नु भएको थियो । अनेरास्ववियूले आयोजना गर्ने कार्यक्रममा गाउने पनि गर्नुहुन्थ्यो उहाँ । सङ्गीतको यो मोह भने उहाँको शङ्कर मावि पढ्दाको वैष्णव समुदायको सङ्गत अनि उहाँ चलचित्र प्रतिको अत्यधिक लगाव थियो । 

यो चलचित्रको लगाव रुपन्देही गरेपछिको हो उहाँको । एक रुपैयाँ थियो फिल्म हेरेको । त्यसो हुँदा फिल्म हेर्न खासै गाह्रो पनि भएन, उहाँ भन्नुहुन्छ । पहिले त उहाँलाई हिरो बन्छु भन्ने रहेछ । तर, हिरो बन्न धेरै सङ्घर्ष र लगानीका कुरा पनि रहेछ, त्यसैले हिरो बन्ने कुरो थाँती रह्यो । 

अनि भैरहवामा कला प्रेमी साथी फेला परे । कसैलाई नाटकमा रहर कसैलाई केहीमा । उहाँलाई भने सङ्गीतमा । उहाँलाई कहिले बिकम पास गरेर काठमाडौँ गएर सङ्गीत सिकेर होटेलमा गाएर भने पनि गुजारा गर्छु भन्ने एक किसिमको हुटहुटी नै रहेछ सङ्गीतप्रति । सङ्गीतका लागि तबला हार्मोनियम सबै उहाँले गोरखपुर गएर लेराइ सक्नु भएको पनि थियो । अनि उहाँ साइकल, हार्मोनियम र तबला लिएर काठमाडौँ आउनु भएको हो । 

काठमाडौँ यात्रा 

उहाँ २०४७ सालमा पहिलो पटक काठमाडौँ आउनु भएको हो । उहाँ एक जना साथीलाई बैङ्कको जागिर भयबापत छोड्न अनि सघाउन आउनु भएको थियो काठमाडौँ । भाडा पचास रुपैयाँ थियो होला, उहाँ भन्नुहुन्छ ।  पुसको काठमाडौँको ठिहिराउने जाडोमा उहाँ पहिलो पटक सुनधारामा उत्रनु भएको हो । हुन त धुलो मैलो थियो, तर पनि रमाइलो लाग्यो, उहाँ भन्नुहुन्छ । जाडोले ठाउँ ठाउँमा चिया पसल थिए । अनि पसल पिच्छे मान्छे पनि । 

उहाँको एमबिए पढ्ने इच्छा भने अधुरै रह्यो, कारण फेरी उही आर्थिक । बोर्डिङमा पढाएर, रात दिन तयारी गरेर अनि कापी पनि जाँचेर एमबिए कसरी पढ्न सकिएला र ? उहाँ आफैँसँग प्रश्न गर्नुहुन्छ । उहाँले पढाएको बोर्डिङ भनेको ललितपुर सात दोबाटोको मुनलाइट बोर्डिङ स्कुल थियो । यो २०५० सालको कुरा हो । तलब थियो दुई हजार । 

तर, उहाँको पहिलो जागिर भनेको भैरहवामा थियो । बोर्डिङ स्कुलमै । तलब थियो आठ सय रुपैयाँ । त्यो पैसाले उहाँले गोरखपुर पुगेर हार्मोनियम किनेर ल्याउनुभयो । सङ्गीतप्रतिको उहाँको लगाव यहाँ पनि देखिन्छ । उहाँको रुचि अङ्ग्रेजीमा पनि थियो । अङ्ग्रेजीमा सरासर एमए गर्न नसकिने हुँदा उहाँले ब्याचलर तीन सय अङ्कको परीक्षा पास गरेर २०५६ सालमा अङ्ग्रेजीमा एमए सकाउनुभयो । 

विवाह

उहाँको विवाह २०५६ सालमा भएको हो । मागी विवाह नै हो, उहाँ भन्नुहुन्छ । उहाँको अर्धाङ्गिनी भने बुटवलको । माग्ने कामको सहयोगीका रुपमा भने उहाँको मामा देखापर्नुभो । उहाँका दुई सन्तान । एक छोरा अनि एक छोरी । छोरा एघारमा पढ्दै हुनुहुन्छ भने छोरी नौ कक्षामा । 

ध्यान तर्फको यात्रा

स्कुलको जागिर । पढ्नु पर्‍यो । पढाउनु पर्‍यो । त्यसमाथि त्यहाँ भित्रका अन्य तनाव छँदै थियो । यो तनाव हटाउने उपायको खोजीमा हुनुहुन्थ्यो उहाँ । साथीभाइसँग ध्यानका बारेमा कुरा त हुन्थे तर, कसरी ? कहाँ ? र कुन विधि पद्धति ? भन्ने केही थाहा थिएन, उहाँ भन्नुहुन्छ । अनि उहाँले यसै मेसोमा ललितपुरको खुमलटार, हालको इसिमोडको अफिस अगाडिको एउटा घरमा भावातीत ध्यान सिक्नुभयो । त्यस बेला भारतीय नै आउँथे ध्यान सिकाउन । 

उहाँले श्रीमतीलाई पनि लिएर जानुभयो ध्यानमा । दुवैलाई राम्रो लाग्यो ध्यान । यो क्षेत्रमा जाने बारेमा के छ भनेर श्रीमतीलाई सोध्दा उहाँले पनि हुन्छ भन्नुभयो । उहाँ यसलाई संयोग र भाग्य दुवै मान्नुहुन्छ, त्यस बेला कान्तिपुरमा भावातीत ध्यानका लागि जोडीको विज्ञापन निस्कियो । त्यसपछि उहाँले दरखास्त दिनुभयो । श्रीमतीको नाम एक नम्बरमा निस्कियो । उहाँको भने एघार नम्बरमा । त्यसपछि उहाँहरू दुवै जना भारतमा एकवर्ण तालिमका लागि जानुभयो । 

भारतमा उहाँले ध्यान शिक्षकका रुपमा टप गर्नुभयो । त्यसपछि उहाँहरूलाई नेदरल्याण्ड जाने मौका पनि मिल्यो । पहिले भने उहाँ एक्लै जानुभयो । पछि भने जोडीलाई मिल्यो यो मौका । त्यसपछि शिक्षासँग ध्यानलाई जोड्ने हिसाबले उहाँहरूले पढेर आउनुभयो । कोर्स थियो 'साइन्स अफ क्रियटिभ इन्टिलिजेन्स' । जसलाई चेतना विज्ञान पनि भनिन्छ । 

त्यसपछि उताबाट फर्केपछि भने उहाँ लगातार ध्यान सिकाउने काममा लागिरहनु भएको छ । महर्षि विद्यालयले यसो सघाउन आग्रह गर्‍यो । सघाए बापत केही दिने वचन पनि दियो, उहाँ भन्नुहुन्छ । उहाँले यसो गर्न थाल्नुभएको पनि बिस वर्ष भयो, उहाँ भन्नुहुन्छ ।  उहाँले महर्षि विद्यालयका कर्मबाट भने धेरै सम्मान प्राप्त गर्नु भएको छ । अन्य सानातिना पनि छन् । तर, सम्मानका लागि भनेर लागि नपर्ने बताउनुहुन्छ उहाँ । 

महर्षिको ध्यान प्रति आकर्षित हुनुको कारण बारेमा उहाँ भन्नुहुन्छ, यो एकदमै वैज्ञानिक छ । यसले भौतिक तथा आध्यात्मिक दुवै संसारको लाभ उठाउन प्रेरित गर्छ र अरूलाई पनि यसरी नै लाग्न उत्प्रेरित गर्नका लागि प्रोत्साहित समेत गर्छ ।  

अन्त्यमा 

आजको दुनियाँमा हतारो, भाग दौड र तनाव नभएको बिरलै मानिस होला । तर, यी महर्षिको ध्यान  मार्फत सबैका बिच तालमेल, सन्तुलन अनि मनलाई स्थिर बनाएर अघि बढ्ने उपाय छन्, यसलाई जीवनमा अवलम्बन गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण कुराको प्रेरणा लिन सहयोगी हुनेछ माधव प्रसाद अर्यालको यो छोटो जीवनी ।