नेपाली साहित्य : 'लाहुरे' का दुरूह पात्र र तस्बिर बिचमा लाहुरे स्रष्टाहरू
फाल्गुन १५, २०७७

सन् १८०९ को सुरुतिर पञ्जाबकेशरी महाराजा रणजितसिंहले लाहोर (हालः पाकिस्तान) मा नेपालीहरूलाई सैनिक पेसाको काम दिन थालेपछि त्यस्तो काम गर्ने व्यक्तिलाई नेपाली समाजमा 'लाहुरे'भन्न थालिएको हो मानिन्छ ।

सन् १८०६–१८१५ दशकताका गोर्खाली साम्राज्य पूर्वमा टिष्टादेखि पश्चिममा सतलज (झन्डै १,५०० किलोमिटर) सम्म लाम्बिएको थियो । यता हिन्दुस्तानी मैदानमा ब्रिटिस साम्राज्यको जगजगी बढ्दै गरेको अवस्था थियो । सन् १८१४ मा यी दुई शक्तिहरूबीच घमासान युद्ध हुन गयो । पश्चिम नेपालको नालापानी, जैथक तथा कुमाउको भीडन्तमा गोर्खाली बहादुरीबाट अङ्ग्रेजहरू प्रभावित भएका थिए । डिसेम्बर १८१६ को सुगौली सन्धिपछि विशाल नेपालको नक्सा मेची र महाकालीमा सीमित हुन पुग्यो । 

सुगौली सन्धि हुनुअघि सन् १८१५ मा अङ्ग्रेज (इष्ट इन्डिया कम्पनी) ले मलाउ किल्ला कब्जा गरेपछि काजी अमरसिंह थापासित गरेको सम्झौतापछि जर्नेल डेभिड अक्टरलोनीको मातहतमा अङ्ग्रेजहरूले गढवाली, कुमाई र गोर्खालीहरूलाई भर्ना गरी तीनवटा पल्टन खडा गरिसकेका थिए । पछि तिनै पल्टनहरूलाई बढाएर सन् १८९४/९५–१९०३/०४) तिर अङ्ग्रेज सेनामा लाहुरे भएर जागिर खानेको सङ्ख्या १६,३०४ पुर्‍याइएको थियो तर लाहुरे शब्द नेपालभित्र मात्र प्रयोग गरिँदै आइएको छ । नेपाल बाहिर विदेशी सेनामा काम गर्ने नेपालीहरूलाई ‘गोर्खा’ भन्ने गरिन्छ । लाहुरे शब्दको न्वारन चाहे जसरी होस्, वर्तमान अवस्थामा वैदेशिक रोजगारीमा जाने सम्पूर्ण नेपालीहरू लाहुरे नै हुन् । अवैधानिक रोजगारीको रूपमा अफगानिस्तान, जापान, मलेशिया, कोरिया वा अरब मुलुक पुगेर काम गरी रकम पठाउने नेपाली हुन् वा वैधानिक रूपमा बेलायत, भारत, सिङ्गापुर र ब्रुनाईमा गई सैनिक पेसा अपनाएर लाखौँ रकम पठाउने नेपालीहरू किन नहुन् आखिर सबै नेपालीहरू वैदेशिक रोजगारीकै लागि विदेश गएका हुन् । तर नेपाली साहित्यमा गाली पाउने, बुद्धू ठहरिने, अनेपाली भनिने, राष्ट्रबादको सन्दर्भमा लाहुरे (सैनिक पेसा अपनाएका) हुनु भनेको रगतको व्यापार सञ्चालन गर्ने साधन यिनै सैनिक पेसा अपनाउने ब्रिटिस, भारत, सिङ्गापुर र ब्रुनाईका सैनिक लाहुरेहरूमाथि थुपारिँदै आइएको छ ।

लाहुरे हुन बाध्य बनाउने इतिहासदेखि वर्तमानसम्मका ती जिम्मेवार शासकहरूको छातीमा किन कलमको टुप्पोले गोली दाग्दैनौ महाशाय र बन्दुक भिर्ने लाहुरेहरूलाई मात्र कहीँ ‘तोरी लाहुरे', कहीँ ‘पानी लाहुरे”, कहीँ ‘डोरी लाहुरे”, ‘जोकरे लाहुरे', ‘ब्रिटिस लाहुरे', ‘भारतीय लाहुरे', ‘सिङ्गापुरे लाहुरे', कहीँ बुद्धू र अनेपाली भनेर कलमको टुप्पो घुमाउँछौ हँ ? 

 लाहुरे पेसाप्रति खेमराज पोखरेल ‘लाहुरे उपनाम किन ?’ भन्ने शीर्षक राखेर (गरिमा मङ्सिर (२०४७) लेख्छन् । लाहुरे जो भरखरै मात्र ट्याङ्कभित्र वीरताको पारिश्रमिक कोचेर डुँडो हात र चाउरिएको गाला लिएर स्वदेश फर्किन्छ, यो भरौटे स्वाभिमानी व्यापारबाट विशुद्ध नेपाली रगतको वीरतालाई स्खलित पारिदिन्छ । 

 कवि तीर्थ श्रेष्ठ आफ्नो कविता ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’ भन्ने शीर्षकमा (गरिमा, पौष २०४१) लेख्छन् ।

म घाउ थमथम्याएर 
यो रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पाना च्यातेर
फाल्न चाहन्छु
पर्ख लाहुरे फूल !
म तिम्रो नाम फेर्न चाहन्छु ।

कवि कृष्ण प्रधान ‘पानीको दण्ड’ शीर्षक राखेर आफ्नो कविता यसरी अगाडि बढाउँछन् ।
पानीको घेरा समातेर
पानी लाहुरेहरू झैँ
अर्धजलमा छन्
पानीको दण्ड हो कि ?
पानीको श्राप ।

लाहुरेहरूकै सन्दर्भ लिएर कवि हीरा आकाश आफ्नो कविता ‘भूमिगत संस्कृति’ शीर्षकमा लेख्छन् । 
लुतो लागेको कुकुर जस्तो
भूमिगत संस्कृति भित्र्याएर
डलरको कात्रो ओढेर मरेको
लाहुरेलाई थाहा नै हँुदैन ।

नेपाली साहित्यमा यसरी लाहुरे जीवनको यथार्थ नभोगेका लेखकहरूको लेखनमा प्रायः लाहुरे जीवनको जटिलता मुखरित भएको पाइँदैन । तर यथार्थबाट नजिक भएका साहित्यकारहरूबाट भने लाहुरेहरू अनेपाली भएका छैनन् । अर्कोतिर लाहुरे बिम्ब नेपाली राष्ट्रियताको खोक्रोपन दर्शाउन भने खुबै उपयोगी भएको छ । 
यसै प्रसङ्गमा कवि भूपि शेरचन लेख्छन् । 
हामी वीर छौँ 
तर बुद्धू छौँ
हामी बुद्धू नभइकन 
वीर कहिल्यै हुन सकेनौँ
प्रत्येक पिँढीको द्रोणाचार्यले 
हामीलाई उपेक्षा गर्छ 
प्रत्येक पिँढीको द्रोणाचार्य 
हामीकहाँ आउँछ 
र गुरुदक्षिणा माग्छ ।

हो हामी पाइतला बनाइएका थियौँ र माला थाप्ने शिर अर्कै थियो/ छ । तर वर्तमान सैनिक पेसामा आबद्ध लाहुरेहरू यसो भन्ने गर्दछन् ।
हे ! साहित्यधारी हो 
बन्दुकको गोलीभन्दा
कलमको बोली शुरो हुन्छ
हामीलाई बुद्धू बनाएर के हुन्छ ?
सक्छौ भने–
हामीलाई बुद्धू बनाउने 
तिनै जिम्मेवार शासकहरूको छातीमा
तिम्रो कलमको शुरो गोली ठोके हुन्छ । 

यी त भए नेपाली साहित्यमा लाहुरेहरूबारे लेखिएका केही कविता र लाहुरेहरूको अभिव्यक्ति । वास्तवमा भन्ने हो भने लाहुरेबारे लेखिएका साहित्य र यी कविताहरूले लाहुरेहरूको दुःख, सुख र बाध्यताहरूको गहिराइसम्म छुने प्रयास गरिएको देखिँदैन । उनीहरू किन लाहुरे भएर लाहुर गए ? किन आजसम्म रगतको व्यापार गर्न बाध्य छन् ? त्यो व्यापारको पृष्ठभूमि कसरी तयार गरिएको थियो । उनीहरूको इमानदारिता, जोश, जाँगर, साहस र संसारको कुुना काप्चामा पुगेर उनीहरूले देखाएको रण कौशलबारे किन नेपाली साहित्य अमुक दर्शक भएर रमिता हेरिरहेको छ ? नेपाल भनेर चिनाउने लाहुरेहरूबारे किन इतिहास, कथा, कविता र जीवनी कहानीहरू लेखिँदैनन् ? अथवा चलचित्रका पर्दाहरूमा उत्रँदैनन् ? 

उनीहरू आफू खुसीले ‘लाहुरेको रेलिमाइ’ गीत गाउँदै वनभोज खान लाहुर गएका थिएनन् । घरलौरी (भर्ती हुनैपर्ने हुकुम) भर्ती भएका जवानहरू युफ्रेटसको बाढीमा हेलिँदै, फ्रान्स र ग्यालिपोलीका ट्रेन्चहरूमा कोचिँदै, इण्डोनेशिया र मलायाको अटाप्पे जङ्गलमा ज्यानको बाजी लगाएर कालको मुखमा होमिएका थिए । नेपाली साहित्यमा त्यस्ता कथा व्यथाहरूमै मात्र लेखिएका छन् । लडाकुहरूको देश नेपालमा सगरमाथा छ । बुद्ध जन्मेको लुम्बिनी छ भनेर चिनाउन मात्र सहयोग गरेनन् । इतिहासदेखि वर्तमानसम्म वैदेशिक रोजगारीमा गएका लाहुरेहरूको कमाइले राष्ट्रको आर्थिक स्थिति पनि मजबुत हुँदै आएको थियो÷छ ।

देशका राष्ट्रवादी राजनेता तथा राष्ट्रिय योजनाकारहरूले देशभित्र बाँच्न सक्ने वातावरण सिर्जना गर्न सकेको भए उनीहरू अर्काको बन्दुक बोकेर युद्ध लड्न जानु पर्दैनथ्यो । बन्दुकको मोहोरीमा जिउँदो छाती थापेर पैसा कमाउनु गोर्खालीहरूको बाध्यता बन्दैनथ्यो । यी बाध्यताहरूबारे नेपाली साहित्य र इतिहासमा धेरै कुरा लेखिनुपर्ने थियो । तर त्यसो हुन सकिरहेको छैन ।

लाहुरेहरूसँग भएको बन्दुक रणभूमिमा मात्र पड्किन्छ । त्यो पनि मालिकको आदेश पर्खिनुपर्ने हुन्छ । तर हातमा कलम हुने साहित्यधारीहरूको कलम जहिले पनि पड्किन्छ । पड्किने मात्र होइन कलमको गोलीले घुमाई घुमाई मज्जाले भुट्न सकिन्छ । लाहुरेहरू प्रश्न गर्दछन् । लाहुरे हुन बाध्य बनाउने इतिहासदेखि वर्तमानसम्मका ती जिम्मेवार शासकहरूको छातीमा किन कलमको टुप्पोले गोली दाग्दैनौ महाशाय र बन्दुक भिर्ने लाहुरेहरूलाई मात्र कहीँ ‘तोरी लाहुरे', कहीँ ‘पानी लाहुरे”, कहीँ ‘डोरी लाहुरे”, ‘जोकरे लाहुरे', ‘ब्रिटिस लाहुरे', ‘भारतीय लाहुरे', ‘सिङ्गापुरे लाहुरे', कहीँ बुद्धू र अनेपाली भनेर कलमको टुप्पो घुमाउँछौ हँ ? 

वास्तवमा कलमको टुप्पोले लाहुरे पेसाको छाती नघोचेर छातीमा टाँसेकोे तक्माको बहादुरीमाथि साहित्यिक सिर्जनाहरू गरिनु पर्दथ्यो । विश्वको सम्मानित पदक पाउने भिक्टोरिया क्रस विजेता बहादुरहरूको गौरव गाथा गाउनु पर्दथ्यो । त्रिपक्षीय सन्धिले व्यवस्था गरेको समानतामा आधारित तलब, निवृत्ति भरण र अन्य सेवा सुविधा दिलाउन आवश्यक कदमहरूप्रति अङ्ग्रेज सरकारलाई दबाबमूलक साहित्य र इतिहासहरू लेखिनु पर्दथ्यो । नेपालले भर्तीलाई (लाहुरे व्यवसाय लाई) प्रशय दिएर नोक्सानकै कारोबार गरेको कुरा मात्र निष्र्कष निस्कने भए त्यसको विकल्पमा अर्को बाटो रोज्ने सम्भावनाहरूप्रति आधिकारिक नीति निर्माणकर्ताहरूलाई संवेदनशूल हुन दबाब दिनुपर्दथ्यो । तर त्यसो नगरी इतिहास र साहित्यमा लाहुरेहरूलाई घृणाको पात्र बनाएर अघ्राख पलाउन मात्र मद्दत गरिएको हुनाले लाहुरे पेसाले पनि निरन्तरता पाइरहेको छ ।

खैर ! जेहोस्, लाहुरेहरूले यसरी चित्त बुझाउने गरेका छन् । हे महाशय हो ! बुट जुत्ता लगाउनेहरूलाई मात्र थाहा हुन्छ, बुट जुत्ताले कहाँ दुखाउँछ भनेर । लाहुरेहरूबारे साहित्य सिर्जना गर्नेहरू डेथ भ्याली नै नभोगेका र अङ्ग्रेज साहेबहरू मात्र छन् । उनीहरूले लेखेको हाम्रो इतिहास, हाम्रो साहित्य, हाम्रो प्रतिकुलको हुन्छ । त्यसैले लाहुरे स्रष्टाहरू भन्न थालेका छन् । अब हाम्रो इतिहास हामी आफैले लेख्नुपर्छ । हामीले भोगेको डेथ भ्याली र युद्धको अनुभूतिहरू इतिहास हुन्, साहित्यका कथा, कविता र उपन्यासका अति मीठा खुराकहरू हुन् । 

दोस्रो युद्धको बेला बर्मा (म्यानमार) को माखरिङ बस्तीतिर लडाइँ लडेर फर्केका एकजना वीर गोर्खाली योद्धाको आत्मसंस्मरण सुनेर पारिजातले नेपाली साहित्यमा प्रसिद्ध उपन्यास ‘शिरीषको फूल’ जन्माएकी थिइन् । लाहुरेको मर्म, लाहुरेको व्यथा कति मिहिन शब्दमा सिँगारिएको छ । तर लाहुरेलाई कलङ्क बनाइएको छैन । लाहुरे हुनुपर्ने बाध्यता सबैको बाध्यता हो, देशकै बाध्यता हो । साहित्यमा लाहुरे पेसालाई घृणित बनाउनुभन्दा बाध्यताको साङ्लोबाट छुटकारा पाउन नसक्नु देशकै अवस्था जिम्मेवार ठान्नु उपयुक्त हुनेछ । 

देश निर्माणको लागि अघि बढ्न अगुवाइ गर्ने जिम्मेवार व्यक्तिहरूले त्यो समस्याको जरामा पुगेर लाहुरे पेसा अपनाउन नपर्ने वैकल्पिक बेरोजगारका ढोकाहरू खोल्न सक्नुपर्छ । भोको पेटको समस्यासँग सङ्घर्ष गर्ने निर्दोष लाहुरेहरूलाई साहित्यको सुन्दर बगैँचामा कुरूप फूलको गन्ध बनाएर सुँघ्नुभन्दा लाहुरेहरूलाई हेर्ने बाध्यात्मक सौन्दर्य चेत फेर्नु बुद्धिमानी साहित्य लेखन हुनेछ । 

नेपाली समाजमा लाहुरेहरूप्रति बनाइएका लाहुरे तस्बिरहरू पनि नेपाली संस्कार संस्कृतिभन्दा भिन्न छन् । अथवा लाहुरेहरूप्रति गरिएका धारणाहरू शरम लाग्दा छन् । पश्चिमा छाडा स्वतन्त्रताको स्वाद चाखेका लाहुरेका छोराछोरीहरू नेपाली समाज र संस्कृति अनुरूप छैनन् । विदेशमा बसेका लाहुरेहरू शुद्ध नेपाली भाषा बोल्न जान्दैनन् । (साला पहाड में क्या है ? मिनबहादुर बिष्ट) । 

राजधानीका लाहुरेनीहरू पुरुष बेश्या पाल्छन्, लाहुरेहरूलाई धरानको कालो बङ्गुरको मासु र रायोको साग, चट्ट परेकी स्वास्नी साथै एउटा बङ्गला भए पुग्छ । बौद्धिकपन र राजनीतिमा ज्यादै निम्छरा, आर्थिक रूपमा केही केही सवल हुन्छन् । उनीहरूले सिर्जना गरेको साहित्य हतार गरेर लेखिएका जस्ता छन् भन्ने लाञ्छनाहरू लगाउने गरिएको छ । भनौँ नेपाली साहित्यमा लाहुरेहरूलाई दुरुह पात्रको रूपमा चित्रित गर्दै लाहुरेको तस्बिर तयार गरिएको छ ।

वास्तवमा लाहुरेहरू बौद्धिक अभ्यास गर्न लाहुर गएका होइनन् न त कन्टक नेताहरूझैँ राजनीति गरेर सम्पत्ति थुपार्न विदेश गएका हुन् । उनीहरूले कमाएको सम्पत्ति भनेको उनीहरूको रगत, पसिना र ज्यानको बाजीले साटेको कमाइ हो । 

यसरी सबैतिरबाट लाहुरे परिवारलाई भूमिगत संस्कृति भित्र्याउने पात्रको रूपमा उभ्याइरहेको बेला नेपालबाट छात्रवृत्ति वा कुनै न कुनै निहुँ बनाएर अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, अस्ट्रेलिया साथै अन्य विकसित देशमा गएर ग्रीन कार्ड लिनेको सङ्ख्या उनै लाहुरेप्रति नकारात्मक धारणा राख्नेहरूको पङ्क्ति अघिल्तिर छ । त्यति मात्र नभएर मुलुकले लगानी गरी विदेशमा पढ्न पठाएका डाक्टर, इन्जिनियरहरू जो राम्रो रोजगार पाएपछि उतै विदेशतिर घरबार जोडेर बस्ने गरेका छन् । 

सन् २००६ सालमा नेपाल छात्रवृत्ति शाखाले तयार गरेको तथ्याङ्कअनुसार सन् २००१ देखि २००५ सम्ममा नेपाल सरकारले उपलब्ध गरेको छात्रवृत्तिमा अध्ययन पूरा गरी सम्पर्कमा नआएका करिव दुई सय ८६ जनाको सूची तयार गरेको थियो । यसरी सरकारको ढुकुटीबाट अध्ययन पूरा गरेर अध्ययन गरेकै देशतिर पलायन भए पनि उनीहरूलाई 
सैनिक पेसामा लागेको लाहुरे झैँ कलङ्कमा मुछिएको पाइँदैन । अथवा उनीहरूको तस्बिर लाहुरेको तस्बिर जस्तो नबनाएर देशलाई माया मारेर नगएको नेपाली नागरिकको तस्बिर बनाइएको छ ।

क्रमश: