गजल

गजल

अन्जु अन्जली  |  साहित्य  |  फाल्गुन १५, २०७७

किन दुख्छ मन मेरो सोच्छु किन दुख्छ जीवन ।
थाहा छैन कहाँ गई कुन मोडमा रुक्छ जीवन ।

चर्किएर छातीभित्र पीडाहरू रुमल्लिँदा
आफैसँग हार खाई आफैलाई थुक्छ जीवन ।

किन झर्छ यति धेरै आँसु तिम्रो यादमा
यस्तो लाग्छ रित्तिएर आँसुसँगै सुक्छ जीवन ।

माया गरेँ विश्वास गरेँ भन के गल्ती गरेँ
तिमीले जित्यौ मैले हारेँ तिम्रो अघि झुक्छ जीवन ।

मैन जस्तै जलिरहेँ उज्यालो होस् तिमीलाई भनी
निःस्वार्थमा समर्पणमा भन कहाँ चुक्छ जीवन ।

छाडी गयौ फर्की आउँछु भन्ने बाचा दिलाएर
अब त बस् तिमी आउने बाटाहरू ढुक्छ जीवन ।

 

हालः बेलायत