म्याडम टुसाडका पुत्लाहरू

म्याडम टुसाडका पुत्लाहरू

डा. रूपक श्रेष्ठ  |  साहित्य  |  फाल्गुन १५, २०७७

रिजेन्ट पार्क र बेकर स्ट्रिटलाई
तपसिलका साक्षी राखेर
अनवरत उभिरहेछ लण्डनको मुटुमा 
ब्रिटिश एम्पायारका
खुँखार पुत्लाहरू सँगालेर
युनियन ज्याककी एउटी धरोहर
म्याडम टुसाड ।

म्याडम
सबको पुर्‍याउँछिन् रहर
भाउदर तोकेर
बन्दोबस्त प्राइभेट समयमा
रानी र राजकुमारीहरूसँग
राजा र राजकुमारहरूसँग
शक्ति र सम्पतिका टाईकुनहरूसँग
सुन्दर र सुन्दरीहरूसँग
धीत मरून्जेल
अँगालो हाल्न
चुम्बन गर्न
टाँसिएर तस्बिर लिन
र, फेसबुकका भित्ताहरूमा सजाएर
आफ्नो  कद बढाउन
आ–आफ्ना मनगढन्ते आदर्शका पुत्लाहरूसँग ।

हामीजस्तै लाग्ने केही थान पुत्लाहरू
फरक लाग्छन् अरू पुत्लाहरूबाट
अस्वाभाविक लाग्छन् ती पुत्लाहरू
अचम्म लाग्छ
ती पुत्लाहरू
अपत्यारिलो गरी
हिँड्छन्
खान्छन्
बोल्छन्
अनि
बाली
सुग्रीब
र, हनुमान्हरू मात्र हैन
लङ्गुर
बगाले
एक्ले
वा 
चैतेहरू देख्नासाथ
स्वस्ति गर्छन्
प्रशस्ति गर्छन्
फोटो खिच्छन्
र, भित्तामा प्रदर्शन गरेर
आफ्नो  कद बढाउँछन् ।

सायद पत्याउनुभएन होला
नपत्याए
आफ्नो  फेसबुक खोल्नुस्
र, हेर्नुस्
कति पुत्लाहरूले 
रातारात आफ्ना  कद बढाइसके होलान्
या पग्लिएर पोखिए होलान्
दूर्याेधनको लाहागृहझैँ
किनकि
मैनको आफ्नो आकार हुँदैन
लाहाको आफ्नो कुनै आदर्श हुँदैन ।


          हालः बेलायत