काठमाडौँ महानगरद्वारा नेपाल भाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण

काठमाडौँ महानगरद्वारा नेपाल भाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १७, २०७७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । 
यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ । अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो ।  

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२  शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ ।  आगामी शैक्षिक सत्रदेखि अनिवार्यरुपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक एक जना र विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जना जम्मा शिक्षक राख्ने कामपाको तयारी छ । 

पहिलो चरणमा कामपाले वडा २२ का ३० शिक्षकलाई यस किसिमको प्रशिक्षणमा सहभागी गराएको छ ।  नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालले “पाठ्यपुस्तकमा कामपाको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको बताउनुभयो ।   

पाठ्यपुस्तकमा काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । उहाँका अनुसार बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्गमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ ।

कामपाले आधारभूत कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो  । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्यरुपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ ।   

आगामी शैक्षिक सत्रदेखि कामपामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागु गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ । कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार  ७९१  शिक्षक कार्यरत छन् । 
–––