हात्ती प्रजनन् केन्द्र खोरसोरमा हात्ती उपचार शिविर शुरु

हात्ती प्रजनन् केन्द्र खोरसोरमा हात्ती उपचार शिविर शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १७, २०७७

चितवन । हात्ती प्रजनन् केन्द्र खोरसोरमा आजदेखि हात्ती उपचार शिविर शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्तरुपमा शिविर शुरु गरेको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार हात्तीलाई जुकाको औषधि खुवाउने, नङ् काट्ने, रगतको नुमना लिएर परिक्षण गर्ने, शरीरको बाहिरी अवस्था निरीक्षण गरेर हेर्ने, घाउ खटिरा एवं चोटपटक भएमा उपचार गरिने छ । यस क्रममा हात्तीलाई भिटामिन, मिनिरलसमेत खुवाइँदैछ । 

आउँदो महिनामा हुने गैँडा गणनामा प्रयोग गर्न मिल्ने हात्ती छुट्याउने काम पनि अहिले नै गरिँदै छ । श्रेष्ठले १५ दिन लगाएर सरकारी ५६ र निजी ६० हात्तीलाई प्रत्यक्षरुपमा उपचार गरिने बताउनुभयो । उहाँका अनुसार रगतको परीक्षणबाट कुनै रोग देखिएमा तत्काल उपचार प्रक्रिया अघि बढाइनेछ ।

शिविरमा निकुञ्ज र कोषका चार जना प्राविधिकसँगै नङ काट्नका लागि दुई जना कर्मचारी परिचालन गरिएको छ । हात्तीको स्याहारमा रहेका कर्मचारी पनि शिविरमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो । शिविरको शुभारम्भका अवसरमा श्रेष्ठसँगै कोषका प्रमुख डा बाबुराम लामिछानेसहित प्राविधिक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 

प्राकृतिक कारणबाट वैशाखयता चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा र कोषका एउटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिएको हो । निकुञ्जको खोरसोरमा २० वटा, सौराहा कार्यालयमा आठ, कसरामा छ हात्ती छन् भने पोष्टमा एउटा र दुईका दरले हात्ती रहेका छन् । यससँगै कोष र निजी क्षेत्रका हात्ती आआफ्ना हात्तीसारमा रहेका छन् ।

मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि केही समयअघि निकुञ्जका सबै हात्तीको रगतको नमूना सङ्कलन गरेर परीक्षणका लागि राखिएको छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।