कारागार अध्ययन गर्न छानबिन समिति गठन

कारागार अध्ययन गर्न छानबिन समिति गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७७

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । 

प्रशासन कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत तीन सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ । विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

 “घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ”, बरालले भन्नुभयो । 

कारागार कार्यालयभित्र रहेको ब्लक बीमा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदी र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवा सुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा पाँच कैदी घाइते भएका थिए ।

 उनीहरुलाई दमौली अस्पतालमा उपचारपश्चात् कारागारमै फिर्ता गरिसकिएको छ । कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार झगडामा संलग्न २५ कैदीबन्दीलाई स्थानान्तरण गरिसकिएको छ । सुरक्षा निकायको बैठकको निर्णयानुसार उनीहरुलाई आइतबार राति नै स्थानान्तरण गरिसकिएको उहाँले बताउनुभयो ।