धवलागिरिमा किशोरी सम्मेलन

धवलागिरिमा किशोरी सम्मेलन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७७

म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।

गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा भएको सम्मेलनमा ११  विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ प्रतिनिधिको सहभागिता थियो । किशोरीको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल गरेर प्रतिबद्धतासहितको घोषणापत्र जारी भएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो ।

किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, कानूनले तोकेभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानूनी कारवाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरिएको सम्मेलनमा सहभागीहरूले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुनलागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरिएको छ ।