महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७७

महोत्तरी । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । यद्यपि गत वर्ष २०७६ मा भने कोभिड–१९ महामारीका कारण महोत्सव हुनसकेको थिएन । हिउँदमा आयोजना हुँदै आएको बर्दिवास महोत्सव यसपालि यही फागुन २५ गतेदेखि चैत ८ गतेसम्म १३ दिन  आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभयो ।

“हामीले बर्सेनि महोत्सवको परम्परा बसालेका छौँ, गत वर्ष कोरोना प्रकोपले निरन्तरता दिन सकिएन”, महासचिव खतिवडाले भन्नुभयो, “यसपालि आयोजना गर्न लागिएको महोत्सवले कोरोनाका कारण थलिएको व्यापार प्रवद्र्धन हुने आस पालेका छौँ ।”

महोत्सवमा स्थानीय उद्यमलाई प्रोत्साहन दिने, कृषि उपज प्रदर्शनी तथा बिक्रीकक्ष सञ्चालन गरिने र स्थानीय सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्य रहेको सङ्घले जनाएको छ । महोत्सवमा रु ३५ लाख खर्च गरिने र एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव खतिवडाको भनाइ छ ।

यसैबीच बर्दिवाससँगै जोडिएको जिल्लाकै अर्को नगरपालिका गौशालाले पनि यस वर्षदेखि महोत्सवको थालनी गर्ने भएको छ । बर्दिवासको जस्तै व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसाथ यही आउने चैत ६ गतेदेखि १७ गतेसम्म ११ दिन सञ्चालन हुने प्रथम गौशाला महोत्सव गौशाला उद्योग वाणिज्य सङ्घले आयोजन गर्न लागेको हो ।

“कृषि उपजभित्र तरकारी उत्पादनका लागि हाम्रो नगर क्षेत्र उम्दा रहँदै आएको छ, हामी महोत्सवमा यहाँको स्थानीय उत्पादनबारे जानकारी छर्न चाहन्छौँ”, गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम साह भन्नुहुन्छ, “यसबाहेक हाम्रा स्थानीय लघुउद्यमबाट उत्पादित वस्तु पनि महोत्सवमा प्रदर्शनी र बिक्रीमा राखिने छन् ।” आफ्नो नगरको परिचय र आफ्नो भन्न सकिने उत्पादनबारे उपभोक्तालाई आकर्षित गर्नु महोत्सवको मुख्य ध्येय हुने अध्यक्ष साहको भनाइ छ ।