बेलायतका लागि  राजदूत रेग्मीद्वारा पदबहाली

बेलायतका लागि  राजदूत रेग्मीद्वारा पदबहाली

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७७

काठमाडौं । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गर्नुभएको छ । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्कनुभएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आउनुभएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुनुहुन्छ ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव हुनुभएको थियो । सोमबार मात्र लण्डन आइपुग्नुभएका रेग्मीले सोही दिन नै कार्यभार सम्हाल्नुभएको हो । उहाँलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी,  कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो ।