पत्रकार कार्कीलाई  इञ्जाको खोजी पत्रकारिता पुरस्कार

पत्रकार कार्कीलाई  इञ्जाको खोजी पत्रकारिता पुरस्कार

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७७

काठमाडौँ । नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट पुरस्कृत हुनु भएको छ । नागरिक दैनिकमा विशेष गरी राजनीति, सुरक्षा, अपराध तथा सुशासन सम्बन्धी रिपोर्टिङ गर्दै आउनु भएको उहाँले नागरिक दैनिकमा नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमिता र ठगी सम्बन्धी लेख्नुभएको समाचारलाई इञ्जाले उत्कृष्ट ठहर गरी खोजि पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कार्कीसँगै लोकान्तर डटकममा कार्यरत सुशील पन्तलाई पनि इञ्जाले पुरस्कृत गरेको छ।

एक लाख रुपैयाँ राशिको पुरस्कार सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गर्नु भएको हो । 

इञ्जाको तेस्रो स्थापना दिवस तथा पुरस्कार वितरण एवं सम्मान समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुनःस्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भएको बताए।

नागरिक दैनिकमा कार्यरत कार्कीले राजनीति, सुरक्षा, अपराध, सुशासन सम्बन्धी रिपोटिङ गर्दै आउनु भएको  छ । पुरस्कृत पत्रकार कार्की सोलुखूम्बूको लिखुपिके वडा नं ४ जन्मनु भएको हो ।  

सो अवसरमा साहित्यकार राजेन्द्र पराजुलीलाई उत्कृष्ट साहित्यिक पुरस्कार तथा इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बझाङका पत्रकार वसन्तप्रकाश सिंह, रुपन्देहीकी पत्रकार नीरा गौतम र दोलखाकी पत्रकार मन्दिरा थापालाई प्रदान गरिएको थियो । 

कार्यक्रममा लामो समयदेखि पत्रकारिता अध्यापन गराउँदै आएका लाल देउसा राईलाई इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरियो। लामो समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई पनि सम्मान गरिएको थियो।  

कार्यक्रममा इञ्जा एसिया च्याप्टरका अध्यक्ष टंक पन्तले विभिन्न क्षेत्रमा दिइएका पुरस्कारले पत्रकारहरूको प्रोत्साहन हुने विश्वास व्यक्त गरे।  

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित लगायतले इञ्जा पुरस्कारले पत्रकारहरूलाई प्रोत्साहन गरेको बताएका थिए।