पहाडी लाेकभाकाः तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौँतरी

पहाडी लाेकभाकाः तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौँतरी

यमबहादुर दुरा  |  लोकरञ्जन  |  बैशाख ६, २०७६

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा पहाडको अग्र्यानिकपन र सङ्घर्षशील जीवनको मीठो वर्णन गरेका छन् । उनले लेखेका छन्, ‘यहाँ कृतिमता छैन...। जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । ... काम नगरी खान खसै बूता हुँदैन...।’

कूल भूभागको ८३ प्रतिशत हिस्सा डाँडाकाँडाले ढाकेको नेपालको पहाडी भूभाग लोकगीतको खानी हो । त्यहाँ सुमधुर सङ्गीत छ । पहाडको उकाली–ओराली र देउराली–भञ्ज्याङका देवीदेउरालीसँग सङ्गीतले युगौंदेखि मितेरी साइनो गाँस्दै आएको छ । गाउँमा आधुनिकताको लहर आउनुभन्दा अघि रैथाने लोकभाकाहरूको रन्कोले पहाडी जनजीवनमा रौनक थपिदिन्थ्यो । 

सङ्गीतसम्बन्धी विदेशी अध्येताहरूले भन्ने गरेका छन्, नेपालका पहाडी भेगका गीत धेरै सुमधुर हुन्छन् । नेपालको पाखा–पखेरामा गुञ्जिने मोहनी लोकभाकाहरू यसका साक्षी हुन् । नेपालको साङ्गीतिक वातावरणलाई गुल्जार बनाउँदै जनजनको गलामा गुञ्जिएका धेरैजसो लोकभाका पहाडकै भावभूमिमा कोरलिएका छन् । ती लोकभाकामा पहाडी जीवनको जीवन्त तस्बिर प्रतिबिम्बित हुन्छन् ।

देवकोटा पहाडको नृत्य र गीतको मुक्तकण्ठले प्रशंसा गर्छन् । उनी ‘पहाडी जीवन’ निबन्धमै लेख्छन्, ‘नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लन्छन्, हावा झै‌ं चढ्दछन् र कामबाट फुर्सद पाहुना साथ ती गोडा नाच्दछन् । पुराना–पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझै‌ं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।’

पर्वतले नेपालीजनको सुस्केरा युगौँदेखि सुन्दै आएका छन् । यी सुस्केरा पहाडहरूमा प्रतिध्वनित हुँदै आएका छन् । पहाडका पाखा रेखा र कुना–कन्दरामा गुञ्जिँदै आएका यी लोकसुस्केराहरूको अभि लेखन र खोज–अनुसन्धान अपेक्षित छ, जसले हाम्रा भावी सन्तानलाई पहाडी जीवनशैलीबारे चिरपर्यन्त मार्गदर्शन गर्न सकुन् । 

संसारभर पहाडका गीत गाइन्छन् । खास गरी पहाडी भूश्रङ्खला भएका ठाउँमा पहाडका गीत भरनाले पैदा गरेको सङ्गीत झै‌ं गुञ्जिन्छन् । रकी माउन्टेन, आल्पस पर्वतजस्ता विश्व चर्चित पर्वत श्रृङ्खलाहरूबारे धेरै गीत बनेका छन् । ‘हाइ अन अ माउन्टेन’, ‘रकी टप’, ‘ब्लु रिज माउन्टेन्स्’, ‘टेनिसी माउन्टेन होम’, ‘बिग रक क्यान्डी माउन्टेन’, ‘रकी माउन्टेन वे’, ‘फगी माउन्टेन ब्रेक डाउन’ जस्ता गीतहरू चर्चित छन् । अमेरिकी गायक मार्ले ट्राभिस (सन् १९१७–१९८३) ले सन् १९४७ मै लोकगीतहरूको पहाडी लोकगीतहरूको संगलो ‘फोकसङ्ग अफ द हिल्स’ निकालेका थिए । यस्ता गीतहरूको सूची निकै लामो छ । 

पहाड जति सुन्दर र मनोरम छ, त्यति नै क्रुर पनि । संर्घष नचिन्नेको अस्तित्वलाई पहाडले स्वीकार नै गर्दैन । चुनौती र संर्घषलाई आत्मसात् गर्नेहरूलाई मात्र पहाडले माया गर्छ र उसको अस्तित्व स्विकार्छ । त्यसैले पहाडको अर्को नाम सङ्घर्ष हो । घामसँग छायाँ आएजस्तै पहाडी जीवनसँग स्वाभाविक रूपमा सङ्घर्ष  जोडिएर आउँछ ।

पहाडका बासिन्दा पहाडको सुन्दर काखमा रमाए पनि कतिपय अवस्थामा पहाड (डाँडाकाँडा) प्रति उनीहरूको एकप्रकारको विद्रोह भाव पनि छ । पहाडले आवागमनमा बाधा पैदा गर्छ, सञ्चारमा अवरोध पैदा गर्छ । कतिपय अवस्थामा कतिपयले उपस्थितिलाई रुचाएको पाइँदैन । ‘तिमीलाई हामलाई छेकेन डाँडोलाई लगे हुन्थ्यो पैह्रोले सलल’, ‘अल्को डाँडा नभए हुनिथ्यो, मै बोलेको मायाले सुन्निथ्यो’ जस्ता गीतमा पहाडप्रति प्रत्यक्ष वा परोक्ष किसिमको विद्रोही भाव भेटिन्छन् । 

नेपाली जीवनमा पहाड यथार्थ हो । हाम्रो पहाड भन्नाले अग्ला पर्वत वा हिमालय श्रङ्खला मात्र बुझिँदैन । पहाडको दायरा फराकिलो छ । सामान्य बुझाइमा अग्लाहोचा डाँडाकाँडा पनि पहाडमै पर्छन् । पहाडले जीवनका सबै आयामलाई छुन्छ । एकतिर पहाडले जीवनदायिनी प्रभाव छाड्छ भने अर्कोतिर यसले चुनौतीकाको पहाड पनि खडा गर्छ । 

पहाहको भौगोलिक विकटता जन्माउँछ । कतिपय अवस्थामा पहाड मौन ‘भिलेन’ भएर उभिन आइपुग्छ । आफ्नो मानिससँग भेटघाट गर्न सजिलो हुन्न । यस्तो अवस्थामा आफ्नो हितैषीलाई पाउन कोही क्रान्तिकारी रूपमा देखाउँदै डाँडै फोर्न तयार हुन्छन् भने कोहीचाहिँ सम्झौता परस्त बनेर आफ्नो मान्छेलाई घरै सार्न सल्लाह दिन्छन् । ‘यो मायालाई मै लान्छु चोरेर अल्को डाँडा मेसिनले फोरेर’ मा क्रान्तिकारीपन छचल्किन्छ भने ‘तिमीलाई टाढा मलाई नि टाढा, माछी काँडे डाँडामा घर सार’ मा सम्झौता परस्त भाव झल्किन्छ । 

हाम्रा लोकगीतमा पहाड (हिमाल वा डाँडा) झुल्किरहन्छ । कहिलेकाहीँ गीतको अन्त्यानुप्रास मिलाउनका लागि मात्र गीतमा पहाड झुल्किन्छ । गीतको मूल भाव अर्कैतिर लक्षित रहन्छ । ‘हिमालचुली पल्लोपट्टि गाई मरेको छाला, लुकीचोरी लाको माया नभन्दिनू होला’, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौँतरी’ जस्ता गीत यही श्रेणीमा पर्छन् । 

पहाडसँग रहेकाको जीवन जोडिन्छ । छोरी चेली अपवाद बन्ने कुरै भएन । लोक गायिका कविता आलेले छोरीचेलीको मर्मलाई गीतमा बेजोड किसिमले समेटेकी छिन् । कुनै समयमा उनको स्वरमा रेडियो नेपालबाट बज्ने ‘सरमा सर सुइटरै बुन्नु फलामे सुइरोले, डाँडामा बसी घर हेरुँ भन्दा छेक्यो नि कुइरोले’, ‘सिरसिरे डाँडाको फिर्पिmरे हावा उडायो पछ्यौरी, सात डाँडा काटी दिएर बाबा रुवायौ यसरी’ जस्ता गीतका हरफले मर्मको पहाड नै उ भ्याएको छ । 

यी गीत अहिलेको डिजिटल युगमा त्यति विधि सान्दर्भिक छैनन् । तर, समयको कुनै कालखण्डमा भयानक सान्दर्भिक थियो । विगतमा सम्पर्कका लागि कुनै माध्यम थियो, न त सुविधायुक्त बाटोघाटो नै । एउटा सानो झोलुङ्गो नहुँदा एउटै खोलाको अल्लो र पल्लो किनारा एक—अर्कामा परदेश जस्तो बन्थ्यो । ज्यान हत्केलामा राखेर ज्यानमारा खोला तर्नुपर्‍थ्यो । वर्तमानले असान्दर्भिक बनाउँदै लगे पनि विगतमा यी गीतको मर्म निकै सघन किसिमको थियो ।  

हाम्रा असङ्ख्य पहाड–पर्वतले नेपालीजनको सुस्केरा युगौँदेखि सुन्दै आएका छन् । यी सुस्केरा पहाडहरूमा प्रतिध्वनित हुँदै आएका छन् । पहाडका पाखा रेखा र कुना–कन्दरामा गुञ्जिँदै आएका यी लोकसुस्केराहरूको अभि लेखन र खोज–अनुसन्धान अपेक्षित छ, जसले हाम्रा भावी सन्तानलाई पहाडी जीवनशैलीबारे चिरपर्यन्त मार्गदर्शन गर्न सकुन् ।