बुवाले कुटीकुटी बैतडीमा तीन महिने छोराको हत्या ! बुबा प्रहरी नियन्त्रणमा

बुवाले कुटीकुटी बैतडीमा तीन महिने छोराको हत्या ! बुबा प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १९, २०७७

बैतडी । बुवाको कुटाइबाट बैतडीमा २०७७ फागुन १८ गते मंगलबार तीन महिने छोराको ज्यान गएको छ ।

यसरी ज्यान जानेमा पञ्चेश्वर  गाउँपालिका–७ खनाडीका तीन महिनाका लक्ष्मण चन्द रहेको प्रहरी जनाएको छ । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुर चन्दले हत्या गरेका हुन् । राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 'सुतिरहेका छोराको टाउकोमा हानेछन्', उहाँले भन्नुभयो, 'बच्चा वीभत्सरुपमा छ, उनले छोरालाई किन मारे भन्ने कुरा खुल्न सकेको छैन, हामी घटनास्थलमै छौँ ।'

यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् । लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन् । बुबाको टाउकोमा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट रहेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।