डोको–डालो बनाएर आम्दानी गर्दै महिला

डोको–डालो बनाएर आम्दानी गर्दै महिला

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १९, २०७७

नवलपरासी । बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् । 

जिल्लाको पहाडी गाउँमा बाँसको उत्पादन राम्रो हुने भएकाले पनि जीविकोपार्जनका लागि महिला यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको पूर्वी क्षेत्र गैँडाकोट नगरपालिका–३ भुजेलगाउँका महिलाले डोको–डालो बनाएरै आफ्नो जीवन निर्वाह गर्दै आएका छन् । पुख्र्यौली पेशालाई निरन्तरता दिँदै उनीहरुले डोको–डालो बनाएर बिक्री गर्दै आएका हुन् । दुुःख गरेर डोको–डालो निर्माण गर्ने गरेको भए पनि परिश्रमअनुसारको उचित बजार मूल्य नपाउने गरेको उनीहरुको गुनासो छ । भुजेलगाउँमा डोको बुन्दै गरेको अवस्थामा भेटिनुुभएकी ५७ वर्षीया जमुना भुजेल आफू १५ वर्षको हुने बेलादेखि नै डोको, डालो बुन्न शुरु गरेको बताउनुहुन्छ । आफ्नो बुवाले सिकाउनुुभएको डोको–डालो बुन्ने पेशा बुवाको शेषपछि पनि निरन्तरता दिएको भुजेल बताउनुहुन्छ ।

“डोको–डालो बुनेर यसको बिक्रीबाट आउने पैसाले नै परिवारको खर्च चल्ने गरेको छ”, भुजेलले भन्नुुभयो, “हाम्रो घरखर्च चलाउने पैसा आउने बाटो नै यही हो । यो डोको–डालो कहिले चामलमा बिक्छ त कहिले पैसामा ।” दिनमा दुईवटासम्म डोको–डालो बुन्ने गरेको उहाँले बताउनुुभयो । गैँडाकोटको पहाडी गाउँको भुजेल बस्तीका अधिकांश महिलाको एउटै पेशाका रूपमा रहेको काम हो डोको–डालो बुन्नु ।

भुजेलगाउँकै सोमीमाया भुजेलको दैनिकी पनि डोको–डालो बुनेर नै बित्ने गर्छ । “घरका लागि आवश्यक सबै खाद्यान्न किनेर खानुपर्छ जसको भाउ हरेक दिन उकालो चढ्दै छ, आफूले बुन्ने डोका–डालाको भाउ भने कहिल्यै बढ्दैन”, भुजेलले भन्नुभयो, “डोको–डालो बुन्न छाड्ने हो भने हामीले पैसाको मुख पनि देख्न पाउँदैनौँ । तर यस पेशाबाट हामीलाई भनेजस्तो र परिश्रमअनुसारको पैसा भने उपलब्ध हुँदैन ।” दुःखअनुसारको आम्दानी नहुने भन्दै सोमीमायाले आफूसँग अरु काम गर्ने सीपसमेत नभएको बताउनुुभयो ।

यहाँका महिलाका हातमा अन्य सीप नभएपछि डोको–डालो बुनेर बेच्दा थोरै पैसा कमाइ हुने भए पनि यही काम गर्नुपर्ने उनीहरुको बाध्यता छ । निर्माण गरेको सामग्रीबाट हुने आम्दानीले डोको–डालो बनाउन गर्नुपर्ने परिश्रम र बाँस खरिद गर्न आवश्यक पर्ने पैसासमेत नउठ्ने उनीहरुले गुनासो गरे । तीन वर्षअघि रु १०० मा बिक्री हुने डोकोको मूल्य अहिले पनि बढेको छैन ।