विद्यालय किशोरीमैत्री नहुँदा समस्या भन्न सक्दैनन् किशोरी

विद्यालय किशोरीमैत्री नहुँदा समस्या भन्न सक्दैनन् किशोरी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २०, २०७७

कैलाली । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । 

मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउनुहुन्छ । “महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ, विद्यालयमै प्याड पाइन्छ तर साथीहरु शिक्षकसँग माग्न सक्नुहुन्न”, छात्रा जिसीले भन्नुभयो, “कक्षाकै एकजना छात्रालाई प्याड वितरणको जिम्मा दिएको भए साथीहरुले माग्न सक्थे । शिक्षक तथा शिक्षिकासँग म महिनावारी भएँ, मलाई प्याड दिनुस् भन्न सकिँदैन ।” छात्रा आशिका महतो किशोरीमा महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको बताउनुहुन्छ । “किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ”, आशिकाले भन्नुभयो, “कुनै साथीलाई महिनावारीको समयमा दुखाइ हुन्छ, यस्तो बेला विद्यालयमा आराम कक्ष भएको भए राम्रो हुन्थ्यो । कोही साथी घरबाटै तनाव बोकेर आउँछन् । उनीहरुका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ ।”

किशोरी सामुदायिक विद्यालयमा छोरीको सङ्ख्या धेरै हुने भएकाले भएका शौचालय पनि किशोरीका लागि पर्याप्त नभएको बताउँछन् । कक्षा ९ मा अध्ययनरत किशोरी सुष्मा विक एकैपटक शौचालयमा चार÷पाँच जना छिनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “शौचालयमा पानी छ तर छोरीहरुका लागि केही मात्र शौचालय छन् । हामी ६०० छोरी छौँ, अनि शौचालय सफा होला त रु”, सुष्माले भन्नुभयो, “महिनावारीको समयमा यी शौचालय प्रयोग गर्न कठिन हुन्छ । महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने रु पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ ।” यद्यपि शिक्षिका भने छोरीहरुले आफूलाई समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलरै आउन शिक्षिका बेवना केसी आग्रह गर्नुहुन्छ । “हामी महिला भएकाले छोरीहरुका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ । उनीहरुलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौँ”, शिक्षिका केसीले भन्नुभयो, “भएका सुविधा दिन, उनीहरुका कुरा सुन्ने, उनीहरुका मनमा गलत कुरा नखेलुन् भनी सचेत छौँ ।”

शिक्षिका पद्मा बम आफूले किशोरीसँग साथीजस्तै व्यवहार गर्ने गरेको बताउनुहुन्छ । “उनीहरुका लागि आराम कक्ष, खाजा खाने छुट्टै ठाउँ आवश्यक छ । सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्”, उहाँ भन्नुहुन्छ, “छोरीहरुलाई महिनावारीको समयमा साइकल चलाएर विद्यालय आउन कठिन हुन्छ । कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ । उनीहरुका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु ।” शिक्षिका माया पोखरेल आफूले किशोरीका समस्या बुझेर किशोरीसँग सम्बन्धित क्रियाकलापमा कक्षा लिने गरेको बताउनुभयो । “महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेकी छु”, पोखरेलले भन्नुभयो, “किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरुलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन् ।”

विद्यालयलाई छात्रामैत्री बनाउन आफूले पहल गर्ने मोती मावि मोतीनगर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरी बताउनुहुन्छ । “छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ”, अध्यक्ष गिरीले भन्नुभयो, “अब छोरीहरुका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि गाउँपालिकासँग पहल गर्छौँ ।”