भिरमा फलेको फर्सी र ‘नेकपा’: नाम र सिद्धान्तको पेलपाल बलजफती नै संकटको कारण !
फाल्गुन २०, २०७७

कुनै समय थियो तत्कालीन एमाले लिङ्ग नछुटिएको पार्टीको रुपमा चर्चित थियो । एमालेलाई लिङ्ग नछुटिएको पार्टीको रुपमा उडाउनेमा त्यस बेला माओवादीका नेता बाबुराम भट्टराई तथा प्रचण्ड नै थिए । तर, विडम्बना तिनै नेताले पछि एमालेसँग २०७५ जेठ ३ मा पार्टी एकीकरण गर्दै नेकपा (नेकपा) अर्थात् डबल नेकपा बनाए । अर्थात् लिङ्ग नछुटिएको पार्टीसँग एकीकरण गरेर एकीकृत बनेको डबल नेकपा (नेकपा) पछिल्लो समय आएर यही लिङ्ग नछुटिएको पार्टीको रुपमा रूपान्तरण हुँदै गएको निष्कर्ष निकाल्न थालिएको छ । 

डबल नेकपादेखि नै ऋषि कट्टेलको नाममा दर्ता रहेको नेकपा नामलाई लिएर सुरु भएको विवादकाे चरण 'पहिलो गाँसमै झिँगा' सावित हुँदै आएका छन् । त्यस बेला बलजफती पेलेर बनाइएको नेकपाकाे नाम अहिले नेकपा भित्रको धेरै विवाद मध्येकाे नामकाे विवादको मुद्दा भने अदालतकाे सुनुवाइको चरणमा प्रवेश गरेको छ । शायद पछिल्लो चरणमा नेकपा भित्रको यो गुटगत विवादको चरण सुरु नभएको भए यो विवाद सुनुवाइको 'मुड' मा नरहेको अदालतको प्रक्रियाले पनि देखाएको छ । 

नामको विवादलाई त्यस बेला पेलपाल बलजफती 'सेटलडाउन' गरिँदै आएको थियो । सिद्धान्तका हकमा पनि विवाद यस्तै रह्यो । एमालेको 'जनताको बहुदलीय जनवाद' र नेकपा माओवादी केन्द्रको 'एक्काइसौँ शताब्दीको जनवाद' बिच संयोजन गरेर 'जनताको जनवाद'  बनाइएको छ । नाममा मात्र होइन  यहाँ पनि गोलमटोल सहमति गरिएको छ । तर, आधिकारिक मार्ग निर्देशक सिद्धान्तका रुपमा भने मार्क्सवादी लेनिनवादलाई मानिएको छ ।  

तर, जब जब विवाद सतहमा देखा पर्छ तब तब दुवै समूह आफ्नो मार्ग निर्देशक सिद्धान्त पिठ्युँमा बोकेर देखा पर्छन् । यहाँ पनि देखिन्छ यसमा एकीकरणका विषयमा जति छलफल अनि विचार र सिद्धान्तका विषयमा बहस हुनुपर्थ्यो त्यति भएन । 

भिरमा फलेको नेकपा नामक एउटा फर्सीले राजनीतिमा जुन तरङ्ग सृजना गरेको छ यसले आम जनमानसलाई आगामी दिनमा आफ्नो मत जाहेर गर्दा एक पटक पुनः गम्भीर हुनु पर्ने देखाएको छ । त्यस बेला हेर्दा त्यो एकमतको प्रभाव खासै नदेखिए पनि कालान्तरमा त्यसको ठुलो महत्त्व रहने भएकोले पनि यस विषयमा आफ्नै सबै इन्द्रिय सचेत राखेर मात्र अभिमत जाहेर गरेका खण्डमा मात्र आफू र सन्ततिले पनि केही हदसम्म सुखको श्वास फेर्न पाउने देखिन्छ ।

पछिल्लो समय त्यो फगत चुनाव केन्द्रित एकता थियो भनेर स्वयं नेताहरुले भन्न थालेका छन् । अनि त्यस बेलाकाे एकता दुवै पार्टीका दुई शीर्ष नेताको स्वार्थबिचको एकता थियो । तर, त्यस बेला पार्टी एकीकरण र त्यसपछि कार्यकर्ता अनि स्थानीय तहमा जुन मजबुत तथा एकताको काम हुनुपर्थ्यो त्यसमा कसैले चासो, जाँगर र सजगता देखाउने साहस गरेनन् । अनि जसले लिङ्ग पहिले छुट्टाउन सकेका थिएनन् ती स्वयंले पनि आफू समावेश हुँदा पनि लिङ्ग स्पष्ट नछुटिएको पार्टीमा आफूलाई समाहित गरे । लिङ्ग नछुटिँदाको जुन असहजपन एउटा व्यक्तिले महसुस गर्छ त्यो हालको नेकपाको स्थिति हो । तर, नेताहरूले त्याे कहिले पनि अनुभूति भने गरेनन् ।

यो स्थिति भनेको नेपाली उखान भिरमा फलेको फर्सी जस्तो भएको छ नेकपा । जो सँग झन्डै दुई तिहाइको बहुमत छ,  सात मध्ये छ प्रदेशमा आफ्नो सरकार छ, मुख्यमन्त्री छ तर पार्टी कसको र को आधिकारिक भन्ने लँडाइले यो सिङ्गै उपलब्धि गौण बनेको छ । अनि यो भिरमा फलेको फर्सी नभए के भो, हेर्दा त राम्रो देखिएला खानका लागि भने ठुलै पापड बेल्नुपर्नेछ र अहिलेको लडाइँ पनि यही भिरमा फलेकाे फर्सी खानका लागि नै हो । 

यो लडाइँ आफ्नो पक्षमा पार्न प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएको आरोपमा संसद् विघटन गर्नुभयो । तर, अदालतले प्रधानमन्त्रीको यो कदमलाई असंवैधानिक भन्दै पुनर्स्थापनकाे आदेश दिएपछि यो लडाइँ झनै पेचिलो बनेको छ । 

पुनर्स्थापन आदेशका रुपमा तेह्र दिनपछि संसद् बस्ने दिन जति नजिक नजिक आउँदै छ नेकपा दाहाल–नेपाल समूह तथा ओली समूह संसद्मा अब नयाँ रणनीतिका साथ अघि बढ्दै एकले अर्कोलाई असफल बनाउन अग्रसर भएको देखिन्छ । 

दाहाल नेपाल पक्षले संसद्मा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, काँग्रेसको नेतृत्वमा सरकार बनाउने जस्ता रणनीति लिएको देखिन्छ । यी सबै रणनीति प्लान ए, बी, सी गरेर लागू गर्ने यो समूहको नीति देखिन्छ । 

उता ओली समूह पनि जवाफी रणनीतिका साथ तयार देखिन्छ । जसरी भए पनि आफ्ना पक्षमा बहुमत सिद्ध गर्नका लागि सांसद किनबेच देखि अन्य अस्त्रको प्रयोग गरेर संसद् वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप उल्लङ्घन गरे पार्टी सदस्यबाटै हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने र अन्तिममा पुनः संसद् विघटन गर्ने सम्मको रणनीतिमा ओली समूह रहेको देखिन्छ । 

यसैबिच काँग्रेसले भने अहिलेसम्म आफ्नो स्थिति यही नै हो भनेका आधिकारिक भनाइहरू बाहिर आइरहेको छैन । काँग्रेसकै पनि एउटा समूह दाहाल नेपाल पक्षसँग मिलेर सरकार बनाउने वा ओलीलाई ढाल्न सहयोग गर्ने मुडमा छ । सभापति देउवा नजिकिंदै गरेको अधिवेशनका कारण पनि मनमा जे रहे पनि हरेक कदम सोची सम्झी र परिस्थिति हेरेर लिने अवस्थामा देखिनुहुन्छ । उहाँको आशय नेकपा विभाजित भएका खण्डमा त्यसले हाल तथा अब आउने निर्वाचनमा पनि काँग्रेसलाई फाइदा हुने कारणले सकभर बरु विभाजनमा जान सहयोग गर्ने अवस्थामा देखिनुहुन्छ । 

संसद् पुनर्स्थापना पछि प्रधानमन्त्री ओलीले राजीनामा नदिएर सत्ता लम्ब्याउन खोजेपछि उहाँलाई हटाउन सत्तारूढ नेकपाले उहाँलाई संसदीय दलको नेताबाट हटाउने वा संसद् बाट अविश्वासको प्रस्ताव पारित गर्ने विकल्प अगाडि देखा परेको छ । तर, यसका लागि पनि प्रचण्ड माधव समूहलाई त्यति सहज भने छैन । यसका लागि फेरी काँग्रेस निर्णायक शक्तिका रुपमा देखा परेको छ । 

यो सत्ता सङ्घर्षको लडाइँ छिनोफानोका लागि फेरी एक पटक निर्वाचन आयोगको निर्णय महत्त्वपूर्ण हुने देखिन्छ । तर, हालसम्म निर्वाचन आयोगले दलको आधिकारिकता सम्बन्धी विवादको निरूपण नगरेकाले पनि यसमा झन् अप्ठेरो स्थिति देखा परेको छ । र, यदि ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउने हो भने सांसदले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव पारित गर्नु पर्ने हुन्छ । यस्तो बेलामा प्रचण्ड–नेपाल समूह काँग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै नेपाली काँग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने कोसिसमा रहेको देखिन्छ । रामचन्द्र पौडेल पक्ष यसमा सकारात्मक देखिए पनि देउवाले भने आफ्नो स्पष्ट अभिमत जाहेर नगरिसकेको अवस्था हो अहिलेको । 

यसै विषयमा छलफल गर्न सभापति देउवाले बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक समेत बोलाउनु भएको छ । शुक्रवार १ बजे बस्ने भनिएको काँग्रेस संसदीय दलको बैठकमा यस बारेमा एउटा धारणा बनाउन सहज होस भन्नका लागि यो बैठक डाकिएको अनुमान छ । 

हुन त आगामी परिस्थिति कस्तो हुनेछ भन्ने आङ्कलन त्यति सजिलो छैन । तर, भिरमा फलेको नेकपा नामक एउटा फर्सीले राजनीतिमा जुन तरङ्ग सृजना गरेको छ यसले आम जनमानसलाई आगामी दिनमा आफ्नो मत जाहेर गर्दा एक पटक पुनः गम्भीर हुनु पर्ने देखाएको छ ।

उक्त समयमा हेर्दा त्यो एकमतको प्रभाव खासै नदेखिए पनि कालान्तरमा त्यसको ठुलो महत्त्व रहने भएकोले पनि यस विषयमा आफ्नै सबै इन्द्रिय सचेत राखेर मात्र अभिमत जाहेर गरेका खण्डमा मात्र आफू र सन्ततिले पनि केही हदसम्म सुखको श्वास फेर्न पाउने देखिन्छ । अन्यथा राजनीति फेरी पनि फोहोरी नै हुने देखिन्छ । चेतना भया ।