मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

निकुञ्जका वन्यजन्तुपीडित भण्डारीले आफू बँदेल धपाउँदाधपाउँदा हैरान भएको बताए। ‘निकुञ्जबाट आएका बँदेलले हाम्रो गहुँबालीमा क्षति गरिदिए,’ भण्डारीले नागरिकसँग भने, ‘क्षति गरेको बोट स्याहार्न धेरै नै हैरानी भयो। सौरी गाउँकै कर्णबहादुर बुढाले पनि वन्यजन्तुको बिगबिगीले गर्दा यस वर्ष तोरी, गहुँ, मसुरो बाली सकुशल भित्र्याउन नपाएको गुनासो गरे। ‘निकुञ्जका जनावर सम्साँझै खेतबारीमा आएर बाली खाइदिन्छन्,’ उनले भने, ‘बारीमा पसेपछि केही पनि बाँकी राख्दैनन्।’ वन्यजन्तुले क्षति पुर्‍याउँदा वार्षिक रूपमा आम्दानी घट्दै गएको बुढाले सुनाए।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाएको बाली स्याहार्न नपाउने चुर्णबहादुर र कर्णबहादुरजस्ता पीडित किसान धेरै छन्। सामान्यतया यस क्षेत्रका पीडित किसान क्षतिपूर्तिका लागि निवेदन दिँदैनन्। सके बालीमा पसेका वन्यजन्तुलाई क्षति पुर्‍याउने प्रयास गर्छन् नसके आफ्नो बाली क्षति भएको दृश्य रमिते भएर हेर्छन्। आजको नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।