सडकको कालोपत्रेको गुणस्तर जाँच कोरकटर मेसिनद्वारा

सडकको कालोपत्रेको गुणस्तर जाँच कोरकटर मेसिनद्वारा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २१, २०७७

सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो । यसअघि बनेका सडक बनेको दुईरतीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो । 

“सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भन्नुभयो, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे/नगरेको बेलैमा जानकारी हुन्छ ।” उहाँले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्ने बताउनुभयो । आधुनिक मेसिनबाटै पक्की सडकको गुणस्तर जाँच शुरु गरिएकाले अब निर्माण व्यवसायीले कमजोरी गर्न नपाउने र त्यसो गर्नेलाई छुट पनि नहुने उहाँको भनाइ थियो । निर्देशक पौडेलका अनुसार कर्णालीमा निर्माण हुने पक्की सडकका लागि अब कोरकटर मेसिनबाटै गुणस्तर नापिने छ ।

बिहीबार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामबाट मूलबजारसम्म जोड्ने सडकमा गरिएको कालोपत्रको तीन स्थानमा कोरकटर मेसिनबाटै गुणस्तर मापन गरेको थियो । चालु आवको असार मसन्तसम्म प्रदेश राजधानी सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्र गरिने निर्देशनालयले जनाएको छ ।