निर्माण शुरु भएको चार वर्षमा  गोदावरी सडकको भौतिक प्रगति ५० प्रतिशत

निर्माण शुरु भएको चार वर्षमा  गोदावरी सडकको भौतिक प्रगति ५० प्रतिशत

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २१, २०७७

ललितपुर । ललितपुरको कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । निर्माण शुरु भएको चार वर्षमा पनि सडक निर्माणको प्रगति अझै कम छ ।

सडकको मापदण्डमा परेका १२० घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताउनुभयो । विगत वर्षहरुमा स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागेर काम शुरु गर्न दिएका थिएनन् । सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि मात्रै निर्माण अघि बढाइएको छ । गत वर्षदेखि निर्माण पुनः सञ्चालन गरे पनि कोभिड–१९ र निर्माण सामग्री अभावले बाधा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी समस्या हटेकाले अहिले निर्माण भइरहेको छ ।”

सडकको चौडाइ बढाउन खोज्दा लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । दुई फरक– फरक ठेक्कामार्फत निर्माण अघि बढाइएकामा एउटाको प्रगति ४५ प्रतिशत र अर्को ठेक्काको प्रगति ५५ प्रतिशत रहेको छ ।

चार वर्ष पहिले २० मिटर चौडा गर्नै गरी ठेक्का सम्झौता भए पनि अहिले त्यसभन्दा धेरै कम चौडाइमा निर्माण अघि बढाइएको छ । बाँडेगाउँबाट गोदावरी कुण्डसम्म १६ मिटर चौडाइ कायम भएको आयोजनाका प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । कर्मनाशा खोलाबाट बाँडेगाउँसम्मको सडकमा चौडाइ त्यसभन्दा कम छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको मापदण्डभन्दा कम चौडाइमा सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका सांसदबीच गत वर्ष नै सहमति भएको थियो ।
 
सात दशमलव छ किलोमिटर लम्बाइको सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । निर्माणस्थल खाली नभएकै कारण निर्माण कम्पनीले निर्माण अघि बढाउन पाएका थिएनन् ।

उक्त सडकजस्तै उपत्यकामा नौ सडक निर्माणाधीन छन् । विस्तारका क्रममा रहेकामध्ये पाँच सडक ललितपुर, तीन काठमाडौँ र एक भक्तपुरका छन् । तीमध्ये सम्झौता अवधि सकिँदासम्म कुनै पनि सडक अहिलेसम्म निर्माण सम्पन्न भइसकेका छैनन् ।