मेगा बैङ्कद्वारा खेद प्रकट : 'बैङ्कको साँवा ब्याज नतिर्ने, असुलीको कारबाही गर्दा पीडित भएँ भनी हिँड्ने !'

मेगा बैङ्कद्वारा खेद प्रकट : 'बैङ्कको साँवा ब्याज नतिर्ने, असुलीको कारबाही गर्दा पीडित भएँ भनी हिँड्ने !'

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २१, २०७७

 काठमाडौँ । मेगा बैङ्क लिमिटेड एक प्रेस विज्ञप्ति जारी गरी मेगा बैङ्कलाई जोडेर २०७७ फाल्गुण १९ गते एभिन्यूज टेलिभिजनको 'खबर भित्रको खबर'  कार्यक्रमबाट प्रसारित खबरप्रति  बैङ्कको गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको जनाएको   छ ।

प्रेस विज्ञप्ति सत्य तथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले मेगा बैङ्क नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई अगाडि सारेर सुनियोजित ढङ्गबाट अत्यन्तै पूर्वाग्रही, तथ्यहीन र व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्दै पत्रकार आचारसंहिता, २०७३ को समेत उल्लङ्घन गरी एकतर्फी रुपमा बैङ्कको सार्वजनिक प्रतिष्ठामा आँच पुर्‍याउने गलत मनसायले प्रसारित सामाग्रीमा कुनै सत्यता नरहेको ब्यहोरा समस्त ग्राहक वर्ग, सर्वसाधारण लगायत सम्पूर्ण सरोकारवालाहरूको लागि यो सत्य तथ्य प्रकाशित गरिएको छ  भनिएको छ।  

मेगा बैङ्क प्रकाशित गरेको सत्य तथ्य जस्ताको तस्तै 

१‍.  पीडित भनिएका उत्तम कुमारले निजको स्वामित्वमा रहेको ग्लोबल माउन्टेन आउटवेयर उद्योगको नाममा उद्योगकै नामको जग्गा धितो राखी मिति २०७साउन २५ मा यस बैङ्कबाट र८ करोड रुपियाँ कर्जा  उपभोग गरेका थिए । ९ महिना नपुग्दै निजले कर्जा नियमित गर्न छाडेपछि बैङ्कले कर्जाको साँवा ब्याजको लागि ताकेता गर्दा मिति २०७४ पुस ४ मा उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा गई आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति तथा दायित्व भुमादेवी गौतमको नाममा नामसारी गरी दुबै जनाले मिति २०७४ पुस १२ मा कर्जा नामसारी गर्न बैङ्कमा निवेदन दिए बमोजिम सोही अनुरूप कर्जा नामसारी भएको थियो । कर्जा प्रवाह भएको २ वर्षपछि बैङ्कले धितोमा रहेको सम्पत्तिबाट कर्जा असुलीको कारबाही प्रारम्भ गरेपश्चात् मात्र दायर भएका विभिन्न मुद्दाहरूमा पेस भएको कागजबाट उत्तम कुमार र भुमादेवी गौतमको बिचमा घरजग्गा सट्टापट्टाको कागज गरेको ब्यहोरा बैङ्कलाई जानकारी हुन आएको हो । उत्तम कुमार र भुमादेवीबिच भएको सट्टापट्टाको कारोबारको विषयलाई लिएर काठमाडौँ जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निज उत्तम कुमारको ठगीको उजुरीदावी पुग्न नसक्ने गरी सम्मानित काठमाडौँ जिल्ला अदालतबाट मिति २०७७ असोज १३ गते फैसला भएको छ । निज उत्तम कुमार र भुमादेवीको बिचमा भएको आपसी लेनदेन कारोबारमा बैङ्कको कुनै संलग्नता छैन । 

२‍. यस बैङ्कबाट उक्त ग्लोबल माउन्टेन आउटवेयर उद्योगका अलावा गुरुदत्त पौडेल एकल सञ्चालक रहेको विश्वास मल्टिपर्पोज प्रा.लि. र सेन्सेसन लिकर हाउस प्रा. लि. समेतलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५५ तथा बैङ्कको नियमानुसार कर्जाको पूर्ण सुरक्षण हुने गरी कर्जा प्रदान गरिएको छ । बैङ्कमा धितो राखेको सम्पत्ति कुनै जग्गाधनीले कसैलाई दिने गरी आन्तरिक सम्झौता वा लिखत गरेकोमा सो सम्पत्ति बैङ्कको ऋण तिर्न नसकी सम्झौता कार्यान्वयन हुन नसक्ने अवस्था भएमा बैङ्कको कुनै जिम्मेवारी हुँदैन । विश्वास मल्टिपर्पोज  प्रा. लि.को ऋणका लागि धितोमा रहेको जग्गामा रहेको घरमा निज पीडित भनिएका उत्तम कुमार बसेका रहेछन् । बैङ्कले लिलामी सूचना प्रकाशित गरेपछि पीडित भनिएका व्यक्तिले उक्त घरमा बसी रहन पाउनुपर्ने भनी बैङ्क समेतका विरुद्ध काठमाडौँ जिल्ला अदालत तथा उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा दिएकोमा सम्मानित अदालतबाट निजको दाबी अधिकार नपुग्ने भनी दुबै मुद्दा खारेज भएका छन् । आफूले लिएको ऋण अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने, बैङ्कको साँवा ब्याज नतिर्ने अनि बैङ्कले असुलीको कारबाही गर्दा पीडित भएँ भनी हिँड्ने व्यक्तिको तथाकथित भनाइलाई आधार मानी बैङ्कको ख्याति, प्रतिष्ठा, इज्जतमा गम्भीर असर पुग्ने गरी सर्वसाधारणलाई 'कारोबार नगर्नु, निक्षेप जोखिममा छ, राष्ट्र बैङ्कले के हेरिरहेको छ ?' भन्ने जस्ता विशेषणयुक्त दण्डात्मक आदेश प्रकृतिको मनगणन्ते काल्पनिक खबर प्रसारित भएकोले उक्त सम्प्रेषित समाचारको विश्वास नगर्नु हुन सम्पूर्ण ग्राहक महानुभाव, सर्वसाधारण तथा सरोकारवालाहरूलाई यसैमार्फत जानकारी गराउँदछौँ । 

३.   नेपाल सरकारको निकायमा गई आफ्नो स्वामित्वको फर्म बिक्री गर्ने अनि कपाली तमसुकका भरमा अनर्गल प्रचार गरी बैङ्कको मान, मर्यादा एवं प्रतिष्ठामा आँच आउने गरी झुट्टा समाचार सम्प्रेषण गर्दै सर्वसाधारणको निक्षेपबाट प्रवाहित कर्जा असुली प्रक्रियामा अवरोध सिर्जना गर्न पीडित भनिएका व्यक्ति उत्तम कुमार समेतको मिलेमतोमा उल्टै बैङ्कलाई ठगी गर्ने प्रयास भइरहेकोले भ्रमित नहुन मेगा बैङ्क जनमानसलाई हार्दिक अपिल गर्दछ । 

४. बैङ्कले कर्जा प्रदान गर्दा प्रचलित कानुन, नेपाल राष्ट्र बैङ्कको निर्देशन तथा बैङ्कको विनियम बमोजिम कर्जाको पूर्ण सुरक्षा हुने गरी पर्याप्त धितो लिई कर्जा प्रवाह गरेको र ऋणीले तोकिएको समयमा कर्जा भुक्तान नगरेको कारण कर्जाको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गरी कानुन बमोजिम कर्जा असुली प्रक्रिया अघि बढाइएको जानकारी गराउँदै बैङ्कले थुनामा रहेको अवस्थाका व्यक्तिको हस्ताक्षरको आधारमा कुनै कर्जा प्रदान नगरेको ब्यहोरा समेत बैङ्क स्पष्ट पार्न चाहन्छ ।    

५. बैङ्कका ऋणी नै नभएका व्यक्तिको अन्तरवार्ता लिई सोही बमोजिम एकतर्फी रुपमा समाचार/सामाग्री प्रसारित गर्नु र बैङ्कको भनाइ समेत नराखिनुले नियत र निष्पक्ष पत्रकारितामै प्रश्न उब्जाएको छ । बैङ्कको कारोबार एवं तथ्याङ्कको बारेमा पर्याप्त जानकारी नराखी हुँदै नभएको विषयलाई बढाइचढाइ बैङ्कको मानमर्दन गर्ने, बैङ्कप्रति जनविश्वासमा नकारात्मक धारण फैलाउने, सर्वसाधारणको लगानी तथा निक्षेप रहेको यस बैङ्क तथा कर्मचारीको मानमर्यादामा आँच आउने गरी प्रचलित कानुनले वर्जित गरेको कसुरजन्य कार्य समेत गरी गलत, भ्रामक तथा तथ्यहीन समाचार प्रचारप्रसार गरेउपर कानुनी उपचारको मार्ग प्रशस्त रहेको छ । बैङ्क जस्तो उच्च सुशासन व्यवस्था भएको, पारदर्शी, नियमनकारी निकायद्वारा नियन्त्रित सार्वजनिक संस्थालाई विवादमा मुछेर बैङ्कको प्रमुख सूचना अधिकारीलाई समेत सम्पर्क नगरी एकतर्फी रुपमा समाचार प्रकाशित गरिएको कार्यप्रति बैङ्क खेद प्रकट गर्दछ ।