आशिष पौडेल | अन्तर्मन्थन | फाल्गुन २२, २०७७
एउटा शिक्षित, व्यावसायिक र संस्कारित परिवारमा हुर्कनु भएका किशोर कुमार महर्जन केवल परिवार र त्यसको पृष्ठभूमिका कारण मात्र उचाइमा पुगेको नाम अवश्य होइन । लामो धैर्य, मेहनत र विशिष्ट व्यवस्थापकीय क्षमताका कारण बैङ्किङ करिअर तथा हालको स्टार हस्पिटलमा पनि उहाँले आफ्नो दक्षता प्रदर्शन गरिरहनु भएको छ ।
ओरालो झर्दै गरेका कम्पनीको व्यवस्थापनको जिम्मा लिएर त्यसलाई एउटा नयाँ उचाइमा पुर्याउनु उहाँको विशिष्ट क्षमता अनि कला हो भन्नुमा अत्युक्ति नहोला । मानिस जति सुकै बलियो पृष्ठभूमिबाट आएको भएता पनि उसलाई सफल बनाउने भनेको उसको आफ्नो क्षमता तथा योग्यता हो भन्ने कुराको बलियो आधार हो यो आलेख ।
पारिवारिक अवस्था
उहाँको बुवा अर्थशास्त्रको प्राध्यापक । नेपाल कमर्स क्याम्पसमा पढाउनु हुन्थ्यो । एनआइडिसीमा बिस वर्ष जागिर पनि खानुभयो । बत्तीस, तेत्तीस सालतिर शुद्ध पाउरोटी भन्ने बेकरीको उत्पादन समेत थियो रे उहाँको बुवाको ।
जागिरबाट अवकास भएपछि भने उहाँ विकास बैङ्कको रुपमा रहेको डेभलपमेण्ट क्रेडिट बैङ्कको अध्यक्षको रुपमा संलग्नता पनि रहयाे । उहाँ अध्यक्ष हुँदाहुँदै उक्त डेभलपमेण्ट क्रेडिट बैङ्क वाणिज्य बैङ्कमा रूपान्तरण भयो । उहाँ करिब बाह्र वर्ष अध्यक्षको रुपमा रहनु भयो । पछि उक्त बैङ्क डिसिबिएल, अनि ग्रयाण्ड बैङ्क हुँदै मर्जरमा गयो ।
उहाँको बुवाले बिए, बिएल देखि लिएर पटना युनिभर्सिटीबाट २०१५ सालमा एमए समेत गर्नुभएको थियो । साथै म्यानचेष्टर युनिभर्सिटीबाट पोस्ट ग्र्याजुएट समेत गर्नुभएको हो । बुवाको बारेमा यति बताइसकेपछि उहाँ भन्नुहुन्छ, उहाँ शैक्षिक हिसाबमा धेरै नै उच्च व्यक्तित्व हुनुहुन्थ्यो । आमा भने गृहिणी । यस हिसाबले पनि उहाँको परिवार सम्पन्न परिवार हो । उहाँको एक जना दिदी अनि दुई जना भाइ ।
जन्म र बाल्यकाल
उहाँको जन्म २०१५ सालमा भएको हो । ललितपुरको पुलचोकमा । नागरिकताले पनि यही मिति नै भन्छ । घर, स्कुल अनि होस्टल गर्दै बित्यो उहाँको बाल्यकाल । पछिल्लो क्रम भने घरबाटै स्कुल जाने आउने गर्नुहुन्थ्यो । छोटकरीमा भन्ने हो भने पुलचोकको ग्राउन्डमा फुटबल खेलेर बितेको हो उहाँको बाल्यकाल ।
प्रारम्भिक शिक्षा
उहाँको प्रारम्भिक शिक्षा त्रिपद्म स्कुलबाट सुरु भएको हो । उहाँ एक वर्ष उक्त स्कुलमा पढ्नुभयो । त्यसपछिका माध्यमिक तहसम्मका उहाँको पढाई भने आदर्श विद्या मन्दिर (एभिएम), मान भवनबाट भएको हो ।
उक्त स्कुल २०२२ सालमा खुलेको हो । उहाँ भने २०२३ सालमा भर्ना हुनुभएको हो । उहाँको सामु विद्यालयका दुई विकल्प थिए, एक सेन्ट जेभियर्स, अर्को भने एभिएम । तर, सेन्ट जेभियर्समा प्रयोग हुने 'फादर' शब्द उहाँलाई अलि आत्मीय लागेन । अनि उहाँ एमभिएम तिर लागेको बताउनुहुन्छ ।
स्कुलमा दुई जना बस्नेु 'टु सिटर' बेन्चहरू थिए । फी चालिस रुपैयाँ अनि अन्य अतिरिक्त क्रियाकलापको गरेर बयालिस रुपैयाँ तिरेको बताउनुहुन्छ उहाँ । पहिलो लहरको बेन्चमा प्रायः केटीहरू बस्थे उहाँ भन्नुहुन्छ । त्यसपछि अलि पढ्ने केटाहरू । उहाँ आठ, नौ अनि दश कक्षामा पछाडिको बेन्चमा बस्नुहुन्थ्यो । यसको अर्थ नपढ्ने, हाउडे भने आफू नरहेको पनि बताउनुहुन्छ उहाँ ।
पढाइमा उहाँ अब्बल नै हो । फस्ट नभए पनि चौथो कहिल्यै नकटेको बताउनुहुन्छ उहाँ । उहाँ घोकन्ते किताबी किरा नभए पनि पढाइमा भने तीक्ष्ण भएको बताउनुहुन्छ । त्यस बेला कक्षामा तेइस, चौबिस जना रहने गरेको र त्यसमा एक चौथाइ केटी रहने गरेको पनि उहाँले बताउनुभयो ।
उहाँले २०३० सालमा एसएलसी दिनुभएको हो । उहाँ त्यस बेला फस्ट डिभिजनमा पास हुनुभएको हो । त्यस बेला एसएलसी पास हुनेको सङ्ख्या नै एकदम कम हुन्थ्यो भने फस्ट डिभिजन त पास हुनेको पनि पाँच प्रतिशत मात्रै । यस्तो समयमा उहाँले फस्ट डिभिजन ल्याउनु भएको हो एसएलसीमा ।
उहाँ केवल तीन नम्बरको कम भएका कारण मात्र त्यस बेला बोर्डमा नपर्नु भएको हो । उहाँको यसमा अलि गुनासो पनि रहेछ, कारण उहाँको कक्षाको 'लद्दु' केटोको नेपालीमा त्यस बेला चवन्न नम्बर आएको रहेछ । उहाँको भने केवल अठतीस । जबकि उहाँको नेपाली नराम्रो पनि होइन र पढाइमा कमजोर पनि । यो कता कता उहाँलाई खट्केको रहेछ ।
अस्पताल धेरै नै अव्यवस्थित थियो । तर, त्यसलाई उहाँले आफ्नो व्यवस्थापकीय क्षमता तथा समूहको सहयोगको मद्दतले पार लगाएर हस्पिटललाई एउटा नयाँ उचाइमा पुर्याउनु भएको छ । डाक्टर, नर्स तथा अन्य नयाँ सेवाहरू थपिएका छन् । कोभिडका कारण केही अप्ठेरो परे पनि स्टार अस्पताल पिसिआर सेवाका कारण अस्पतालको चर्चा चुलिएको छ ।
उहाँले त्यस बेला छ सय पन्ध्र नम्बर प्राप्त गर्नु भएको रहेछ । उहाँको भनाइमा यदि उहाँले नेपालीमा सामान्य हिसाबले पनि चवन्न नम्बर आएको भए उहाँको नम्बर छ सय बत्तिस हुन्थ्यो । यदि उहाँले छ सय बत्तिस नम्बर ल्याउनु भएको भए उहाँ बोर्ड थर्ड हुनुहुने रहेछ त्यस बेला । यस विषयमा उहाँलाई अहिले पनि कतै मनको कुनामा असन्तुष्टि रहेछ ।
रिटोटलिङको बारेमा उहाँलाई थाहा नभएको होइन । तर, सामान्यतया फेल हुनेले मात्र गर्ने भन्ने मनमा परेको रहेछ । नत्र शायद रिटोटलिङ पनि गराउँथे कि ? उहाँ भन्नुहुन्छ ।
एसएलसी पछि
एसएलसी पछि उहाँ अमृत साइन्स कलेजमा भर्ना हुनुभयो । विद्यार्थीको चाप राम्रै थियो त्यस बेला । उहाँको रोल नम्बर नै तीन सय तेइस थियो, उहाँ भन्नुहुन्छ । उहाँको फिजिक्स लिएर इन्जिनियरिङ पढ्ने रहर थियो । तर, घरबाट बायोलोजि पढेर डाक्टर बन्ने दबाब आयो, उहाँ भन्नुहुन्छ ।
आफ्नो रहरको विषय नभएपछि त्यति राम्रो गर्न नसकिने रहेछ, उहाँ भन्नुहुन्छ । कलेज लाइफ आफूले रोजेको विषय पढ्न नपाएपछि त्यति सुखद रहेन । पढ्ने भन्दा पनि खेलकुदमा धेरै बिते, उहाँ भन्नुहुन्छ । उहाँले बिएस्सी सकाउनु भयो । यो झन्डै २०३७ साल तिरको कुरा हो । तर, अब उहाँलाई एमएस्सी गर्न भने त्यति जाँगर लागेन । कारण थियो एमएस्सी पछि लेक्चरर बनेर पढाउने वा सरकारी जागिर खाने बाहेक अन्य कुनै आकर्षण देख्नुभएन उहाँले ।
त्यस बेला त्रिभुवन विश्वविद्यालयले एमबिएको कोर्स भर्खरै सुरु गरेको थियो । अनि उहाँ जानुभयो एमबिएको विद्यार्थी हुन । साइन्स पढेकोले उहाँको लेखा विषय भने कमजोर थियो । तर, लेख्न रुचाउने भएका कारण र साइन्समा जे भए पनि एक किसिमको मेहनत गर्नुपर्ने कारणले पढाई भने सजिलै भयो ।
तर, पहिलो वर्षमा म्यानेजमेन्ट एकाउण्टेन्सीमा नब्बे प्रतिशत विद्यार्थी फेल भएकोमा उहाँ भने पास हुनुभयो । उहाँले त्यसबेला गोपाल प्रसाद राजवाहक सरले पढाउने मार्केटिङ विषयमा सय नम्बरको पूर्णाङ्कमा बयानब्बे नम्बर प्राप्त गर्नु भएको रहेछ । उहाँले २०४० सालमा एमबिए सकाउनु भएको हो । एमबिए चाहिँ खासै मेहनत नगरी सजिलै पास गरियो, उहाँ भन्नुहुन्छ ।
नेपाल बैङ्क
उहाँले एमबीएको जाँच सकाएको भोलिपल्ट देखि नै २०४१ सालमा नेपाल बैङ्कमा आन्तरिक लेखा परीक्षणको काम प्रारम्भ गर्नुभयो । उहाँको एक जना नजिकको चिनेको दाइ ध्रुर्व नारायण कर्माचार्य चार्टड एकाउन्टेन्ट हुनुहुन्थ्यो जसले नेपाल बैङ्कमा आन्तरिक लेखा परीक्षणको काम करारमा पाउनु भएको रहेछ ।
उहाँ पहिले यातायात संस्थानको जिएम समेत हुनुहुँदो रहेछ । अनि उहाँलाई काम गर्ने हो भनेर सोध्नुभयो । अनि उहाँले ठिकै छ नि भनेर सुरु गर्नुभयो । त्यस बेला उहाँको एमबिएको परीक्षा सकिएको केवल एक दुई दिन मात्र भएको थियो । उहाँको एमबिएको रिजल्ट भने दुई महिना पछि आयो जसमा उहाँ पास हुनुभयो ।
उहाँलाई सुरु सुरुमा दुई, तीनवटा शाखामा भने काम केही हेरिदिनु पर्यो तर, केही समय पछि भने उहाँ एक्लैले नेपाल बैङ्कको तीस, बत्तीसवटा शाखाको कामे हेर्न थालिसक्नु भएको थियो । जसमा काठमाडौँ उपत्यका तथा नारयणघाट, पोखरा, पाल्पा, तानसेन, भैरहवा, वुटवल, कृष्णनगर आदि थिए ।
यो नै उहाँको पहिलो जागिर थियो । तर, उहाँले तलब भने कहिल्यै लिनु भएन रे ! यताउता जाँदा लागेको खर्च तीन चार सय रुपैयाँ चाहिँ लिइयो तर, तलबको रुपमा कुनै रकम लिइएन उहाँ भन्नुहुन्छ । उहाँले झन्डै एक वर्ष नेपाल बैङ्कमा आन्तरिक लेखा परीक्षणको काम गर्नुभयो । जसले उहाँलाई लेखाका बारेमा तथा बैङ्कका बारेमा पनि बुझ्न धेरै मद्दत गर्यो । उहाँले १९८४ को जनवरीदेखि डिसेम्बरसम्म करिब एक वर्ष नेपाल बैङ्कमा काम गर्नुभयो ।
त्यसबेला राष्ट्रिय वाणिज्य बैङ्कमा महाप्रबन्धक हुनुहुन्थ्यो, पुण्य केशरी उपाध्याय । अनि उक्त समयमा वाणिज्य बैङ्कले व्यापारीलाई केवल चालु पुँजी कर्जा मात्र प्रवाह गर्ने गर्दथ्याे । लामो अवधिको तथा परियोजना सम्बन्धी कर्जा वाणिज्य बैङ्कले प्रवाह गर्ने गर्दैनथ्यो । पहिले पहिले एनआइडिसीले मात्र लामो अवधिको कर्जा प्रवाह गर्ने काम गर्थ्याे ।
पुण्य केशरी उपाध्याय जो उहाँको चिनजानको मानिस हुनुहुन्थ्योले उहाँलाई लामो अवधिको कर्जाका लागि नीति तथा अन्य कार्यमा सघाउन सक्छौ भनेर सोध्नुभयो । उहाँको बुवा एनआइडिसीको प्रोजेक्ट एनालाइसिस डिभिजन चिफ हुनुहुन्थ्यो त्यस बेला । अनि बुवाले घरमा विभिन्न कम्पनीका चालिस पचास पेजका रिर्पोटहरुको विश्लेषण गरेको देख्नु भएको थियो उहाँले । र, कुन कुन तत्त्वको कसरी तुलनात्मक विश्लेषण गर्ने भन्ने सामान्य ज्ञान थियो उहाँलाई पनि ।
उहाँलाई बुवाले घरमा गर्ने गरेको एनआइडिसीको त्यो रिर्पोटको तुलनात्मक अध्ययन तथा उहाँलाई भएको यसको सामान्य ज्ञानको यहाँ काम लाग्यो । उहाँले 'ल ठिक छ' भनेर वाणिज्य बैङ्कमा काम सुरु गर्नुभयो । यो भनेको सन् १९८५ को जनवरी महिनाको कुरा हो ।
उहाँले अर्को एक जना साथी रवीन्द्र वल्लभ पन्तको सहयोगमा झन्डै साठी, पैँसट्ठी पेजको लामो अवधिका साथै परियोजना कर्जा लगानी नीति तयार गर्नुभयो । त्यसका लागि धेरै सहयोग तथा सन्दर्भ सामग्री भने एनआइडिसीको रह्यो । समय करिब छ महिना लाग्यो । बोर्डले त्यसलाई पास पनि गर्यो । अनि त्यसपछि बैङ्कले परियोजना कर्जा लगानीका लागि आव्हान गर्यो ।
त्यसका लागि पहिलो प्रस्ताव केडिया समूहका शंकरलाल केडियाका तर्फबाट आयो । चिनी उद्योगका लागि । जसको नाम थियो इन्दु शंकर चिनी उद्योग । जुन वाणिज्य बैङ्कको परियोजना कर्जा लगानी अन्तर्गतको पहिलो कम्पनी समेत हो ।
अर्को भनेको पेय पदार्थ पेप्सीकोला कम्पनी । जुन उद्योगी मदनलाल चिरन्जीलालको योजना थियो । यसलाई पनि वाणिज्य बैङ्कले परियोजना अन्तर्गतको कर्जा प्रदान गरेको थियो । यसै योजना अन्तर्गत अरु पाँच, छ वटा परियोजना कर्जा लगानी भएको थियाे ।
आधुनिक बैङ्कको यात्रा
उहाँले करिब अठार महिना वाणिज्य बैङ्कमा काम गर्नुभयो । त्यसबेला वाणिज्य बैङ्कको पन्ध्र प्रतिशत लगानी विदेशी बैङ्कका रुपमा इण्डोस्वेज बैङ्कमा थियो । त्यसपछि उहाँ इण्डोस्वेज बैङ्कमा जानुभयो । जहाँबाट उहाँको आधुनिक बैङ्कको यात्रा सुरु भयो ।
त्यसपछि उहाँ काम तथा तालिमका लागि बेलायत, पेरिस, तथा न्यूर्योकमा धेरै समय रहनु भयो । यो उहाँको अन्तर्राष्ट्रिय बैङ्किङ करिअरको शुरुवात थियो । करिब नौ वर्ष उहाँको अन्तर्राष्ट्रिय बैङ्किङ करिअरका रुपमा बित्यो । त्यसपछि भने उहाँले हिमालयन बैङ्कमा काम सुरु गर्नुभयो ।
हिमालयन बैङ्कमा उहाँले बाह्र वर्ष काम गर्नुभयो । अनि जनरल म्यानेजरबाट बिदा लिँदै सिइओका रुपमा सनराइज बैङ्क स्थापना गर्नुभयो । त्यस्तै कथा छ सिभिल बैङ्कको पनि । दुई अवधिभन्दा धेरै सिइओका रुपमा काम गर्न नपाइने राष्ट्र बैङ्कको नीतिका कारण उहाँ चार वर्ष अघि सिभिल बैङ्कबाट बाहिरिनु भएको हो ।
तीस वर्ष जागिर खाएपछि अब सात आठ महिना फुर्सदमा बसेपछि आफ्नै केही काम गर्ने सोचमा हुनुहुन्थ्यो उहाँ । उहाँको रेष्टुरेण्टको बिजनेस त थियो नै त्यसका अलावा एउटा कन्सल्टेन्सी दर्ता गरेर केही काम गर्ने सोचमा हुनुहुन्थ्यो उहाँ । दक्षिणकालीमा एउटा केबुलकार पनि बनाउँदै हुनुहुन्थ्यो ।
तर, यही बिचमा ज्यापू समाज यलद्वारा समाजको उद्देश्य बमोजिम बैङ्क, स्वास्थ्य संस्था तथा शिक्षा क्षेत्रमा लाग्ने योजना रहेको तर, बैङ्क तथा अस्पताल खोल्न लाइसेन्स नपाइने कारणले गर्दा एउटा डुबेको फाइनान्स किनेका छौँ तर, कसरी चलाउने भन्ने सीप छैन त्यसैले तपाईँ यत्रो वर्ष बैङ्क चलाएको हुनाले हेरिदिनु पर्यो भन्ने प्रस्ताव आयो । तर, उहाँले यत्रो तीस वर्ष वाणिज्य बैङ्कमा काम गरेको मान्छे अब कहाँ फाइनान्स कम्पनीमा काम गर्ने भनेर दुई, तीन महिना यत्तिकै थाँती राख्नुभयो ।
तर, समाजका पूर्व अध्यक्ष तथा उहाँको मित्र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन साथै अन्यले पनि यस विषयमा धेरै नै कर गरे । अनि कर आयो श्रीमतीजीको पनि ।
उहाँलाई पनि लाग्यो, ल ठिकै छ यसो पूर्ण कालिन नभए पनि केही समयका लागि भए पनि हेरिदिऊँ न त । उहाँले संस्था सम्हाल्दा संस्थाको ऋण पनि धेरै थियो । बोनस दिन नसकेको पनि बिसौँ वर्ष भैसकेको थियो । भने चालु पुँजी राष्ट्र बैङ्कको नियम अनुसार असी करोड पुर्याउनु पर्ने थियो बिस करोड बाट बढाएर जुन धेरै नै चुनैतिपूर्ण थियो । तर, नौ महिनाको प्रयासपछि असी करोड पनि पुर्याउनु भो उहाँले । तेइस वर्षको इतिहासमा पहिलो पटक संस्था नाफामा आयो । तेह्र चौध वटा शाखा पनि विस्तार भए । अहिले भने उक्त संस्थामा उहाँले त्यति समय दिनु पर्दैन । जुन आफैँमा स्वचालित ढङ्गले अगाडि बढिरहेको छ ।
स्टार हस्पिटलमा संलग्नता
स्टार हस्पिटलमा उहाँको संलग्नता भने समाजको स्वास्थ्य संस्थामा लगानी गर्ने उद्देश्य तथा उहाँको श्रीमती पनि उक्त हस्पिटलमा स्ट्रेटिजिक मार्केटिङ पार्टनरका रुपमा रहेका हुनाले सम्भव भएको हो ।
उहाँले यसो हेर्दा स्टारमा सम्भावना देख्नुभयो । त्यहाँ अभाव भनेको पुँजी तथा व्यवस्थापन समूहको थियो । त्यसलाई सुधार गर्न सकिन्छ भन्ने उहाँलाई लाग्यो । अनि उहाँले यो प्रस्ताव समाजमा राख्नुभयो । समाज तथा उहाँ स्वयंले पनि लगानी गर्ने तथा नपुग लगानी खोज्ने कुरा पनि तय भयो ।
दुई वर्ष अघि देखि कुरा सुरु भएको थियो । त्यसलाई कार्यान्वयनमा ल्याउन चार पाँच महिनाको समय लाग्यो । अनि सबै कुरा तय भएपछि उहाँ गत वर्षको साउनदेखि उहाँ कार्यकारी अध्यक्षको रुपमा हस्पिटलमा प्रवेश गर्नुभएको हो । सय शैय्याको हस्पिटल केवल पचास शैय्यामा चलिरहेको थियो । अर्को पचास शैय्या किन्ने पैसा पनि थिएन अस्पतालसँग । अनि डाक्टर तथा नर्स पनि आवश्यकता अनुसार थिएन ।
अस्पताल धेरै नै अव्यवस्थित थियो । तर, त्यसलाई उहाँले आफ्नो व्यवस्थापकीय क्षमता तथा समूहको सहयोगको मद्दतले पार लगाएर हस्पिटललाई एउटा नयाँ उचाइमा पुर्याउनु भएको छ । डाक्टर, नर्स तथा अन्य नयाँ सेवाहरू थपिएका छन् । कोभिडका कारण केही अप्ठेरो परे पनि स्टार अस्पताल पिसिआर सेवाका कारण अस्पतालको चर्चा चुलिएको छ ।
साथै व्यवस्थापनमा सुधार भइसकेपछि नोक्सानमा रहेको यो हस्पिटललाई अहिले बैङ्कहरूले कर्जा लिइदिनुपर्यो भन्ने सम्मको परिस्थिति निर्माण भएको छ, यो भनेको एक प्रकारको सफलता नै हो उहाँ भन्नुहुन्छ । र, स्टार हस्पिटलले चाँडै नै आइपिओ निकाल्ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।
सहरको बिचमा अस्पताल भए पनि सामान्य मान्छेलाई अस्पतालका बारेमा थाहा थिएन । तर, अहिले धादिङदेखि पोखरा अनि नारायणघाटसम्मका मानिस सेवा लिन आउने गरेको पनि उहाँले बताउनु भयो ।
अहिले स्टार अस्पतालले आफूलाई विस्तार गर्ने क्रममा नुवाकोटमा स्टार नुवाकोट नामक अस्पताल पनि सुरु गरेको छ । जसको उद्घाटन दश बाह्र दिनमा हुन लागेको पनि उहाँले बताउनु भयो । कोभिडका कारण यो पनि ढिलो हुन पुगेको हो ।
शिक्षा क्षेत्रमा पनि स्टार हस्पिटलले मोर्डन टेक्निकल कलेज र स्ट्याण्डर्ड एकेडेमी सञ्चालन गरिरहेको छ । अहिले इनोभेटिभ कलेज पनि थपिएको छ जहाँ बिएन नर्सिङको पढाई हुन्छ । कुनै कलेजमा बिएनएलटी कुनैमा एचए लगायतका पढाई सुरु गरेर हस्पिटल तथा यसका शैक्षिक क्षेत्रमा पनि स्टार हस्पिटलले आफूलाई आबद्ध गरिरहेको बताउनुहुन्छ उहाँ ।
विवाह
उहाँको पहिलो विवाह २०३७ सालमा भएको हो । जसबाट एक छोरा र एक छोरी गरेर दुई सन्तान रहेका छन् । उहाँको छोरा अमेरिकामा बैङ्किङ सेक्टरमै हुनुहुन्छ । छोरी भने बेलायतमा आफ्नै फर्म कन्सल्टेन्सी सञ्चालन गरेर बसिरहनु भएको छ ।
दोस्रो विवाह भने सन् १९९३ मा भएको हो । जसबाट एक छोरी हुनुहुन्छ । उहाँ भने एमबिएका लागि सिम्बायोसिस पुनेमा आबद्ध हुनुहुन्छ । तर, अहिले कोभिडका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेको छैन । उहाँको 'ब्लुमी हार्ट' भन्ने आफ्नै स्वास्थ्य तथा सौन्दर्य प्रसाधनका साधन उत्पादनको कम्पनि पनि रहेको छ ।
सङ्घसंस्थामा संलग्नता
उहाँ नेपाल स्क्वास र्याकेट एशोसिएसनको अध्यक्ष हुनुहुन्छ । साथै उहाँ खेलाडी पनि हुनुहुन्छ । उहाँ धेरै वर्ष भेट्रान नेशनल च्याम्पियन पनि रहनु भयो । उहाँ एभिएम स्कुलको एल्मुनाइ एशोसिएसनको अध्यक्ष पनि हुनुहुन्छ । साथै थुप्रै सामाजिक तथा अन्य सङ्घसंस्थामा पनि उहाँको संलग्नता रहेको छ । उहाँ ललितपुर पेट्रियट्स नामक क्रिकेट क्लबसँग पनि आबद्ध हुनुहुन्छ ।
अन्तमा
काम, नाम र दामले मात्र पनि मानिसलाई विशिष्ट नबनाउन सक्छ । तर, यी सहायक भने अवश्य हुन् । आफूले विरासतमा प्राप्त गरेका यी पृष्ठभूमिको उपयोग गर्दै आफ्नो क्षमता र दक्षता अभिवृद्धि गरेका खण्डमा मान्छे अवश्य सफल हुन्छ भन्ने कुराको असल सिकाइ हो यो संक्षिप्त जीवनी ।