कान्छीको कमाल

कान्छीको कमाल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

दाङ । सात दिदीबहिनीमा सबैभन्दा कान्छी । त्यसमा एउटा दाजु र भाइ पनि छ । परिवारकी कान्छी छोरी भएकाले टोलछिमेकमा उनी कान्छी भनेर चिनिन्छन् । ताप्लेजुङ जिल्लाको चाँगे २ की यिनै कान्छीको राष्ट्रियस्तरमा भने एउटा परिचय स्थापित छ, सफल राष्ट्रिय खेलाडी ।

कान्छी अर्थात् चन्द्रकला लामागादेले आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित लगातार दुई स्वर्ण जितिसकेकी छन् । बेलझुण्डीमा जारी एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा उनले शुक्रबार राष्ट्रिय कीर्तिमान रचिन् । अघिल्लो दिन बनेको एकमात्र कीर्तिमान पनि उनकै नाममा थियो । त्यो कीर्तिमान चन्द्रकलाले सटपुटमा बनाएकी थिइन् । उनले विगत केही वर्षयता सटपुटमा चारपल्ट र ज्याभलिन थ्रोमा तीनपल्ट कीर्तिमान सुधार गरिसकेकी छन् ।

चन्द्रकला नेपाल पुलिस क्लबकी खेलाडी हुन् । पुलिसमा आबद्ध भएको पनि झन्डै ६ वर्ष भइसक्यो । २०७० सालदेखि पुलिसमा छिन् । स्कुलस्तरमा हुने राष्ट्रपति रनिङ सिल्डबाट उदाएकी हुन् उनी । सानोमा फुटबल खेल्थिन् । ६(७ कक्षा पढाताकादेखि नै ज्याभलिन र सटपुट फाल्न सुरु गरिन् । त्यसमै रस बस्दै गयो । भन्छिन्, ‘अहिले त यसमै रमाइलो लाग्छ, खेल्दा सन्तुष्ट हुन्छु । पदक जित्दा त झन् खुसी नहुने कुरै भएन ।’ आजको कान्‍तिपुर दैनिकमा खबर छ ।