पहिलो विमान दुर्घटना संस्मरण ‘जहाज रुखमा बर्जिएर चूर भएछ’

पहिलो विमान दुर्घटना संस्मरण ‘जहाज रुखमा बर्जिएर चूर भएछ’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

काठमाडौँ । “प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो” ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ ।

वि. सं. २००१ सालको त्यो घटना । पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो । सिरहाको भेडियाका गाँउलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए । आफ्नै गाउँपछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो । आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे । 

ऊबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो । पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो, “सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राती अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ । पाइलटको पत्तो छैन । विशेष खबर पछि ।” तेजारथ सिरहा बजारमा थियो । त्यसैले हाकिमहरूको बसोबास पनि उतै थियो । बजारमै घर थियो गोकुलप्रसादको । यो सामग्री आजको गाेरखापत्र दैनिकले प्रकाशित गरेको छ।