राहुल गान्धीको नागरिकता विवाद

राहुल गान्धीको नागरिकता विवाद
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

काठमाडौं । इण्डियन नेसनल कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विषयक मामलामा इलाहावाद हाइ कोर्टले आदेश जारी गरेको छ । 

इलाहावाद हाइ कोर्टको लखनउ खण्डपीठले राहुल गान्धी भारतीय नागरिक भए÷नभएको बारे छिट्टै निर्णय गर्न केन्द्र सरकारलाई आदेश दिएको छ । अदालतमा राहुल गान्धीको नागरिकता विषयक याचिकामाथि सुनुवाई गर्दै न्यायाधीशद्वय देवेन्द्र कुमार अरोडा र मनीष माथुरले केन्द्र सरकारलाई उपरोक्त आदेश जारी गरेका हुन् । 

अदालतमा राहुल गान्धीले ब्रिटिस नागरिकता लिएको र भारतीय कानुन अनुसार अब उनी भारतीय नागरिक नरहेको भनी रिट दायर गरिएको थियो । 

रिटमा राहुल गान्धीले आफ्नो एउटा कम्पनीको लण्डनमा दाखिल गरिएको ‘इन्कम ट्याक्स रिटर्न’मा उनले आफूलाई ब्रिटिस नागरिक भएको उल्लेख गरेका थिए । 

न्यायमूर्तिद्वयले केन्द्र सरकारसँग यस विषयमा इमान्दारीपूर्वक छिट्टै निर्णय गर्न भनेको समाचार बिबिसी हिन्दीले लेखेको छ ।