राजनीतिक स्थायित्वमाथि ३ वर्षे झेल: नेकपाका नेताको दर्जनौँ पटक 'जिन्को' बिरुवा झैँ रङ्ग बदलियो !

लोकसंवाद टिप्पणी

राजनीतिक स्थायित्वमाथि ३ वर्षे झेल: नेकपाका नेताको दर्जनौँ पटक 'जिन्को' बिरुवा झैँ रङ्ग बदलियो !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७७

 काठमाडौँ । ३ जेठ, २०७५ मा बल्खुस्थित एमालेको पार्टी कार्यालय परिसरमा रहेको जननेता मदन भण्डारीको सालिकअघि र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अणुबमले समेत मार्न नसक्ने ‘जिन्को’ प्रजातिको बिरुवा रोपेर एसियाकै तेस्रो ठुलो कम्युनिस्ट पार्टी निर्माण गरेको घोषणा गरे । साना–साना तत्त्वहरू मिसिएर खतरनाक अणुबम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी पनि साना साना तत्त्वहरूको सम्मिश्रणबाट बनेको बताएका थिए । तर ओलीले भनेजस्तै साना साना सम्मिश्रणबाट बनेको कम्युनिस्ट पार्टी यति खतरनाक रुपमा विस्फोट भयो कि तीन वर्षमा न त एकता रह्यो, न पुरानो स्तरको सङ्गठन र जनसमर्थन नै बाँकी रहेको अवस्था छ ।

बरु सर्वत्र आलोचित बन्दै नेकपाका नेताहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामका पुरानै आ-आफ्ना घरबार सम्हाल्नतिर लागेका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता गराएका ऋषि कट्टेलको एउटा निवेदनले नै एसियाकै तेस्रो ठुलो, अणुबम जस्तो शक्तिशाली र जेट विमानसँग तुलना गरिएको पार्टी क्षतिग्रस्त बन्न पुगेको छ । 

प्रचण्ड र ओलीले रोपेको बिरुवाको एउटा विशेषता चैँ नेकपाका नेतासँग ठ्याक्कै मेल खायो । जापानी प्रजातिको 'जिन्को' बिरुवाले विशेषता भनेको वर्षमा तीन पटक रङ्ग फेर्छ । राजनीतिक स्थायित्वमाथि ३ वर्षे झेल गरे ।  नेकपाका नेताहरुले एकताको तीन वर्षमा दर्जनौं पटक 'जिन्को' बिरुवाका झैँ रङ्ग फेरि रहे अर्थात् बदले ! 

नेताहरुले रङ्ग फेर्दाफेर्दै जनतालाई स्थायी सरकार, सुशासन विकासको सपना देखाएका नेताहरुले जनताको चाहाना बिर्सिएका छन् । नेपालमा करिब ७ दशक लामो कम्युनिस्ट आन्दोलनमा दर्जन पटक फुट आएको छ । जसले गर्दा कम्युनिस्ट आन्दोलनमा लागेका ठुलो सङ्ख्यामा नेता कार्यकर्ता निराश छाउँदै आएको छ । तर एमाले र माओवादीको एकीकरणले ठुलो उत्साह समेत ल्याइदिएको थियो । त्यसैले २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले करिब दुई तिहाइ बहुमतको जनमत समेत प्राप्त  थियो । 

जनताको राजनीतिक स्थायित्वको सपना अधुरो  नै रहने छ ।नेकपाको नाममा ओली र प्रचण्डले तीन वर्षभन्दा लामो समय जुन प्रकारले  जापानी प्रजातिको 'जिन्को' बिरुवाले झैँ रङ्ग फेरेर बिताएका छन् । यो सायद इतिहासको एक स्वर्णिम अवसर गुमाएको समयका रुपमा अङ्कित रहने छ । नेकपाको आन्तरिक कलहले नेपाललाई कम्युनिस्ट शक्तिको नेतृत्वमा विकासको नयाँ युगमा प्रवेश गराउने मौका गुमेको छ । 

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका एक सय २१ र माओवादी केन्द्रको ५३ सिट गरी एक सय ७४ सिट आएको थियो । गठबन्धनबाट केपी शर्मा ओली ३ फागुन २०७४ प्रधानमन्त्री बने भने ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा एमाले र माओवादी गठबन्धनको सरकार बन्यो । राष्ट्रपतिदेखि महत्त्वपूर्ण पदहरूमा दुई पार्टीका नेताहरू चयन भए । निर्वाचनमा बहुमत ल्याएको करिब एक वर्षसम्म ओली र प्रचण्डमा ठुलो प्रेम भाव देखियो । तर प्रचण्ड र ओलीबिचको यो सम्बन्ध लामो समय टिक्न सकेन । पार्टी एकताका क्रममा माधव नेपाललाई  चौथो बरीयतामा  झारेर  झलनाथ खनाल  तेस्रो बरीयतामा ल्याएपछि नेपाल केपी ओलीसँग चिढिएका थिए । ओलीले प्रचण्डलाई साथ लिएर माधव नेपाललाई पनि पार्टीमा एक्लाउने पटक पटक कोसिस गरे । त्यस बेला माधव नेपाल ओली र प्रचण्डसँग रिसाएका थिए । यसपछि एकपछि अर्को गर्दै असन्तुष्टिका स्वरहरू बढ्न  थाल्यो । अन्ततः ओलीको सरकार र पार्टी चलाउने शैलीसँग प्रचण्ड पनि रुष्ट भएपछि ओलीविरुद्ध शीर्ष नेताहरू एकजुट हुन थाले। 

नेकपाभित्रको आन्तरिक किचलो र सरकार सञ्चालनमा नेताहरुले देखाएको पुरानै रवैयाका कारण आम जनताका चाहानाहरू पूरा हुन सकेनन् । सत्ता समीकरणको खेल चल्दा पार्टीको एकता प्रक्रियाले समेत पूर्णता पाउन नसकी पार्टीभित्र आन्तरिक द्वन्द्व चरम अवस्थामा पुग्यो । पार्टी सङ्गठनमा देखिएको गतिरोधसँगै सरकारको गतिमा समेत सुस्तता छताछुल्ल रुपमा बाहिर पोखिन थाल्यो । सुरुमा स्थायी सरकार दिने बाचा गरेको भए पनि ओली र प्रचण्डबिच आधा आधा कार्यकाल सरकार चलाउने गोप्य सहमति बाहिर आयो । प्रचण्ड भारत भ्रमणका क्रममा ओलीसँग सत्ताको नेतृत्वमा भएको सहमति सार्वजनिक गरेको विषयले ओली–प्रचण्ड सम्बन्धमा दरार उत्पन्न हुन थाल्यो ।

गत कात्तिकमा प्रचण्डले ओलीका कमजोरीसहितको प्रतिवेदन पार्टी सचिवालय बैठकमा राखेपछि ओली- प्रचण्डबिचको झगडा मैदानमा नै प्रवेश गरेको हो । प्रचण्डलाई यो दस्ताबेज ल्याउन माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए । सचिवालयमा बहुमत सदस्य प्रचण्डको साथमा रहेपछि ओलीले त्यसलाई 'आरोप पत्र' भन्दै प्रत्यारोप पत्र पेस गरे । सोही विवाद बढ्दै जाँदा ५ पुसमा प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रबाट आफूलाई सरकार चलाउन नदिएको भन्दै प्रतिनिधिसभा नै विघटन गरिदिए ।

करिब दुई महिनापछि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना गरिदियो । ओलीको कदमविरुद्ध प्रचण्ड सहित माधवकुमार नेपालसहितको समूह एकजुट भएपछि ओली पार्टी र संसदीय दलमा अल्पमतमा परे । तर सर्वोच्च अदालतले आइतबार ओली र प्रचण्डले नेतृत्वको गरेको नेपाल कम्युनिस्ट पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेलको नाममा दर्ता भएको भन्दै पार्टीको नाम नै खारेज गर्दै पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा कायम रहेको फैसला गरिदियो ।  यस लगत्तै माधव नेपालको समूह एमालेमा फर्किएको छ भने प्रचण्डले माओवादी केन्द्र ब्युँताएका छन् । 

यससँगै ३ जेठ, २०७५ मा एकता गर्नुभन्दा अघिको अवस्थामा दुई पार्टी पुगेका छन् । सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्दै गत ३ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका कामको निकै लामो फेहरिस्त सार्वजनिक गरे । तर यीमध्ये धेरै काम वर्तमान सरकारको पालामा नभएर यसअघिकै सरकारले थालनी गरेका कामहरू हुन्। दुई तिहाइ बहुमत ल्याएर सरकार बनाएको नेकपाका तीन वर्ष उपलब्धिमूलक बनेको देखिएन । यसले स्थायी सरकारले विकासलाई तीव्रता दिने देश विकास हुने आम जनताको सपनामा ठुलो कुठाराघात भएको छ ।

विकासमा मात्रै होइन नेकपा दुई पूर्ववत् पार्टीमा फर्किएपछि यति बेला देश पुनः राजनीतिक सङ्कटको भुमरीमा फर्किएको छ । केपी ओलीको एक समूहबाहेक सबै राजनीतिक शक्ति ओलीको कदमविरुद्ध आन्दोलित बन्न पुगे । अब नेकपा नै नरहेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा केपी ओलीको सरकारले संसद्मा विश्वासको मत गुमाउनेछ । नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरूले पुनः छलफललाई अघि बढाइ सकेका छन् । एमालेले विष्णु पौडेल र सुवास नेम्वाङ रहेको कार्यदल बनाएको छ भने जनता समाजवादी पार्टीले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको वार्ता टोली बनाइसेका छ ।

मङ्गलवार को स्थायी समितिको बैठकबाट निर्णय गराएर प्रचण्डले पनि बाबुराम भट्टराई र शेरबहादुर देउवासँग छलफल गरिसकेका छन् । ५ वर्ष सरकार चलाउने 'म्यान्डेट' पाएको केपी ओली र प्रचण्ड नेतृत्वको तत्कालीन नेकपाले करिब साढे तीन वर्षको अवधि पनि टिकाउन सकेनन् । 

अब सरकार फेरिए त्यसको ध्यान विकासमा भन्दा आगामी निर्वाचनमा नै केन्द्रित बन्ने पक्कापक्की छ । त्यसबाट जनताको राजनीतिक स्थायित्वको सपना अधुरो  नै रहने छ ।नेकपाको नाममा ओली र प्रचण्डले तीन वर्षभन्दा लामो समय जुन प्रकारले  जापानी प्रजातिको 'जिन्को' बिरुवाले झैँ रङ्ग फेरेर बिताएका छन् । यो सायद इतिहासको एक स्वर्णिम अवसर गुमाएको समयका रुपमा अङ्कित रहने छ । नेकपाको आन्तरिक कलहले नेपाललाई कम्युनिस्ट शक्तिको नेतृत्वमा विकासको नयाँ युगमा प्रवेश गराउने मौका गुमेको छ ।