कविता राई | समाज | बैशाख ७, २०७६
कहिले आमा भन्नुहुन्थ्यो–
छिटो बुबु खा
जून झुल्किसक्छ
कहिले आमा भन्नुहुन्थ्यो–
छिटो बुबु खा भाले बासिसक्छ
कहिले आमा भन्नुहुन्थ्यो–
छिटो बुबु खा जून अस्ताइसक्छ ।
मेरो साथबाट
मेरी आमाको मायालु
अँगालो खोस्ने
ए जून तँ अझैछस् !
मेरी आमाको न्यानो काख खोस्ने ए भाले !
तँ अझै बास्दैछस् !
तर, अफशोच १!
खोइ, मेरी आमा खोइ ?
जिजीविषाको पेचिलो
समयमा
भाले नबासी उठ्ने तिमी
जून झुल्किँदा पनि उठ्ने
जून अस्ताउँदा पनि उठ्ने
उठिरहने उठिरहने
आमा !
कुन फुर्सदमा गाँसियो
यति सङ्लो माया
कञ्चनगङ्गा बनेर
बगिरहेछ हृदयमा छङछङी ।
गरगरेमा पानीको गाग्रोसँगै
लडेको तिम्रो निधारको खत
बाले हानेका झापडका
नीलडाम
कत्ति राम्री थियौ तिमी
तर पनि रोपाईँबाट
निस्केकी
तिम्रो हिलाम्मे काख
कत्ति न्यानो लाग्थ्यो मलाई
गोबर गन्हाउने तिम्रो
शरीरको सुगन्ध
आहा !
कत्ति सुवासित थिए
अँधेरी रातमा मुस्लीले
किच्याएर बाँङ्गिएका
चरचरी फुटेका तिम्रा हात
आहा !
ती सुकोमल थिए ती स्पर्श
विष्मृतिको रापमा लोलाएका
यी नयन
आज पग्लिन्छन्
बेसरी खै किन हो कुन्नि !
समयले छोडेर गएका
असङ्ख्य दुःखका रापिला
उच्छवास्
दुख्छन् कहिलेकाहीँ
समयका तिनै कैैयौँ घाउहरू
गन्हाउँछन् ह्वासह्वासी
सती दुर्गन्ध !
तिनै समयका पदचापहरू
पच्छ्याइरहेकी म
बलेँसीमा खसेका जूनका
आँसु
पिएर सम्झन्छु
आमाले भोगेको पाशविक
जिन्दगी
सम्झँदै अत्यास लागेर
आउँछ
सयौँ पटक मर्न मन लाग्छ
सयौँ पटक आफैँलाई
आगो सल्काउन मन लाग्छ
अनि चिच्याउँछु—
आमा तिमी बाँचेकी छौ
जूनसँगै/भालेसँगै !!
आज २०७६ साल बैशाख ७ गते शिनवाका दिन बिमाेचित गाेर्खा बुक्सले बजारमा ल्याउन ल्याएकाे आमा र जून कवित संग्रहबाट लिएका हाै ।