महाशिवरात्रि 2077 : पशुपति क्षेत्रको तयारी र व्यवस्थापनका जटिलता

महाशिवरात्रि 2077 : पशुपति क्षेत्रको तयारी र  व्यवस्थापनका जटिलता

योगी कुलचन्द्र  |  दृष्टिकोण  |  फाल्गुन २६, २०७७

पशुपति क्षेत्रमा परम्परागत रुपमा मनाइने विभिन्न पर्वहरू मध्ये महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि विशेष आस्था र महत्त्व रहने गरेको छ । नेपाल मात्र नभएर विश्वका समस्त हिन्दु धर्मावलम्वीहरुले शिवरात्रिलाई विशेष पर्वको रुपमा मनाउने गरेको पाइन्छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पर्ने यस पर्वको विशेष आस्था एवं महत्त्व रहँदै आएकाे छ । 

यस वर्ष फाल्गुन २७ गते पर्न गएको महाशिवरात्रि पर्वमा कोरोना भाइरस सङ्क्रमणको खतरालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई सम्भव भएसम्म नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाई भौतिक दूरी कायम गर्दै, सेनिटाईजर र मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध समेत गरेको छ । भलै यो कति व्यवहारिक होला त्यो भने हेर्न बाँकी नै छ । 

पाशुपत क्षेत्रको रेखदेख, संरक्षण र विकासका स्थापना भएको पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रमा मनाइने मेला, पर्व एवं जात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।  शिवरात्रिमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीका लागि प्रत्येक वर्ष जस्तै यस वर्ष पनि कोषसँगै सुरक्षा निकाय, विभिन्न धार्मिक सामाजिक सङ्घसंस्था, सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायहरू स्वतः स्फूर्त रुपमा दर्शनार्थीहरुको मानवीय सेवामा जुट्ने परम्परा रहेको छ ।  

सबै सङ्घसंस्था तथा सरकारी, गैह्र सरकारी निकायहरूको मुख्य उद्देश्य भनेको शिवरात्रिमा दर्शनार्थीहरुलाई सहज, सुरक्षित र छिटो दर्शन गराउने नै हुनेछ । जसका लागि कोषले एघार वटा उपसमितिहरू गठन गरी कार्य विभाजन सहित विभिन्न तयारी समेत गरेको  जनाएको छ ।   

एघार वटै उपसमितिहरू मार्फत शिवरात्रि पर्व सफल रुपमा सञ्चालन गर्नका लागि  सुरक्षा व्यवस्था, स्वयम् सेवा परिचालन, स्वास्थ्य शिविर वातावरण तथा विशेष सरसफाइ अभियान सञ्चालन हुने छ । 

एयरपोर्ट, गौशाला, चावहिलको रिड.रोडमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुडन दिइने छ । साथै आवश्यकता अनुसार डाईभर्सनको समेत व्यवस्था मिलाइने छ । सडक छेउ फुटपाथमा कुनै पनि पसलहरू राख्न निषेध गरिएको छ । 

महाशिवरात्रि पर्व सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्थापन गरिने छ । स्वयं सेवा परिचालन, नेपाल स्काउट समेत गरी करिब चार हजारको सङ्ख्यामा स्वयंसेवकहरू समेत परिचालन हुनेछन् ।

स्वास्थ्य शिविर अन्तर्गत, श्री पशुपति नाथको मन्दिर नजिकै भित्री क्षेत्रमा डाक्टर नर्स, औषधी र बेड सहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहने छ । साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी  समेत गरी करिब ३० वटा स्वास्थ्य सँग सम्वन्धित संस्थाले सेवा प्रदान गर्ने छन्  भने एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि  दमकल समेत तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको छ । 

वातावरण तथा सर सफाइका लागि बागमती सफाइ अभियन्तहरुको अगुवाइमा पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको संलग्नतामा गत शनिवार  बिहान फाल्गुन २२ गते गुह्येश्वरी देखि तिलगंगासम्मको क्षेत्रमा बागमती नदीको विशेष सरसफाइ समेत गरिएको थियो । 

नियमित सर सफाइका अतिरिक्त कोषको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकाय र स्वयंसेवी संस्थाहरूको सहभागितामा फाल्गुन २६ गते बिहान  विशेष सरसफाइ अभियान सञ्चालन गरिएको थियो । 

यसै गरी उपसमितिले  जुत्ता चप्पल कक्षको व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजाका लागि  मन्दिर प्राङ्गण भित्र रात्रिकालीन व्यवस्था सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीका जनशक्ति र कोषका कर्मचारीतन्त्र परिचालन गरिने भएको छ । 

यस्तै आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि हंस मण्डपमा ५० वटा तथा वन काली र तीलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकी करिब ९५ वटा संघसंस्थाहरुले निःशुल्क भोजन, पानी, चिया वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

साधुसन्तहरुको सेवाका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र बसोबासको समेत व्यवस्था मिलाइएको छ ।  महाशिवरात्रि पर्व सम्पन्न भएपछि गुठी संस्थानले निर्धारण गरे बमोजिम रकम बाटो खर्च सहितको रकमका साथ साधुसन्त तथा जोगी बाबाहरुका लागि विदाईको व्यवस्था समेत पशुपति क्षेत्र विकास कोषले गरेको छ । 

यसैगरी उपसमितिले दर्शनमार्ग तोकि सोही अनुसारको व्यवस्था मिलाएको छ । मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणमूति हुँदै रुद्रगाढेश्वर उत्तर ढोकाबाट १ लाईन, बत्तिस पुतली, गौशाला, एयरपोर्ट, तिलगंगा भएर पिङ्गल स्थान सुमार्गी भवन अगाडिबाट चार शिवालय पञ्च देवल हुँदै दक्षिण ढोकाबाट एक एक लाईन गरी बाहिरी रुपमा भक्तजनका लागि तीन स्थानबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । 

तिलगंगा राम मन्दिर तर्फ समेत आवश्यकता अनुसार एक लाईन हुनेछ । नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरी स्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । साथै जुन दर्शन मार्गबाट प्रवेश गरेको हो सोही मार्ग हुँदै मन्दिरबाट बाहिरिने व्यवस्था समेत मिलाइएको छ । 

शिवरात्रि पर्वका लागि  पार्किङ. तथा ट्रफिक व्यवस्थापनका लागि तीलगंगा करिडोरको उपलब्ध स्थान, पशुपति विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त, ट्राफिक प्रहरी प्रभात, गौशाला, सिफल चौरको उपलब्ध स्थान, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । 

एयरपोर्ट, गौशाला, चावहिलको रिड.रोडमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुडन दिइने छ । साथै आवश्यकता अनुसार डाईभर्सनको समेत व्यवस्था मिलाइने छ । सडक छेउ फुटपाथमा कुनै पनि पसलहरू राख्न निषेध गरिएको छ । 

शिवरात्रिमा, धार्मिक कार्यक्रम हंस मण्डप र बनकालीनमा नेपाल र भारतका खाती प्राप्त कलाकारहरुद्धारा भरत नाट्यम एवं ताण्डव सहितको भक्ति सङ्गीत प्रस्तुतिका साथै पशुपति सङ्गीत कला प्रतिष्ठानको आयोजनामा बागमती पारी तीन दिनसम्म धार्मिक  कार्यक्रम सञ्चालन हुनेछ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरका भित्रीद्धार लगायत मन्दिर परिसरलाई समेत विशेष किसिमले सिंगारिएकाे  छ । 

समग्रमा भन्नुपर्दा  सम्पूर्ण पशुपति क्षेत्र कानुनद्वारा  नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकोले महाशिवरात्रि पर्वमा गाँजा भाड., जाँड रक्सी जस्ता नशालु पदार्थहरूको बिक्री वितरण, ओसार पसार भण्डारण एवं प्रयोग वा सेवन नगर्न पनि कोषले विशेष अनुरोध  गरेको छ । 

विश्व सम्पदा सूचिमा रहेको पशुपति क्षेत्र प्लास्टिक निषेधित क्षेत्र पनि भएकोले मेला क्षेत्रमा  सेवा प्रदान गर्ने सबै संस्थाहरूलाई भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिक कप प्रयोग नगरी दिन हुन समेत कोषले  अनुरोध गरेको छ । 

स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भएका, ज्वरो आएका वा असजिलो महसुस भएका व्यक्तिले आफ्नो तथा अन्य सम्पूर्णको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखी दर्शनका लागि नआउन कोषले अनुरोध गरेको छ । 

यसैगरी सम्मानित व्यक्तित्व, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त एवं अपाङ्ग.ता भएका व्यक्तिहरूलाई कुनै समस्या परेमा आफ्नो नजिकको स्वास्थ्य शिविरमा सम्पर्क राख्नुहुन समेत कोषले अनुरोध गरेको छ । 

ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरूलाई लाइनमा नराखी स्वयंसेवकहरूको माध्यमबाट सिधै दर्शनको व्यवस्था मिलाइएको छ । त्यस्ता व्यक्तिहरूका लागि बन काली देखि २ नं गेट (पोडे पाटी)सम्म इलेक्ट्रिक ट्याम्पोबाट आवत जावत गर्ने व्यवस्था समेत मिलाइएको छ । 

स्वयं सेवकहरूले दर्शनार्थीहरुलाई निर्देशनात्मक व्यवहार नगर्न बरु सभ्य, सुसंस्कृत एवं नम्र भाषा र व्यवहार गर्न समेत कोषले अनुरोध गरेको छ । साथै स्थानीय वडा कार्यालयहरूले पशुपति मन्दिर आसपास बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि जारी गरेको स्थानीय परिचयपत्र (पास) लाई मान्यता दिई आफ्नो बसोबास रहेको स्थानसम्म सहज आवतजावत गर्ने व्यवस्था समेत कोषले मिलाएको जानकारी दिएको  छ ।