अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २७, २०७७

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । 

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो । केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । उहाँले भन्नुभयो, “पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।”

अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका नौ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ । नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण शुरु हुन्छ । उहाँले भन्नुभयो, “परीक्षण सबै गरिसक्न दुईतीन महिना लाग्छ ।”

काठमाडौँ उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ । काठमाडौँमा पानी आयो भन्नासाथ पूरै पानी एकैपटक नआउने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने उहाँले बताउनुभयो । आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल शुरु गरिने उहाँले बताउनुभयो । जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइनेछ । उहाँले भन्नुभयो, “दैनिक पानी पठाइनेछ, पानी थपिँदै जाँदा घरघरमा जाने पानीको परिमाण पनि बढ्नेछ ।”

पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यहीअनुसार  दैनिक एक÷दुई घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ । परीक्षणका क्रममा समस्या नआएको पाइएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ । लिमिटेडअन्तर्गतका सबै शाखा कार्यालयको आआफ्नो फेसबुक पेजबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने उहाँले बताउनुभयो । सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्र्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिनेछ । 

समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको उहाँले जानकारी दिनुभयो । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्ययवसायी र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।”