माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्रे शुरु

माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्रे शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २७, २०७७

कास्की । कास्कीको माछापुच्छ्रे  गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरु गरिएको छ । माछापुच्छ्रे  गाउँपालिकाको ‘लाइफलाइन’ समेत रहेको पोखरा महानगरपालिका–२५ हेमजा–खानेपानी मुहान–लुम्रे–सिदिङ सडक खण्ड ९मनिलाल मार्ग० कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

सडक निर्माणपछि माछापुच्छ्रे  गाउँपालिकाका नौ वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । कूल १५ किमी ९०० मिटर सडक मध्ये ११ किमी कालोपत्रे र बाँकीमा ग्राभेलको काम भइरहेको हो । मेलबोटदेखि लुम्रेसम्म कालोपत्रे र ढलान हुनेछ भने घलेल क्षेत्रमा ग्राभेलको काम अघि बढेको छ । विसं २०५३ मा सो सडकखण्डको ट्र्याक खुलेकामा २५ वर्षपछि पक्की कालोपत्रे सडक निर्माण शुरु भएको हो । हाल सो सडक खण्डको लुम्रे, खोराकोमुख क्षेत्रमा धमाधम कालोपत्रे भइरहेको छ ।

यसैगरी मेलबोटदेखि मर्दीपुलसम्मको धेरै स्थानमा ढलानको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनीयर नवराज शर्माले बताउनुभयो । उहाँका अनुसार हालसम्म आयोजनाको ८० प्रतिशत हाराहारीमा काम सकिएको छ ।
 
गत वर्ष पुस मसान्तभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीको ढिलासुस्ती र कोरोनाका कारण यही चैत मसान्तसम्मको म्याद थप गरिएको बताइएको छ । “थप गरिएको म्यादभित्र सडक सम्पन्न गर्नका लागि निरन्तर ताकेता गरिरहेका छौँ, प्रत्येक दिन प्राविधिकहरुले साइट निरीक्षण गरिरहनुभएको छ”, आयोजना प्रमुख शर्माले भन्नुभयो, “घलेल क्षेत्रमा संरचनाको केही काम बाँकी छ, अन्यत्र कालोपत्र शुरु भएको छ ।”

सडक स्तरोन्नति गरी कालोपत्र गर्नका लागि विसं २०७५ असार २९ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । गत वर्ष पुस मसान्तमा सो सडक निर्माण भइसक्नुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक तोकिएको समयभित्रमा सम्पन्न हुन सकेन । आयोजनाको रु २६ करोड एक लाख लागतमा हिमदुङ एन्ड थोकर र ड्रागन जेभीसँग सडक निर्माण सम्झौता भएको थियो । कालोपत्रे सडक नालीसहित आठ मिटर फराकिलो हुनेछ । 

गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिकालाई पोखरासँग जोड्ने प्रमुख सडक भएकाले छिटोभन्दा छिटोे निर्माण सम्पन्न गर्र्नका लागि आवश्यक समन्वय र सहजीकरणको काम गरिएको बताउनुभयो । गत वर्ष सम्पन्न हुनुपर्ने आयोजना ढिलाइ भएकाले निर्माणका क्रममा आइपरेका समस्या समाधान गर्दै कामलाई अघि बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग भइरहेको उहाँको भनाइ छ ।