उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै कृषक निराश

उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै कृषक निराश

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २७, २०७७

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहँुचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।

प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले सात वटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लोफाँट ९पलाँसे क्षेत्र० गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात एकदेखि एक लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँटमा आउने गरेका हुन् ।

हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी क्याप्टेन मीनबहादुर कार्कीले बताउनुभयो । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उहाँको भनाइ छ ।