शिवरात्रिको अवसरमा हेटौंडाको पशुपति मन्दिरमा भक्तजनको भीड

शिवरात्रिको अवसरमा हेटौंडाको पशुपति मन्दिरमा भक्तजनको भीड

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २७, २०७७

हेटौंडा । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर  मन्दिरमा पूजापाठ गरिरहेका  छन् । 
 बिहानदेखि  नित्यकर्मका साथ चोखो भई बालबालिका, वृद्धवृद्धा, महिला र पुरुषले  सो मन्दिरमा पूजापाठ गर्नाका साथै प्रसाद चढाएका छन् ।  मन्दिर परिसरमा भजनकीर्तन, नाचगान  गरिएको छ । 

मन्दिरको बाहिर मेला लाग्नाका साथै व्यावसायिक कारोवारसमेत बढेको पाइएको छ । आज राति जाग्रामसमेत गरिने मन्दिर समितिले जनाएको छ । हाल त्यहाँ प्रहरी सुरक्षा  बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवको पूजाराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वास छ । 
त्यस्तै  हेटाँैडाको फरेष्टी कलेजका हातामा रहेको शिवमन्दिरलगायत मकवानपुरका अन्य शिवमन्दिरमा पूजापाठ गरिएको छ । हेटौँडा–१० स्थित रापती तटको गोरेक्षश्वर मन्दिरमा आज बिहानैदेखि भक्तजनले पूजाआजा गरेका छन् । भक्तजन हेटौँडालगायत विभिन्न स्थानबाट शिवको दर्शन गर्न लामबद्ध छन् ।   उनीहरुलाई आकस्मिक रुपमा स्वास्थ्योपचार सेवा पनि उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ गोविन्दप्रसाद रिजालले शिव मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई शान्तिसुरक्षाको उचित प्रबन्ध मिलाइएको बताउनुभयो ।