सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै

सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २८, २०७७

काभ्रेपलाञ्चोक ।  निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम ९ओभरले० र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ । 

चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ । यो सडकमा पटके वा नियमित मर्मत गत वर्षहरुमा पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम यही वर्षदेखि शुरु भएको हो ।”

मर्मतको काम भइरहेका अधिकांश स्थानमा नेपाली रकमबाट नै काम भइरहेको आयोजनाले जनाएको छ । सडक बोर्ड नेपालले बर्सेनि सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ । त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत अघि बढाइएको प्रमुख भाटले बताउनुभयो । 

बिपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ । सिन्धुलीको खुर्कोट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो । त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको प्रमुख भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यो १० किमी सडक पनि चैतसम्ममा सकाउने योजना छ ।”

नेपालथोकदेखि धुलिखेलसम्मको सडकमा ‘सिङ्गल सर्फेस ट्रेसिङ’ १० किमी सकिएको र बाँकी १० किमी आगामी चैतमा सकाउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ । नेपालथोक खुर्कोट सडकमा चालु आवमा २५ किमी ओभरले गर्ने योजना बनाइएको छ । त्यसमध्ये पाँच किमी सकिएर २० किमी सडक ‘ओभरले’ का लागि ठेक्का भइसकेको छ । उहाँले भन्नुभयो, “यो वर्ष ठेक्का भए पनि अर्को वर्ष मात्रै काम सकिनेछ ।” 

अहिले भकुण्डेबेँसी क्षेत्रमा पाँच किमी सडक मर्मतको काम भइरहेको छ । नेपालथोक–धुलिेखल सडकमा चालु आवमा २० किमी सडक ‘सिङ्गल सर्फेस ट्रेसिङ’ गर्ने योजना बनाइएको थियो । त्योमध्ये अहिलेसम्म मध्ये १० किमी सम्पन्न भइसकेको छ । बाँकी १० किमीमा निर्माण जारी रहेको र  चैतसम्ममा सकाउने लक्ष्य लिइएको बताइएको छ । आयोजनाले सिन्धुली–बर्दिवास सडकमा पाँच किमी मर्मतका लागि ठेक्का सम्झौता गरिसकेको छ । त्यो सडक पनि चालु आवमा नै सम्पन्न हुने प्रमुख भाटले जानकारी दिनुभयो ।  

सडक हस्तान्तरण सकिएको झण्डै छ वर्षपछि धेरै ठाउँमा एकै पटक मर्मत भइरहेको हो । फरकफरक खण्डमा फरक मितिमा निर्माण सकिएको आयोजनाले जनाएको छ । सबैभन्दा पछिल्लो पटक नेपालथोक–खुर्कोट सडक सम्पन्न भएर हस्तान्तरण भएको हो । त्यसमा पनि यो वर्षदेखि मर्मत शुरु भएको प्रमुख भाटले बताउनुभयो । उहाँका अनुसार यो खण्डमा पाँच किमी सडकमा मर्मत सकियो भने २० किमी मर्मतका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भइसकेको छ । 

अहिले मर्मत भइरहेको सडकमध्ये नेपालथोक–खुर्कोट खण्डमा मर्मतका लागि वैदेशिक लगानीसमेत रहेको  आयोजनाले जनाएको छ । सो सडकमा  २० किमी मर्मतका लागि विश्व बैंकले रु १० करोड र नेपाल सरकारको रु चार करोड ६८ लाख लगानी रहेको छ । बैंकको ‘कोर रोड नेटवर्क’ कार्यक्रममा सो सडकको मर्मत हुन लागेको हो । चालु आवमा ठेक्का सम्झौता भए पनि निर्माणको काम आगामी आवमा मात्रै सम्पन्न हुने प्रमुख भाटले बताउनुभयो ।