राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव प्रारम्भ

राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव  प्रारम्भ

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २८, २०७७


बाँके ।  नेपाल प्रज्ञा–प्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामा बाँकेको नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव–२०७७ प्रारम्भ भएको छ ।

उक्त दुई दिने गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रसँग सम्बन्धित विविध विषयको गोष्ठी, अनुसन्धान र प्रकाशन गर्ने उद्देश्यका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले कामहरू गरिरहेको हुनाले नेपालगन्ज जस्तो विविधतापूर्ण सामाजिक संरचना भएको नगरीमा यस्तो गोष्ठीको आयोजना हुनुको विशेष महत्त्व रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो-अहिले प्रज्ञा–प्रतिष्ठान विभिन्न गौरवशाली योजनाका साथ अगाडि बढिरहेको, यसले केही ऐतिहासिक कार्यहरूसमेत सम्पन्न गरिसकेको र नेपाल चिनाउने ग्रन्थ ‘नेपाल दर्पण’ लेखन र प्रकाशन तथा देवकोटा सङ्ग्रहालय निर्माण जस्तो गरिमापूर्ण कार्यमा जुटिसकेको हुनाले यस प्रकृतिका कार्यक्रमहरूले उक्त अभियानमा सहयोग पुग्ने छ । भेरी साहित्य समाजका अध्यक्ष प्राज्ञ हरिप्रसाद तिमल्सिनाको सभापतित्वमा सञ्चालित उक्त गोष्ठीमा नेपनल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले प्रज्ञा–प्रतिष्ठानका यस प्रकृतिका कामहरू र अहिलेको सक्रियताबाट धेरै आशा जागेको र केही हुन बाँकी कामहरू पनि अबका दिनमा सम्पन्न हुने आशा जागेको विचार व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका दर्शनशास्त्र, मातृभाषा (मातृभाषा, कोश र व्याकरण), साहित्य (अनुवाद), साहित्य (पद्य/काव्य), साहित्य (आख्यान) र साहित्य (बालसाहित्य र लोकवार्ता) गरी छओटा विभागको सहभागिता रहेको उक्त गोष्ठीमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायसहित प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी र डा. देवी नेपालको सहभागिता रहेको छ ।

गोष्ठीको पहिलो दिन उद्घाटनपछि पुस्तक विमोचन, सांस्कृतिक कार्यक्रम र हास्यव्यङ्ग्य कविगोष्ठीको आयोजना गरिएको थियो । उक्त अवसरमा अब्दुल ललिफ शौकको ‘प्यारा मुल्क और प्यारी जवान’ उर्दू गजलसङ्ग्रह, हिमलाल ज्ञवालीको ‘समय समयका कुरा’ निबन्धसङ्ग्रह, ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’को ‘बेसुल्लो’ कवितासङ्ग्रह, कल्पना पौडेल ‘जिज्ञासु’को ‘विद्रोहका तरङ्ग’ मुक्तकसङ्ग्रह र शारिक रब्बानीको ‘अफ्कार–ए–शारिक’ उर्दू गजलसङ्ग्रह पाँचओटा कृतिहरू विमोचन गरिएका थिए भने विभिन्न कलाकारहरू तथा विद्यालयका विद्यार्थीहरूबाट स्थानीय रङ झल्कने सोह्रओटा सांस्कृतिक प्रस्तुतिहरू देखाइएका थिए । पहिलो दिनको अन्तिम सत्रमा आयोजित हास्यव्यङ्ग्य कविगोष्ठीमा नेपालका श्यामानन्द सिंह, डा. लोकराज पराजुली, रमेश समर्थन, हरि सुवेदी, डा. खगेन्द्र घोरासैनी, बद्री ढकाल तथा भारतका पिके प्रचण्ड, देवराज सिंह, महेश्वर बक्स सिंह, मिथिलेश जैसवाल, अयोधीप्रसाद साधक, प्रीतम श्रीवास्तव, श्रवणकुमार सायक आदि डेढ दर्जन कविहरूले हास्यव्यङ्ग्य कविताहरू प्रस्तुत गरेका थिए ।

यसरी नै उक्त गोष्ठीको दोस्रो दिन २८ गते कार्यपत्र सत्र र बहुभाषिक कविगोष्ठीको आयोजना हुने छ । उक्त गोष्ठीमा अब्दुल कलाम मियाद्वारा लिखित ‘इस्लाम दर्शन र नेपालमा यसको प्रयोग’, विक्रममणि त्रिपाठीद्वारा लिखित ‘शिक्षाप्रणालीमा अवधी भाषा: सन्दर्भ मातृभाषा शिक्षा’ र ‘लुम्बिनी प्रदेशका प्रमुख भाषा अवधी, थारू तथा मगर भाषाका अनूदित कृतिहरू’, डा. एकनारायण पौडेलद्वारा लिखित ‘नेपाली कथामा आञ्चलिकता’ र जागेश्वर नेपालद्वारा लिखित ‘नेपाली बालसाहित्य: सैद्धान्तिक स्वरूप र प्रभाव’ शीर्षकका पाँचओटा कार्यपत्रहरू प्रस्तुत गरिने छन् भने दोस्रो सत्रमा बहुभाषिक कविगोष्ठीमा दुईदर्जन कविहरूका कविताहरू प्रस्तुत हुने कुराको  बारेमाजानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको थियाे  ।