प्रकाश भट्टराई: अस्पताल प्रशासकदेखि द्वन्द्व व्यवस्थापक हुँदै चिन्तकसम्म

प्रकाश भट्टराई: अस्पताल प्रशासकदेखि द्वन्द्व व्यवस्थापक हुँदै चिन्तकसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन २९, २०७७

एउटा धार्मिक आध्यात्मिक परिवारमा सामान्य मानिसको रुपमा जन्मिएको प्रकाश भट्टराईले जीवन भोगाइका क्रममा अनेकौँ उतार चढाव खेप्नु परेको छ । नाइलनका डोरी फित्ता बनाउने बेच्ने देखि लिएर अनेकौँ प्रकारका काम तथा काम सँगसँगै त्यसले दुःख र पीडा पनि बोकेर ल्याएकाे छ । 

तर, ती पीडा लाई अनुभवका रुपमा अँगाल्दै अनि दुखी पीडितलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ अगाडि बढेर एक हदसम्मको सफलता प्राप्त गरेको नाम हो प्रकाश भट्टराई । घर, परिवार अनि समाजमा द्वन्द्व छ र द्वन्दसँगै शान्ति पनि छ, यसलाई सही समाधानको बाटो दिन जान्नुपर्छ भन्ने उद्देश्यले उहाँलाई द्वन्द्व व्यवस्थापक पनि बनायो । 

कोही मानिस असफल पनि छैन र सफलताका आफ्नै मापदण्ड छन् त्यसलाई कुन तहसम्म लैजाने भन्ने जानकारीका लागि यो उपयोगी पठनीय सामग्री हो याे जीवन कथा । 

पारिवारिक अवस्था 

उहाँको बुवा मुखिया । दाजुभाइमा कान्छो भएका कारण कान्छा मुखिया भन्थे सबै गाउँलेले । खेतीपाती, पशुपालन नै हो मुख्य पेसा त तर पनि पछि यसो बुझ्दा भने अनि सम्पन्न हो कि भने झैँ लाग्छ उहाँ भन्नुहुन्छ । सबै ढङ्गले नभए पनि केही सम्पन्न भएका कारण कान्छा मुखिया भन्ने गरेको उहाँले बताउनुभयो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०१६ सालमा भएको हो । इलाम जिल्लाको शान्तिपुरमा । उहाँको तीन दाजुभाइ अनि चार दिदी बहिनी । उहाँ भने माहिलो ।  सानोमा उहाँ पाग्रां खेल्नुहुन्थ्यो । अनि यसो पाखोतिर गएर कटुस खोज्ने, भक्केमिलो एक प्रकारको फल खोज्ने यस्तै यस्तै गरेर बित्यो उहाँकाे बाल्यकाल  भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा शान्तिपुर हाई स्कुलमा भएको हो । उहाँले त्यहाँ कक्षा तीन सम्म पढ्नुभयो । व्यवस्थापनका दृष्टिले स्कुल राम्रै थियो । बस्नलाई डेस्क बेन्चहरू पनि राम्रै थिए । मसी हालेर ब्लटिङ पेपरमा परीक्षा दिनुपर्थ्यो, उहाँ भन्नुहुन्छ ।  त्यस बेला हस्तकला भन्ने एउटा पाठ पढाइन्थ्यो । जसमा हलो जुवा बनाउने देखि लिएर घरका लागि आवश्यक अन्य सामग्री पनि बनाउन सिकाइन्थ्यो । त्यस हिसाबले गरी शिक्षाले गरी खानुपर्छ भन्ने चेत राम्रै रहेछ, उहाँ भन्नुहुन्छ । 

उहाँ फस्ट बेन्चमा बस्नुहुन्थ्यो । कक्षामा करिब बिस जना हुन्थे । त्यसमा पाँच जना जति महिला हुन्थे । पढाई करिब करिब निःशुल्क नै हुन्थ्यो, उहाँ भन्नुहुन्छ । उहाँ शान्तिपुरमा तीन कक्षासम्म पढेपछि हजुरबा तराई झर्नुभयो । झापाको शनिश्चरे । उहाँको हजुरबाको नाम कपिलमुनि । अहिले पनि शनिश्चरेमा उहाँको हजुरबाको नामले कपिलमुनि बस्ती भन्ने छँदै छ, उहाँ भन्नुहुन्छ । त्यस बेला तराइमा तोरीको फूलको रागले ज्वरो आउँथ्यो रे । त्यसैले बुवा आमाले बारीमा नजा भन्नुहुन्थ्यो रे !

तराई झरेपछि उहाँ शनिश्चरे हाई स्कुलमा पढ्न थाल्नुभयो, चार कक्षादेखि । पहिले पाटीमा लेखियो, उहाँ भन्नुहुन्छ । अनि त्यसपछि कापी र सिसा कलम । खाजा भने बासी भात खाने चलन थियो त्यसबेला । अनि त्यो पनि धेरै ठुलो मानिन्थ्यो त्यसबेला उहाँ भन्नुहुन्छ । उहाँलाई सम्झना भएसम्म सात कक्षादेखि भने उहाँलाई कसैले पहिलो, दोस्रो हुन दिएन । अनि उहाँले पनि कसैलाई तेस्रो हुन दिनुभएन । यो क्रम दश कक्षासम्म रह्यो । 

सात कक्षादेखि माथि एउटा कक्षामा करिब चालिस जना जति विद्यार्थी सङ्ख्या हुन्थ्यो । महिला विद्यार्थी भने करिब दश जना । विद्यालयमा दश रुपैयाँदेखि सुरु गरेर दश कक्षासम्म पुग्दा बिस रुपैयाँ पुग्यो उहाँ भन्नुहुन्छ । 

स्कुलमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलमा उहाँको सहभागिता राम्रै रहन्थ्यो । फुटबल ठिकै खेल्नुहुन्थ्यो । बोरामा हालेर कुदाउने, डोरीले बाधेका आलु मुखले खाने जस्ता खेलमा भने उहाँ फस्ट । भलिबल अलि ठूलाले मात्र खेल्थे उहाँ भन्नुहुन्छ । उहाँको स्वभाव सानै देखि आफू अगाडि अरु एकदुईजना आफ्ना पछाडि हुनुपर्छ भन्ने खालको रहेछ, त्यसैले केही गर्नुपर्छ भन्ने भाव सानैदेखि थियो उहाँ भन्नुहुन्छ । 

सफलता प्राप्त गर्न सबै लालायित छन् तर, त्यसका लागि उ सुपात्र हुन भने तयार देखिँदैन । त्यसकाराण मान्छेले चाहेको सफलता के हो कसरी प्राप्त गर्ने त्यसका लागि आफू कसरी तयार हुने जस्ता सन्देश बोकेर उहाँको समाजमा जाने इच्छा रहेको छ । त्यसको पृष्ठभूमि तयार गर्नका लागि उहाँ लाग्दै पनि हुनुहुन्छ । 

त्यस बेला नयाँ शिक्षा अन्तर्गत संस्कृत पनि पढ्नु पर्थ्यौ रे । संस्कृतका झा सरको स्वभाव कडा पनि । जानेन भने जे ले भेट्यो त्यसैले कुट्ने । अनि अरूको अगाडि देखाउनु पर्ने स्वभावले पनि उहाँ भने कुटाई खाइने डरले रटेरै भए पनि जानुहुन्थ्यो रे !  उहाँले २०३१ सालमा एसएलसी दिनुभएको हो । सेकेन्ड डिभिजन ल्याएर पास गर्नुभएको हो उहाँले एसएलसी भने । धन्न यसमा भने तेस्रो भइएन, उहाँ भन्नुहुन्छ । 

काठमाडौँ यात्रा

उहाँ एसएलसी दिए लगत्तै काठमाडौँ आउनु भएको हो । काठमाडौँमा दिदी भिनाजु हुनुहुन्थ्यो । भिनाजु विश्वविद्यालयमा पढाउने काम गर्नुहुन्थ्यो ।  उहाँ जनकपुर हुँदै काठमाडौँ आउनु भएको हो । जनकपुरसम्म उहाँहरूको अभिभावककाे आफ्नै लगानीको बस थियो भाडा तिर्नु परेन । जनकपुरबाट भने चौबीस रुपैयाँ तिरेर हेटौँडा हुँदै काठमाडौँ आउनुभएको हो । जम्मा एक सय चौबीस रुपैयाँ लिएर काठमाडौँ छिर्नुभएको हो उहाँ । 

हालको पुरानो बसपार्कमा बसबाट काठमाडौँ झरेको हो उहाँ । सामान्य एकदुईवटा मिनिबस देखिन्थे । दुईचार मोटरसाइकल हुन्थे । काठमाडौँ लगभग खाली नै थियो, उहाँ भन्नुहुन्छ । काठमाडौँ आधुनिक नभई सकेको सहर थियो । तर, सानो ठाउँबाट आएको मान्छेलाई खुला ठुलो ठाउँ देख्दा भने रमाइलो लाग्यो उहाँ भन्नुहुन्छ । 

उहाँको केही समय बसाई नक्सालमा दिदी भिनाजुकोमा भयो । काठमाडौँ आएको केही समय पछि रिजल्ट भयो । अनि त्यसपछि उहाँ कानुनको विद्यार्थी हुनुभयो । नेपाल ल क्याम्पसमा । दुई वर्षै आइएल अनि तीन वर्ष बिएल गरेर उहाँ पाँच वर्षका कानुनको स्नातकका रुपमा निस्कनुभयो ।  त्यसबेला अधिकृतको तलब सात, आठ सय थियो । अब त्यति पैसाले त के मात्रै गर्ने होला भन्ने लागेर उहाँलाई जागिरप्रति भने रुचि रहेन । 

काठमाडौँमा सङ्घर्षको शुरुवात

उहाँले सुरुमा आयुर्वेदिक औषधि ठाउँ ठाउँमा लगेर दिने काम गर्नुभयो । अब साधन थिएन हिँडेरै पुग्नुपर्थ्यो, उहाँ भन्नुहुन्छ ।  अनि उहाँले मेचमा राख्ने फित्ता बेच्ने काम गर्नुभयो । ढक, तराजु बोकेरै बेच्न जानुहुन्थ्यो । तर, पैसा भने त्यति आउँदैन थियो । सुरुमा बिकाउन पनि गाह्रो उहाँ भन्नुहुन्छ । तर, पछि भने एउटै मान्छेलाई चार पाँच सय किलोसम्म पनि बेचियो उहाँ भन्नुहुन्छ । अब आफ्नो काठमाडौँमा कोही नभएका कारण र बाउआमासँग पैसा नमाग्ने भन्ने प्रणका कारण यो सङ्घर्ष गरेको उहाँ बताउनुहुन्छ । 

ती सबै सामानको पनि पैसा दिए त हुन्थ्यो, उहाँ भन्नुहुन्छ । बाँकी भन्ने अनि कहिले काहीँ दुई चार सय दिएर हैरानै बनाए उहाँ भन्नुहुन्छ ।  उहाँको सुरुको कमाई दुई सय रुपैयाँ । त्यस बेला एक सयमा राम्रो पाइन्ट पाइन्थ्यो । लगाउनमा सौखिन भएका कारण उहाँले त्यस बेला पहिलो कमाइले पाइन्ट हाल्नुभयो । 

त्यसपछि उहाँले चौबिस घण्टे ड्युटीवाला काम पनि गर्नुभयो । कारण यो फित्तावाला काम लामो जाँदैन भन्ने हो । चौबिस घण्टे ड्युटीको तलब भने पाँच सय मात्रै उहाँ भन्नुहुन्छ । कम्पनी थियो नेपाल सर्पोट एजेन्सी । 

कम्पनीको काम भने मर्मत सम्भारका मान्छे लिएर गएर विदेशी बसेका घरमा गएर मर्मत गरेर आउनु पर्ने हुन्थ्यो । तर, काम गर्दा गर्दै उहाँले पछि त्यही अफिसमा सात हजारसम्म तलब पनि पाउनु भयो । 

त्यसले नभएर उहाँले डोरी बाट्ने काम थाल्नुभयो । त्यस बेला नाइलनको डोरीको प्रचलन भर्खर सुरु भएको थियो । चर्खा राखेर अनि मान्छे राखेर डोरीको काम सुरु भयो । कच्चा पदार्थ भने एक जना आफन्तको बाट लिएर आउनुहुन्थ्यो । यो सब आफैँले केही गर्नुपर्छ भन्ने स्वभावका कारण भएको उहाँ बताउनुहुन्छ । 

यी सबका बिच एक पटक बुवा आमा काठमाडौँ आउँदा उहाँले प्लास्टिक बेच्ने गरेको थाहा पाउनुभयो । अनि उहाँहरूले तँलाई खान, लाउन पुगेको छैन कि ? के को दुःख छ ?, के कारणले यो घाममा प्लास्टिक बेचेर हिँडेको ? भनेर गाली पनि गर्नुभयो । यो अभावले गरेको होइन, मेहनतले फल लाग्छ कि लाग्दैन भनेर गरेको भनेर बुवा आमालाई सन्तुष्ट पार्नुभयो । 

व्यवसायीक यात्राको उतार चढाव

यो डोरीको काममा पनि धेरै उधारो भएका कारण यसलाई पनि त्यागेर उहाँ सानोतिनो निर्माणको काममा लाग्नुभयो । त्यस बेला निर्माणको काम गर्ने नेवार समुदाय हुन्थे । उनीहरू भोज, जात्रा पर्वका कारण नियमित काममा आउँदैन थिए । त्यस्तो बेलामा पनि घर घरमा गएर मान्छे लेराएर उहाँले काम सम्पन्न गराउनुभयो । त्यसले जीवन केही अगाडि बढ्यो । निर्माणमा काम गर्दा इन्जिनियर देखि सरकारी कार्यालयका अरु मानिसहरूसँग पनि भेटघाट र  चिनजान भयो । एउटा अर्को अनुभव थपियो उहाँ भन्नुहुन्छ । 

यसै मेसोम पूर्वतिरको एक जना चिनजानका मानिससँग भेट भयो । जसले काठमाडौँको क्षेत्रपाटीमा नेशनल हस्पिटल खोल्नु भएको रहेछ । अनि त्यहाँ ओषधि पसलको लागि एउटा ठाउँ दिनुस् त भन्ने कुरो भयो । अनि सुरु भयो अर्को काम औषधि पसलको । नाम थियो मंगलश्री । आफ्नै गुरुको नाममा । 

अनि औषधि बेच्ने तालिमवाला मान्छे ल्याउनुभयो झापाबाट । भाइलाई पनि तालिम गराउनुभयो । पछि नेशनल हस्पिटल काठमाडौँ मेडिकल कलेजमा गाभियो । र, केही समय पछि सिनामंगलमा सर्‍यो । अनि भाइहरूलाई औषधि पसल तिमीहरू नै चलाऊ भनेर छोड्दिनुभयो । 

नेशनल हस्पिटल चलाउँदा उहाँ असिस्टेन्ट डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्थ्यो । अनि उहाँ पनि नेशनल हस्पिटलसँगै काठमाडौँ मेडिकल कलेजमा गाभिनुभयो  र, संस्थापक शेयर सदस्यका हैसियतमा उहाँले प्रबन्धकका रुपमा सेवा प्रारम्भ गर्नुभयो ।  प्रबन्धकका रुपमा उहाँले चारदेखि पाँच वटा विभागको काम हेर्नुहुन्थ्यो । उहाँले काठमाडौँ मेडिकल कलेजमा अठार वर्षसम्म सेवा गरेर सिइओ भन्दा एकतह मुनिको पदबाट अवकाश प्राप्त गर्नुभएको हो । 

यो अवधिमा देशमा कस्ता आर्थिक स्थिति भएका मानिस छन्, कस्ता किसिमका रोग लागेको छ र तिनलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा उहाँको मुख्य सरोकार रहने गरेको थियो । 

प्रशासन पनि हेर्ने भएका नाताले यसमा उहाँको चासो पनि रहने गथ्र्यो । र, कहिले काहीँ उपचारमा आएका पैसा नभएका मानिसलाई मेरो गाउँको मान्छे भनेर समेत सहयोग पुर्‍याउनु भएको छ । तर, कसैलाई सेवा गरेबापत त्यसका बदलामा आफ्ना कुनै स्वार्थ वा आफूलाई ठालु ठानोस् भन्ने आफ्नो कुनै चाह नरहेको समेत उहाँले प्रस्ट्याउनु भयो । 

यो अठार वर्षमा उहाँले अस्पतालमा प्रशासनमा आउने समस्या, युनियनका समस्या लगायत अन्य स्थानीय तहमा हुने समस्या र द्वन्द्वकालका समयमा आएका हरेक समस्यालाई समाधान गर्दै द्वन्द्व व्यवस्थापनका विषयमा नपढे पनि एउटा द्वन्द्व व्यवस्थापन विज्ञको उपाधि पनि प्राप्त गर्नुभयो । कर्मचारीदेखि अस्पतालमा अन्य कसैलाई सम्झने र सुझाउने व्यक्तित्वका रुपमा उहाँ स्थापित हुनुभयो । 

अब यो जागिरे कर्मबाट अवकाश प्राप्त गरेपछि समाजका लागि उपयोगी हुने किसिमको काम गर्ने सोचमा हुनुहुन्थ्यो उहाँ, तर यसै बिचमा बि एन्ड बि अस्पतालले द्वन्द्व व्यवस्थापनका लागि काम गर्ने यस्तै मान्छेको आवश्यकताको रुपमा उहाँलाई देख्यो र नियुक्त गर्‍यो अनि उहाँ फेरी जागिरे हुनपुग्नुभो । उहँ अहिले बि एन्ड बि अस्पतालको प्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ । 

थुप्रै सामाजिक सङ्घसंस्थामा उहाँको संलग्नता रहेको छ । तर, समय अभावका कारण उहाँले धेरै संस्थामा रहेर काम गर्न भने पाउनु भएको छैन । सम्मान तथा पुरस्कारका हकमा पनि यस्तै हो । उहाँलाई थुप्रै सामाजिक सङ्घ संस्थाले सम्मानित गरेका छन् । तर, आफू संलग्न संस्थामा भने आफैँ व्यवस्थापनमा भएका कारण कतिपय गुमाउनु परेको पनि उहाँको भोगाइ छ । उहाँले ती सम्मान तथा कदरपत्रलाई अहिले पनि घरमा देखाएर राख्ने गर्नु भएको छैन । कारण कसैले यसले देखायो भन्छ कि भन्ने उहाँको चिन्ता रहेछ

विवाह

उहाँको विवाह २०४१ सालमा भएको हो । प्रेम विवाह । उहाँ कृष्ण प्रणामी सम्प्रदायको परिवारबाट एउटा संस्कार बोकेर आएको मानिस तर, विवाह भने ब्रिटिस लाहुरेको परिवारको गुरुङको छोरीसँग भयो । यस सन्दर्भमा उहाँको आफ्नै भनाइ छ, विवाह, जन्म, मृत्यु जस्ता कुराहरू पहिल्यै नै तय भएर आएका हुन्छन् । उहाँको एउटा सन्तान छ । छोरा । आफ्नै व्यवसाय गर्दै हुनुहुन्छ उहाँ । 

अध्यात्ममा रुचि

सङ्ग्रहका रुपमा उहाँका प्रकाशन नआए पनि अध्यात्म सम्बन्धी लेखनमा उहाँको रुचि रहेको छ । त्यस विषयमा उहाँले लेख्नु पनि भएको छ ।  हाम्रा सामाजिक मान्यता कस्ता छन् । सफलता प्राप्त गर्नका लागि के गर्नुपर्छ । असफल नै भए पनि कसरी आफूलाई सम्हाल्ने जस्ता विषयमा कलम चलाउने उहाँको सोच छ, जसले समाजमा केही न केही योगदान गरोस् । 

प्रकृतिले पैदा गरेका र जसको धार्मिक तथा आध्यात्मिक महत् वका बस्तु छन् त्यसमा उहाँको गहिरो रुचि रहेको छ । जसमा शालिग्राम तथा रुद्राक्ष पनि पर्दछ । उहाँ विगत चौध वर्षदेखि रुद्राक्ष निरन्तर धारण गरिरहनु भएको छ । जसले इनर्जी दिने काम गर्छ भन्ने उहाँको मान्यता छ । साथै प्रणामीले रुद्राक्ष धारण गर्नुहुँदैन भन्ने मान्यता उहाँको कहिल्यै पनि रहेन । 

प्रकृतिले यस्ता चिज किन बनाए ? हाम्रो लागि बनाएको हो वा अरु नै केही हो ? कतै हामीले नबुझेका त होइनौँ ? हाम्रो जीवनमा राम्रो अनि नराम्रोको द्वन्द्व किन छ ? इनर्जीको फ्लो के हो ? आकर्षणका सिद्धान्तहरू के हुन आदि जस्ता विषयमा उहाँलाई घोत्लिन मन लाग्छ । 

अनि यस्ता विषयमा नयाँ पिँढीलाई सम्झाउने मन पनि छ उहाँको । मनुष्य आफैंमा उत्कृष्ट अनि खराब हो । खराब बन्ने चिज पनि आफैँ भित्र छ र असल बन्ने चिज पनि आफैँ भित्र छ । अन्तर केवल रोजाइको हो । कुन बाटो रोज्ने त्यो भने आफैँमा भर पर्ने पनि बताउनु हुन्छ उहाँ । 

उहाँको अबको सोच भनेको सतहत्तरै जिल्लामा गएर यी र यस्ता सन्देश फैलाउने तथा कोही घर परिवार आदिमा बेमेल छ, समस्या छ भने त्यो समाधानका लागि लागिपर्ने छ । 

सफलता प्राप्त गर्न सबै लालायित छन् तर, त्यसका लागि उ सुपात्र हुन भने तयार देखिँदैन । त्यसकाराण मान्छेले चाहेको सफलता के हो कसरी प्राप्त गर्ने त्यसका लागि आफू कसरी तयार हुने जस्ता सन्देश बोकेर उहाँको समाजमा जाने इच्छा रहेको छ । त्यसको पृष्ठभूमि तयार गर्नका लागि उहाँ लाग्दै पनि हुनुहुन्छ । 

ईश्वरप्रति भरोसा राखौँ, अमूल्य मानवीय जीवनको दुरुपयोग नगरौँ, सम्बन्धको दुरुपयोग नगरौँ तथा प्रायः मानिस प्रताडित भएर मृत्युवरण गर्न पुगेको छ । सहज ढङ्गले मृत्यु प्राप्त गर्नतिर मानिसको कर्म, भाव तथा उद्देश्य हुनुपर्छ भन्ने उहाँको सोच रहेको छ । 

अन्त्यमा  

हरेक मानिस जन्मन्छ, जन्मेपछि मृत्यु अवश्यम्भावी छ । यस्तो सत्य अनि शाश्वत चिजबाट मानिस भाग्ने गरेको छ । सकभर मानिस मर्न चाहँदैन । तर पतन मृत्यु यथार्थ हो अनि कटु सत्य । यही यथार्थ अनि कटु सत्यलाई कसरी सहज रुपमा लिने भन्ने कुरा मानिसको प्राथमिकतामा पर्नुपर्छ भन्ने कुरा उहाँको यस जीवन भोगाइबाट सिक्न सकिने पाठ हो ।