उद्देश्य अनुसार काम भयो कि भएन !? चिन्ता काठमाडौँ शिक्षा क्याम्पस स्थायित्वको !

फेरि फर्कलान् र ती दिनहरु

उद्देश्य अनुसार काम भयो कि भएन !? चिन्ता काठमाडौँ शिक्षा क्याम्पस स्थायित्वको !

हरिविनोद अधिकारी  |  साहित्य  |  फाल्गुन २९, २०७७

म जब जब अतीतको यात्रामा निस्कन्छु धेरै अविस्मरणीय क्षणहरु आउने नै भए । तर पनि कुनै कुनै घटनाहरु ख्याल ख्यालमा सुरु भएर ऐतिहासिक पनि हुने रहेछन् । त्यस्तोमा पर्ने दुईओटा शैक्षिक संस्थाको स्थापनामा म जोडिनु नै हो । त्यो बेलामा मेरो उपस्थिति जरुरी थियो होला र म त्यहाँ जोडिन पुगेँ । पहिलो घटना हो नेपाल शिक्षक संघको स्थापना र अर्को हो काठमाडौँ शिक्षा क्याम्पसको स्थापना । नेपालमा २०३५सालको अन्तिमतिर एउटा पुनर्जागरण सुरु भयो शिक्षकहरुका लागि किन कुनै नयाँ संगठनको आवश्यकता महसुस नगर्ने ? म पनि शिक्षक पेसामा भर्खरै प्रवेश गरेको अनि विद्यार्थीकालमा नेपाल विद्यार्थी संघमा नेतृत्व गरेर प्रतिवन्धित नेपाली काँग्रेसप्रति समर्पित एउटा कार्यकर्ताको रुपमा आफूलाई सक्रिय पार्दैथिएँ । त्यही बेलामा म सानोठिमी क्याम्पसबाट व्यवसाय शिक्षामा स्नातक तह उत्तीर्ण गरेर काठमाडौँ जिल्लाको साँखुस्थित भाग्योदय माध्यमिक विद्यालयमा लेखा विषयको माध्यमिक शिक्षकमा सेवा गर्न थालेको थिएँ २०३५ साल असोजदेखि ।

तत्कालीन नेकपा मालेको भूमिगत संगठनले सुरु गरेको शिक्षक वर्गको गोलबन्दसँगै हामी पनि बाध्यतावश त्यही संगठनमा सक्रिय हुन थाल्यौँ र शिक्षकहरुका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन दर्ता गर्ने र त्यसैको झण्डामुनि बसेर शिक्षकका लागि हितसम्बन्धी काम गर्न आन्दोलन गर्ने निधो गरियो र आन्दोलनले मूर्तरुप लियो र सर्वप्रथम स्थायी शिक्षकहरुको तलबमा सञ्चय कोषको व्यवस्थाको सम्झौता गरिएको  थियो । हाम्रो शिक्षक आन्दोलनसँगै जस्तो विद्यार्थी आन्दोलन चर्कँदै थियो, शिक्षक आन्दोलनले पेसागत कुरा गर्दै थियो भने विद्यार्थी आन्दोलनले राजनीतिक स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा आन्दोलन चर्काउँदै थियो । त्यो आन्दोलनको सुरुवात पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोको फाँसीकोक विरुद्धमा पाकिस्तान दूतावासमा विरोध पत्र दिन गएको बेलामा प्रहरी दमन भएकोले त्यही निहुँमा चर्कन थालेको थियो । पछि त्यो शैक्षिक माग अनि राजनीतिक मागमा गएर चर्कँदै थियो भने शिक्षकहरुको आन्दोलन पेसागतरुपमा अगाडि बढेको थियो । 

अन्तर्यमा जे भए पनि हामी विद्यार्थी आन्दोलन र शिक्षक आन्दोलन दुवैमा उत्तिकै सक्रिय थियौँ । हामीले बुझेका थियौँ राजनीतिक धार कतातिर जाँदै थियो तर त्यस्तो अवस्थामा आन्दोलन हुँदै थियो कि त्यसको विरोध गर्नु उचित थिएन र विरोध गर्ने तर्कले काम गरिरहेको थिएन । तर थियो त्यो आन्दोलनले नयाँ दिशाको खोजी गरिरहेको बुझिन्थ्यो । नेपाल राष्ट्रिय शिक्षक संगठनबाट हामीले कसरी नेपाल शिक्षक संघको स्थापना गर्‍यौँ र म कसरी त्यो नव स्थापित संस्थाको सचिव भएँ अनि त्यो नयाँ संघ कसरी नेपाली समाजमा स्थापित हुन सक्यो र आजसम्म पनि स्थापित छ, त्यसवारेमा कुनै प्रसङ्गमा लेखौँला । यो पटकलाई अविस्मरणीय तर सामान्य घटनाबाट खोलिएको क्याम्पस काठमाडौँ शिक्षा क्याम्पसको वारेमा आफ्ना स्मृति लेख्दैछु ।  

मैले पद्मोदय माविको भवनमा सञ्चालित विस्तार क्याम्पसमा आफ्नो स्नातकोत्तर कक्षा सम्पन्न गरेको थिएँ र पछि त्यसको नाम पनि शिक्षा क्याम्पस भएको थियो र अन्त्यमा गएर त्यो विस्तारित क्याम्पस महेन्द्र रत्न क्याम्पस ताहाचलमा समाहित भयो । हामीले पछि स्नातकोत्तरको प्रमाणपत्र लिँदा महेन्द्र रत्न क्याम्पस, ताहाचलको नाममा लियौँ । अनि एउटा मनको कुने कुनामा के रहेछ भने एउटा शिक्षाका लागि मात्र उदाहरणीय क्याम्पस स्थापना गर्न पाए असल शिक्षकहरुको उत्पादन गर्न सकिन्थ्यो । कल्पना गर्न, सपना देख्न सबैलाई सबै बेलामा छुट हुन्छ, त्यस्तै मलाई पनि त्यो सपना देख्न छुट थियो । त्यसका लागि एक्लो प्रयास गर्ने कुनै चाँजो पनि परेको थिएन र सरकारले शिक्षाका लागि सरकारी प्रयासबाहेक कुनै क्याम्पस दिएको पनि थिएन । यो कुरा मनमा मात्र रहेको थियो । अर्को कुरो पनि थियो मनको भित्री कुनामा-किन सबै जसो शिक्षा क्याम्पसमा साम्यवादीहरु मात्र उत्पादन हुन्छन् ? अर्थात् विद्यार्थी युनियनको निर्वाचनमा किन अनेरास्ववियुले मात्र जित्छ ? के शिक्षकहरु हुनका लागि त्यो संगठनमा जानु आवश्यक छ ? या के हो ? थाहा त थिएन तर शिक्षक भइसकेको अवस्था भएकाले मेरा मनमा नेपाल विद्यार्थी संघले पनि  जित्ने शिक्षा क्याम्पस हुनु अनिवार्य त थियो तर एक्लो मनमा उठेको तरङ्गले मात्र आत्मतुष्टि दिने हो । कुनै प्रयास किन पनि गरिएको थिएन भने परिवेशले साथ दिएको पनि थिएन र साथको पनि कुरा मिलेको थिएन जस्तो भनौँ ।

भविष्यको पनि चिन्ता गर्नुभन्दा योजना गरेर त्यसलाई समयानुकूल सरोकारवालाहरुसँग समन्वय गरी कार्यान्वयन गर्दै जानु नै रजत जयन्तीमा आफैसँग गर्ने अपेक्षा हो । हामी सबै सरोकारवालाहरु यस्का लागि तयार होऔँ र यो क्याम्पसलाई नेपालको एउटा नमुना संस्थाको रुपमा विकसित गरौँ ।  संस्था सबैको हो , समुदायको पनि हो, सरकारको पनि हो र सिप भएका जनशक्तिका लागि त झन हो । हातेमालो गरेर अघि बढौँ भविष्यको अनन्त यात्रामा । 

भन्छन् नि, त्यस्तो सोच्ने अरु पनि हुन्छन् र त त्यस्ता स्वैरकल्पनाहरुले पनि एकदिन मूर्तरुप लिन्छन् । नभन्दै एउटा त्यस्तो दिन अचानक आयो २०४७साल साउन ६ गते दिउँसो । मातातीर्थको वनमा । बीपी स्मृति दिवसका दिन हामी बृक्षरोपणका लागि मातातीर्थको माथिल्लो भागको वनमा गएका थियौँ तत्कालीन संविधान सुधार आयोगका  सदस्य दमननाथ ढुँगानाजीसँग होमनाथ दाहाल दाजु र म । त्यहाँ भर्खरै त्रिभुवन विश्वविद्यालयको प्रोक्टर बन्नुभएका साथी प्रेमनारायण अर्याल पनि त्यहाँ बृक्षरोपणका लागि आउनु भएको थियो प्रोक्टरका लागि दिएको मोटर  साइकलमा । मेरो भेट भयो त्यो भिडमा तर आत्मीय साथी भएकाले र नयाँ प्रोक्टर नियुक्ति पछि भेटेकोले वधाइ दिएँ अनि सँगै दिउँसभरि मातातीर्थको वनमा विरुवा रोप्दै रह्यौँ ।

अचानक हाम्रा बिचमा एउटा विषयमा छलफल सुरु भयो एउटा शिक्षक तालिमका लागि क्याम्पसको निर्माण । पहिले यो प्रस्ताव कसले ग¥यो भनेर अब हामी  समय खेर फाल्न यसकारणले चाहँदैनौँ किनभने त्यो संस्था स्थापना भइकन आज एउटा स्थापित शैक्षिक संस्थाको रुपमा नेपाली समुदायमा विद्यमान छ । मेरो भित्री चाहना थियो , त्यस्तो ठाउँमा खोलौँ जहाँ धेरै प्रजातन्त्रवादीहरुको जमात फेला पार्न सकियोस् र प्रेमजी र मेरो समस्या के थियो भने हामी काठमाडौँमा कार्यरत थियौँ । प्रेमजी भर्खरै जस्तो वीरगंजबाट सरुवा भएर नयाँ जिम्मा लिएर आउनु भएको थियो र म कीर्तिपुरस्थित लेबोरेटरी माविमा अध्यापनरत थिएँ र भर्खरैजस्तो नेपाल शिक्षक  संघ स्थापना गरेर त्यसको सचिव भएको थिएँ ।

अनि पुरुषोत्तम दाहालको संयोजकत्वमा मसहितका साथीहरु मिलेर हामीले भर्खरैजस्तो रेडियो नेपालमा रेडियो कार्यक्रम सुरु गरेका थियौँ , पछि त्यही कार्यक्रम घटना र विचारका नाममा प्रख्यात भएको थियो । मेरो र प्रेमजीको मनमा त्यो कल्पना यति धेरै बुनिएको रहेछ कि हाम्रो प्रयास तत्कालै सुरु गर्ने निधो भयो र हामी उहाँकै मोटर  साइकलमा तीनधारा पाकशाला आयौँ संस्कृत पाठशालाको छात्रावासमा जहाँ हाम्रो अर्को साथी यज्ञप्रसाद दाहाल सुपरिवेक्षक हुनुहुन्थ्यो र संस्कृत माविमा शिक्षक पनि । 

हाम्रो चाहनाले अचानक मूर्तरुप यसरी लियो हाम्रा निरन्तर छलफल र बहस पछि  हामी बाल्मीकि विद्यापीठका प्राचार्य माधव भट्टराईजीको कार्यालयमा गयौँ किनभने हाम्रा लागि स्थान संस्कृत मावि नै उपयुक्त हुन्थ्यो । त्यसको लागि उहाँको अनुमति जरुरी थियो र सहयोग पनि  जरुरत थियो । अनि हामी (प्रेमजी र म ) शिक्षाकै प्राध्यापक हेमाङ्गराज अधिकारीजीको घरमा गयौँ र त्यो शिक्षा क्याम्पसको स्थापनाका लागि कसरी अगाडि बढ्ने भन्ने सल्लाह गर्‍यौँ । प्रेमजी प्रोक्टर भएकाले र तत्कालीन उपकुलपति प्राध्यापक बीसी मल्ल र उहाँका सल्लाहकार सौभाग्यजङ्ग कार्कीसँग हाम्रो राम्रो सम्पर्क भएकाले अनि विश्व विद्यालयका शिक्षकहरुको सम्पर्क प्रेमजीको धेरै हुने भएकाले हामीले सुरुमै त्यो क्याम्पस समुदायका लागि खोल्ने विचार गरेका थियौँ ।

यसरी क्याम्पसको स्थापनामा प्रेमजी, म, हेमाङ्ग दाइ, माधव दाइ र  यज्ञप्रसाद दाहाल स्थापनाकालमा सहजकर्ता भयौँ । अनि हामी नेपालका पहिला बी एड गुरु राजेन्द्रकुमार रोँगोँगकोमा गयौँ हाम्रो प्रयासमा सहयोग गर्न र भावी दिनमा त्यो शिक्षा क्याम्पसको अध्यक्षता गर्नका लागि । नभन्दै क्याम्पस दर्ताका लागि हामीले करिब ३३ जना शिक्षकहरुको सहयोगमा पहिलो शिक्षा क्याम्पसका लागि त्रिभुवन विश्व विद्यालयमा निवेदन दियौँ र त्यो निवेदनका आधारमा संस्था दर्ता भयो २०४८साल वैशाख १५ गते काठमाडौँ शिक्षा क्याम्पसका नाममा । त्यसपछि शैक्षिक संस्थाहरु वहुदलीय व्यवस्था पुनस्र्थापनापछिको पहिलो आम निर्वाचनका लागि विदा सुरु भयो । यसरी नेपालको शैक्षिक इतिहासमा त्यो पहिलो समुदायस्तरमा खुलेको शिक्षा क्याम्पस हुन पुग्यो काठमाडौँ शिक्षा क्याम्पस । विभिन्न नामहरुको वारेमा छलफल भए पनि तत्कालीन काठमाडौँ भ्याली क्याम्पसका संस्थापक तथा पछि गएर काठमाडौँ विश्वविद्यालयका संस्थापक  उपकुलपति सुरेशराज शर्मासँग मदन स्मारक विद्यालयका गएर सल्लाह गरेपछि संस्थाको नाम काठमाडौँ शिक्षा क्याम्पस नै राख्ने निधो गर्‍यौँ । अहिले त्यही क्याम्पस समयको मागसँगै वहुमुखी क्याम्पस भएको छ र समुदायको क्याम्पसको रुपमा चन्द्रागिरि नगर पालिकाको वार्ड नंबर १५ स्थित सतुंगलमा गर्वसाथ ठडिएको छ ।  

गुणस्तरीय शिक्षाका लागि शिक्षक प्रशिक्षक भन्ने हाम्रो धारणामा अहिले पनि हामी अडिग छौँ र अहिलेका क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताले अरु कार्यक्रमहरु पनि थप्नु भएको छ । 

मैले क्याम्पसको रजत  जयन्ती, २०७३मा क्याम्पसको मुख पत्र शिक्षा शास्त्र सौरभमा लेखेको रहेँछु - हामीले क्याम्पस स्थापनाको प्रयास गरेको २६ वर्ष भएछ र क्याम्पस दर्ता भएर पठन पाठन गर्न थालेकोचाहिँ २५ वर्ष भएछ । वास्तवमा २५ वर्ष थोरै पनि लाग्दो रहेछ एउटा सँस्थाका लागि । तर हामीचाहिँ बुढा हुन लागेछौँ । तर पनि क्याम्पसको भविष्य कस्तो हुनुपर्छ भनेर सोच्ने बेला पो आएछ अब । 

शिक्षक शिक्षामा परम्पराको पुनरावृत्ति गर्ने कि नयाँ सोचलाई अघि बढाउने भन्ने द्विविधा जहिले पनि हुने रहेछ । औपचारिक शिक्षाका आफ्नै मानक र आचार संहिता हुने रहेछन् । एउटा सीमारेखा कोरिएको हुँदो रहेछ । भर्ना, नियमित सिकाइ, आन्तरिक मूल्याङ्कन, बाह्य परीक्षा , नतिजा प्रकाशन, परिणाममा कुन श्रेणी अनि भावी  दिनमा रोजगारीको खोजी । हामी पनि त्यही दुश्चक्रमा छौँ औपचारिकताको वरिपरि । नेपाली परिवेशमा । जाँच उत्तीर्ण गरेकोमा नै प्रशिक्षण पूरा भएको सोचेर । यसरी हजारौँले स्नातक तह  उत्तीर्ण गरे अनि सैयौँले स्नातकोत्तर तह । को को कहाँ छन् पनि थाहा छैन अनि हाम्रै दीक्षाको प्रेरणाले समाजको सेवा गर्दैछन् कि हामीलाई सराप्दै छन् थाहा छैन । थाहा पाउनै पर्ने आवश्यकता पनि हामीले महसुस गरेका छैनौँ । सायद अक्सफोर्ड, क्याम्ब्रिज वा हार्बर्ड र हाम्रा बिचको फरक पनि त्यही होला , आफ्नो उत्पादनका वारेमा वास्ता गर्ने वा नगर्ने , अनि आफ्ना उत्पादनको बजारीकरण गर्ने कि नगर्ने ?

अरुभन्दा बेग्लै केही गर्नका लागि पनि समय, साधन र जनशक्तिको कुरो आउँदो रहेछ, जनशक्तिलाई यथोचित सुविधाको कुरो आउँदो रहेछ । सामुदायिक क्याम्पसहरुको समस्या भनेको समय र श्रोतको पनि हो रहेछ । नयाँ केही गर्ने भनेको समाजको मागसँगै हुनुपर्ने आपूर्तिको कुरो पनि रहेछ । सहजताका साथ समाज चलिरहेको छ भने त्यहाँ नयाँ नयाँ प्रवर्तन गरेर झन्झट गरेको अर्थ पनि लाग्दो रहेछ । नव प्रवर्तनले समाजलाई नयाँ डोरेटोमा जान प्रेरित गर्दोहोला पक्कै । खासगरी शिक्षा शास्त्रको पठन पाठनमा देखिएको कमीले नै आजको शिक्षाको यो हाल भएको हो भनेर कसैले टिप्पणी गरेमा हामीले त्यसलाई स्वीकार गर्नु बाहेक अर्को उपाय छैन । यी २५ वर्षमा हामीले केही गर्न खोज्यौँ शिक्षक शिक्षाका बाटोमा तर ती नेपालको शिक्षक प्रशिक्षणमा नितान्त प्रयोगका रुपमा राख्न बाध्य भयौँ जबकि हामीले गरेको प्रयास नै शिक्षक शिक्षाका मानक हुनुपथ्र्यो । समाजले त्यसलाई नयाँ बाटोको रुपमा स्वीकार गरेको भए कर पनि लाग्थ्यो निरन्तरताका लागि पनि ।

अबको हाम्रो चिन्ता भनेको काठमाडौँ शिक्षा क्याम्पसको स्थायित्वको हो । यसले लिएको उद्देश्य कति पूरा भयो भएन भन्ने समीक्षा गर्ने र भावी बाटो तयार गर्ने हो । यस क्याम्पसका संस्थापक अध्यक्ष आदरणीय गुरु प्राध्यापक डाक्टर राजेन्द्र कुमार रोंगोगले भनेजस्तै नेपालीहरुलाई बाँच्ने कला सिकाउन यो सँस्था अनवरत लाग्न सक्नुपर्थ्यो । त्यस्तो गुरु योजना तयार गर्नुपर्‍यो । त्यसका लागि समुदाय र सरकारको सहयोग अपरिहार्यरुपमा अपेक्षित हुन्छ संस्थाको उद्देश्य पूरा गर्नका लागि । समाजको माँग पूरा गर्नका लागि । र त्यसको नतिजा पर्खेर ठीक बेठीक भन्नका लागि । 

सामुदायिक क्याम्पसको परिभाषा नै स्पष्ट छैन । हामी केही उत्साही व्यक्तिहरुले क्याम्पस स्थापना गरेर, नाफा नोक्सानको कुरा नगरी जे जे छ क्याम्पसकै खातामा रहोस् भनेर, अनि जनताका छोराछोरीलाई सस्तोमा पढाउनु नै सामुदायिक हुनुको अर्थ हो कि समुदायलाई परिचालन गरेर समाजको आवश्यकता पूरा गर्ने दायित्व हो ? सहरमा सामुदायिक भनेको समूहले चलाउने र गाउँमा सामुदायिक भनेको गाउँलेले चलाउने अर्थमा लिने हो ? हामी त्यहाँ कहाँनिर छौँ ? अझै स्पष्ट छैन । हामी पब्लिक क्याम्पस संघमा आबद्ध छौँ , त्यसैअनुसार विश्व विद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गछौँ, त्यसैले सामुदायिक क्याम्पस भएका हौँ कि ? अबचाहिँ हामीले पनि बाटो स्पष्ट गर्नु जरुरी छ । हाम्रो क्याम्पस निजी त होइन तर त्रिभुवन विश्व विद्यालयको भाषामा त निजीस्तरमा दर्ता लिएकोले निजी वा प्राइभेट क्याम्पस नै हो । परिस्थितिअनुसार नीति पनि बदलिएला र भोलि त्यही अनुसार होला । 

हामीले हिजोका दिनमा एउटा गुणस्तरीय शिक्षक प्रशिक्षणका लागि संस्थाको आवश्यकता ठान्यौँ । खोल्यौँ सबैको सहयोगले । अरु जस्तै हामी पनि शिक्षकको रुपमा स्थापित भयौँ । पढायौँ, काम गर्‍यौँ, पारिश्रमिक लियौँ । सामुदायिकताको कुरा उठ्यो, सक्रियता कम गरे पनि निष्क्रिय रहेनौँ । तर पनि भावी दिनमा कसरी क्याम्पस चलोस् भन्ने चिन्ता लिनु पर्ने सायद हामीले नै  हो । पहिलो कर्तव्य क्याम्पसको उद्देश्यअनुसार काम भयो भएन भन्ने हो । औपचारिक शिक्षामा पहिलो कामचाहिँ कक्षा सम्पन्न गराई विद्यार्थीहरुको परीक्षामा आउने नतिजाको नै कुरो हुँदोरहेछ । त्यसका यी २५ वर्षमा २ पटक त्रिविको बी एड् मा उत्कृष्ट नतिजा आएको हो । एम एडका वारेमा स्पष्ट किन हुन सकिएन भने शोधपत्रका कारणले नतिजाको सही आँकलन हुन सकेन । तर पनि प्रथम श्रेणीमा उत्तीर्ण हुनेका संख्या थुप्रै देखिन्छ , राम्रै छ नतिजा ।

हाम्रो काम अब भावी दिनमा शिक्षक शिक्षाका वारेमा नयाँ नयाँ अनुसन्धान गराई बाटो देखाउने काम गर्नु पर्ने जस्तो छ । हुनसक्छ, भावी दिनमा शिक्षाको मात्र विशिष्ट विश्व विद्यालयको परिकल्पना गर्नु पनि मनासिब नै हुनेछ । तर साधन र श्रोत सङ्कलन गरी  परिचालन गर्ने कुरा जरुरी छ ।

रजत जयन्तीसम्म आउँदा एउटा कुरा स्पष्ट भएको छ , हाम्रो प्रयास पुगेको छैन । शिक्षक शिक्षा भनेको समाजको माग अनुसार हुनु जरुरी छ । समाजका प्रबुद्ध वर्ग निजी लगानीका विद्यालयमा बच्चा भर्ना गर्ने अनि जागिरका लागि चाहिँ सरकारी अनुदानका विद्यालयमा जाने प्रचलन देखिन थालेको छ । अर्थात् सरकारी लगानीका विद्यालयमा मात्र शिक्षक प्रशिक्षित हुनुपर्ने तर त्यहाँको शिक्षाप्रति भने विश्वस्त नहुने चलन देखिएको छ । अबको हाम्रो प्रयास भनेको त्यस्ता शिक्षकको वा प्रशासकको उत्पादन गर्ने हो जसले सरकारी अनुदान प्राप्त विद्यालयको स्तरलाई शिक्षकको रुपमा वा शैक्षिक प्रशासकको रुपमा भए पनि स्तरवृद्धिमा लाग्न सकून् ।

संस्थापकको रुपमा, शिक्षकको रुपमा, सञ्चालकको रुपमा जुन रुपमा भए पनि मेरो दायित्व भनेको यो संस्थाको भावी स्वरुप नेपालको शिक्षक शिक्षाको लागि अग्रणी संस्था बनिरहोस् भनेर अनवरत लाग्नु नै हो । गर्ने त अहिलेको युवाले हो जो अहिले पनि कार्यरत हुनुहुन्छ र भावी दिनमा यो संस्थामा जोडिन आउनेवाला हुनुहुन्छ । 

भूतकाल त विती सक्यो, वर्तमान पनि यो लेख्दालेख्दै भूतकाल भइसक्यो । अब समय त भविष्यको मात्र छ । भविष्यको पनि चिन्ता गर्नुभन्दा योजना गरेर त्यसलाई समयानुकूल सरोकारवालाहरुसँग समन्वय गरी कार्यान्वयन गर्दै जानु नै रजत जयन्तीमा आफैसँग गर्ने अपेक्षा हो । हामी सबै सरोकारवालाहरु यस्का लागि तयार होऔँ र यो क्याम्पसलाई नेपालको एउटा नमुना संस्थाको रुपमा विकसित गरौँ ।  संस्था सबैको हो , समुदायको पनि हो, सरकारको पनि हो र सिप भएका जनशक्तिका लागि त झन हो । हातेमालो गरेर अघि बढौँ भविष्यको अनन्त यात्रामा । 

आज संस्थाको आफ्नै भवन भएको छ र यो भवन बनाउने कुरामा सबैको सहयोग उत्तिकै छ । विश्वविद्यालय अनुदान आयोग, वाग्मती प्रदेश सरकार, चन्द्रागिरि नगर पालिका, शिक्षक, विद्यार्थी र समुदाय सबैको प्रयास स्तुत्य छ र पनि यसको श्रेय हामीले निरन्तर खटिरहने र हाम्रो कल्पनाको सरस्वतीको मन्दिरलाई मूर्तरुप दिन र मुलुकका लागि एउटा स्थायी संरचना भएको क्याम्पसको अस्तित्वकालागि खट्ने क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्तालाई सह्राहना नगरी रहन सकिँदैन । हाल क्याम्पसको आफ्नो भवन अरु पनि बन्दैछन् । हामीले २०५५सालतिर किनेको करिब ३ रोपनी जग्गामा त्यो संरचना बनिरहेको छ । 

हामीले त्यो संस्था स्थापना गरे पनि त्यो समुदायको हो र समुदायको सम्पत्तिकै रुपमा रहने छ । हालसम्म सो क्याम्पसमा क्याम्पस प्रमुखका रुपमा संस्थापन कालका प्रमुखमा प्रेमनारायण अर्यालज्यू, त्यसपछि माधव भट्टराईज्यू, राजेन्द्रकुमार रोँगोँगज्यू(स्वर्गीय), म हरिविनोद अधिकारी, महेश्वर न्यौपानेज्यू, उत्तम भट्टराईज्यू, केशवराज पौडेलज्यू र हाल ९ वर्षदेखि शत्रुघ्नप्रसाद गुप्ताज्यू हुनुहुन्छ । 

एउटा  संस्थाको जीवनमा उतारचढाव आउँछ नै र त्यससँग गाँसिएका नेतृत्वदायी वर्गसँग ती कुराहरु जोडिन्छन् । यसमा जे जे भए पनि संस्थाको प्रगतिका लागि व्यक्ति गौण हो । हाल संस्थापक क्याम्पस प्रमुख प्रा डा प्रेमनारायण अर्यालजी पोखरा विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । माधव सर क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुुनुहुन्छ , हेमाङ्ग सर उपाध्यक्ष हुनुहुन्छ र म अझै पनि पढाउँदै छु क्याम्पसमा ।

वास्तवमा एउटा कालखण्डमा कुनै महत्वाकांक्षाविना नै एउटा संस्थाको स्थापना भएको थियो र त्यो संस्था अहिले नेपालको शिक्षक प्रशिक्षकको क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित भएको सुन्न र देख्न पाउँदा हर्ष लाग्ने नै भयो । एकदिन त्यो संस्थाले विश्वविद्यालयको रुपमा स्थान ग्रहण गरेको बेलामा हाम्रो हर्षको सीमा रहने छैन । 

संस्था समाजसँग छ । समाजको आवश्यकताअनुसार जस्तो बनाउने हो , बन्ला, एकदिन यो संस्थाले राष्ट्रिय अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रुपमा स्थान लेला र हामी नरहे पनि संस्थाले गर्ने प्रगतिले समाजलाई सुवासित गरिरहला । आजको प्रगति पनि समूहको प्रयासका कारणले भएको हो र भोलि पनि त्यो प्रयास रहिरहला भन्ने आशा गरौँ ।  मेरा मनमा लागेका केही जिज्ञासा रजत जयन्तीमा लेखेको थिएँ जुन यसै लेखमा राखेको छु । 

हामीलाई शिक्षा कस्तो हुन्छ भन्नेकुरा आफ्नै क्याम्पसको प्रयोगबाट दिने सुषुप्त चाहना अझै छँदैछ । एउटा जातक कथामा भनिएको छ— शिक्षा भनेको जीवनचक्रलाई चलाउने सद्प्रयासको कडी हो । एउटा हरिणकी बहिनीले आफ्नो बच्चा जीवन बाँच्ने कला सिकाउन र शिक्षा दिनका लागि आफ्नो दाजुको सुम्पिएकी थिई । सधैँ ऊ आफ्नो बच्चाको वारेमा सोच्थी  । एकदिन त्यो बच्चा कुनै व्याधाको पासोमा परेछ । यो कुरा उसका साथीहरुले आएर त्यो हरिणकी बहिनीलाई भनेछन् । रुँदै कराउँदै त्यो बहिनी हरिण दाजुकोमा पुगिछे । दाजुले भनेछ- पर्ख , एकछिनमा तिम्रो बच्चा आउने छ । नभन्दै पासोमा परेको सावक दौडदै आएछ । कारण के थियो भने मामाले भानिज हरिणलाई पासोमा पर्दा कसरी बाँच्ने भन्ने सिकाएको थियो । 

हामीले पनि त्यस्तै शिक्षा दिन सक्यौँ भने ........... क्रमशः