शरीरको शास्ता वा शासक : आत्मा र परमात्माको रमणकार्यको मिलन रूप
फाल्गुन २९, २०७७

    पवनः पवतामस्मि रामः शस्त्रभृतामहम् ।
    झषाणां मकरश्चास्मि स्रत्रोतसामपि जाह्नवी ।। ३१ ।।

अन्वय र अर्थ –अहं = म, पवतां = पवित्र गर्नेहरू मध्ये, पवनः = पवन हुँ, शस्त्रभृतां = शस्त्रधारीहरू मध्ये, रामः = दशरथपुत्र राम, अस्मि = हुँ, झषाणां = मत्स्य आदि जलचरहरू मध्ये, मकरः = मकर गोही, च = पनि, अस्मि = हुँ, स्रोतसां = नहीहरू मध्ये, जाह्नवी = गङ्गा, अस्मि = हुँ ।

भावार्थ – पवित्र गर्ने पदार्थहरू मध्ये म पवन हुँ, शस्त्रधारीहरू मध्ये, म राम हुँ, मत्स्यादि जलचरहरू मध्ये म मकर गोही हुँ, नदीहरू मध्ये, म गङ्गा हुँ । 

विशिष्टार्थ –'पवनः पवतामस्मि' । जति प्रकारका शुद्धि गर्ने पदार्थहरू छन् तिनीहरू मध्ये सर्वशुद्धिकर वायु म हुँ । (साधकहरूका लागि उज्ज्वल दृष्टान्त प्राणायाम हो) । पवन = जसले शुद्ध गर्दछ । मिथ्या नै अशुद्ध (विकार) हो । माया विकार ममा गएर पावन हुन्छ, अतः 'म' सर्वशुद्धकरी 'पवन' हुँ ।

'रामः शस्त्रभृतामहम' 'राम'(परमात्मा) यस शरीरमा जो आत्माका साथ रमण गर्छन् उनै शस्त्रभृत् हुन् । शस्–वध गर्नु या शासन गर्नु । वायु नै शरीरको शास्ता वा शासक हो । अतः यसलाई शस्त्र भन्दछन्, मेरुदण्ड रूप धनुमा वायु रूप वाण योजना गरेर प्रयोगमा सर्वजयी जो 'म' हो उही आत्माराम हो । यस शरीररूपी रथमा दश इन्द्रियहरू दश दिशामा दौडन्छन्, ती सबैको गतिलाई जसले धारण गर्‍यो सोही दशरथ हो । दशरथ अवस्थाबाट आत्मा र परमात्माको रमणोत्पत्ति हुन्छ, अतः त्यस रमण अवस्थाको  नाम दाशरथी राम हो । अनि दश इन्द्रियहरूको यो निस्तब्ध अवस्थामा शरीरको मेरुदण्डमध्यमा सुषुम्नापथमा वायु चालित हुँदा आत्मा र परमात्माको मिलन रूप रमणकार्य हुन्छ, त्यसकारण रामलाई शस्त्रभृत् र दाशरथी भन्दछन् ।

जसमा यमको नियामकत्व, कामको कामानल, चन्द्रको पुष्टि, शिवको स्थिति, विष्णुको व्याप्ति, ब्रम्हाको कृतित्व, विषको संहारकत्व, पवनको जीवनी, बन्धनको कठोरता, मन्त्रको सिद्धि, समयको अखण्डत्व, सूर्य र अग्निको दीप्ति, दक्षको प्रजापतित्व छ, जो ग्रहण गर्न जान्दछन्, त्याग्न  जान्दैनन्, तिनैलाई मकर भन्दछन् । मकर पतित पावनी गंगाको वाहन हो ।

'रामः'– रा =विश्व+म = ईश्वर, यस विश्वको जो ईश्वर हो उसलाई 'राम' भन्दछन् । शस्त्रहातले समातेर अरूमाथि प्रहार गर्ने हतियार, जस्तै–तलवार, खुकुरी, बञ्चरो इत्यादि । अस्त्र फालेर प्रहार गर्ने हतियार, जस्तै वाण, गुलेली, तोप, बन्दूक, बम आदि । शस्त्रलाई प्रयोग गर्नेलाई 'शस्त्रभृत्' भन्दछन् ।

राम रूपमा विष्णुका तीन अवतार छन्–परशुराम, दाशरथी राम र बलराम । दाशरथी रामले परशुरामलाई परास्त गरेका थिए, त्यसकारण दाशरथीको प्राधान्य देखिएको थियो । फेरि कृष्णगत प्राणका लागि बलराममा प्राधान्य नखुलेर कृष्णमा खुलेको थियो । विभूतिहरुमध्ये पनि सर्व प्रधान विभूति असंगत्व (निर्लिप्तत्व) हो । यो असंगतत्व दाशरथी राममा  निरन्तर  विद्यमान  रहनाले दाशरथी  रामलाई नै शस्त्रभृत् सिद्ध गरिएको छ । अस्त्र भनौँ या शस्त्र, यी दुबै नै प्राकृतिक हुन् । प्रकृति जुन सबैको मूल हो, ती सबै प्राकृतिक हुन् ।  'मयाध्यक्षेण प्रकृतिः सूयते स चराचरम्' । यस विश्वरूपा प्रकृतिले अस्त्र धारण  गरेकी छ, तथापि जसमा असंगत्वको  विच्छेद छैन, यस्तो जुन राम हो उही शस्त्रभृत राम हो । त्यो राम म विना अरू कोही छैन । साधक ! तिमीले आफ्नो  'म' अवस्थालाई लक्ष्य गर, यसो गर्नाले नै अर्थका साथ तिमीलाई तारक ब्रम्ह राम अवस्थाको परिज्ञान हुनेछ सारा छुट्याउने । 'झषाणां मकरश्चास्मि'–मत्स्यहरूमध्ये म मकर हुँ । झष –'झ' शब्द नेपथ्य र 'ष' शब्द श्रेष्ठ हो । अन्तरालमा जति प्रकारका श्रेष्ठत्व विराजित छन् (जस्तो–सोऽहं,  'मत्स', सोऽह ब्रम्हास्मि 'अहं ब्रम्हास्मि' यस प्रकारका जति साधन संग्रामी  शब्द छन् अर्थात् जसको साधन गर्नाले ब्रम्हमय वनाइदिन्छन्, ती सबै अति उच्च विभूतिले सुभूषित छन् । यी सबै मध्ये  'मकर' ।

'म'  श्चन्द्रे च शिवे विष्णौ ब्रम्हणि च यमेऽपि च ।
विषे च बन्धने मन्त्रे समयेऽपि प्रकीर्तितः ।।
'क'  स्याद् ब्रम्हणि विष्णौ च महेश्वरे समीरणे ।
अर्काग्नियमदक्षेषु पार्थिवे च पतत्रिणि ।।
'र' पावके तथा तीक्ष्णे भूमौ कामानले धने ।
इन्द्रिये धनरोधे च रामेऽनिले तथैव च ।।

जसमा यमको नियामकत्व, कामको कामानल, चन्द्रको पुष्टि, शिवको स्थिति, विष्णुको व्याप्ति, ब्रम्हाको कृतित्व, विषको संहारकत्व, पवनको जीवनी, बन्धनको कठोरता, मन्त्रको सिद्धि, समयको अखण्डत्व, सूर्य र अग्निको दीप्ति, दक्षको प्रजापतित्व छ, जो ग्रहण गर्न जान्दछन्, त्याग्न  जान्दैनन्, तिनैलाई मकर भन्दछन् । मकर पतित पावनी गंगाको वाहन हो । जुन महाशक्तिले पतितलाई पावन गर्दछ त्यो महाशक्ति पनि ममा नै आश्रित छ, अतः म झष (मत्स्य) हरू मध्ये 'मकर' हुँ ।

'स्रोतसामस्मि जाह्नवी'–स्रोतस्वती वा प्रवाहिणी नदीहरू मध्ये म जाह्नवी (गंगा) हुँ । आदि अन्त रह्यो भने प्रवाहिणी हुँदैन । जुन प्रवाहको आदि अन्त निर्देश गर्न सकिदैन त्यसैलाई प्रवाहिणी भन्दछन् । जस्तो–निर्मल ज्ञानको प्रवाह छ । यस निर्मल ज्ञान प्रवाहको आदि अन्त नरहनाले गंङ्गा भनिन्छ ।  'गच्छतीति गङ्गा'जसको अविच्छेद गति नै गति छ उसैलाई  गङ्गा भन्दछन्,  तिनै जाह्नवी हुन् । जहृह्नमुनिले गङ्गालाई पान गरेपछि देवता, ऋषि भगीरथको प्रार्थनाले आफ्नो जानु देशलाई चिरेर बाहिर निकालेको हुनाले उनको नाम जाह्नवी रहेको हो । जानु उरु सन्धिलाई भन्दछन् अर्थात् जुन स्थानले गतिको उत्पत्ति गराउँछ ।जह्नु– हा+नु । हा को अर्थ हो त्याग गर्नु, जह्नु जो सर्वत्यागी हुन्, जह्नु राजर्षि हुन् । ऋषिहरूमध्ये जसमा रजोगुण प्रधान हुन्छ उही राजर्षि हो । यो रजोगुण नै संकल्प र विकल्पको लीलाभूमि हो, त्यसकारण यस क्षेत्रमा विमल ज्ञानको प्रवाह अभिभूत रहन्छ । यही जह्नुको गङ्गालाई पान गर्नु हो । संकल्प विकल्प मनोमय कोषको खेल हो ।यस अवस्थामा रहनाले वाक्यादिको स्फुरण हुँदैन । यसकारण वाह्य मनुष्यहरू यिनलाई मुनि भन्दछन् । फेरि जब मौनी अवस्थालाई नष्ट गरेर ऋषि–वाक्य (उपदेश प्रवाह) को प्रकाश हुन्छ, तत्क्षणात् अभिभूत ज्ञान–प्रवाहको अभिभव–आवरण खुलेर प्रवाह मात्र देखिन्छ, त्यो नै जाह्नवी हो । त्यो निर्मल ज्ञान प्रवाह नै मेरो स्वरूप हो ।'ज्ञान प्रवाहा विमलेति गङ्गा' त्यसकारण 'म' स्रोतस्वतीहरूमध्ये गङ्गा–'जाह्नवी' हुँ ।

यो पनि 

'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम

पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !

उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु र अविच्छेद अमृत !

कामधुक शब्दको अनुभूति : भोगेच्छामा जुन अविरोधी आत्मकम्पनकाे सम्झना

स्थूल शरीरको आश्रय: पञ्च कर्मेन्द्रिय,पञ्च ज्ञानेन्द्रिय र पञ्च प्राण लिएर मन बहिर्मुखी वृत्ति विषय भोगको अविनता !