दमौलीमा खुल्यो पूजा सामग्री उद्योग

दमौलीमा खुल्यो पूजा सामग्री उद्योग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७७

तनहुँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

उद्योगबाट ८५ महिलाले रोजगारी पाएको गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार दुनाटपरी, बाँधेको धुप, सातथरि काठको दाउरा, पोते, डोरी, टीकालगायतका सामग्री उत्पादनका लागि ती महिलालाई रोजगारी दिइएको छ । “निकट भविष्यमा नै तामा, चरेश, चाँदी र माटोबाट निर्माण गरिने सामग्री पनि उत्पादन गर्ने लक्ष्य छ”, गौलीले भन्नुभयो ।

उक्त उद्योगबाट ५०० महिलालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो । दमौली बजारका विभिन्न आमा समूहले उत्पादन गरेका दुना टपरी उक्त उद्योगले खरिद गर्ने गरेको छ । हाल बजारमा दुना टपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “फुर्सदिला कम्तीमा ५०० महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका पूजा सामग्रीको हाते उद्योग सञ्चालन गरेको हुँ”, गौलीले भन्नुभयो ।

व्यास–१ गल्वुबेँसीस्थित नव आदर्श आमा समूहले दैनिकरूपमा उत्पादन भएका दुना टपरी उक्त उद्योगलाई बिक्री गर्ने गरेको छ । आमा समूहका १४५ महिलाले टपरी बुन्न थालेका छन् । उक्त उद्योगको शनिबार नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख न्यौपानेले महिलालाई स्वरोजगार बनाउन आवश्यक तालिम नगरपालिकाका तर्फबाट सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।