राष्ट्रपतिको चीन भ्रमण : पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा

राष्ट्रपतिको चीन भ्रमण : पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडाैं । ११ वैशाखदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ । 

नेपाल–चीनबीचको पारवहन सम्झौताको प्रोटोकल तयार भइसकेको छ । प्रोटोकलमा दुवै मुलुक सहमत भएका छन् । नेपाल सरकारले प्रोटोकल स्वीकृत गरेर हस्ताक्षरका लागि वाणिज्य सचिवलाई अख्तियारी दिइसकेको छ । राष्ट्रपतिको आसन्न चीन भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए । 

‘प्रोटोकलमा हस्ताक्षरका लागि उच्चस्तरीय भ्रमण नै कुरिएको हो,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा हस्ताक्षर हुन सक्छ, तर यसबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।’ पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।