९ वैशाखमा एकता टुंग्याउने सैद्धान्तिक सहमति

९ वैशाखमा एकता  टुंग्याउने सैद्धान्तिक सहमति

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडाैं । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताबीच सैद्धान्तिक सहमति भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक सहमति भएको हो । 

‘उहाँहरूले शुक्रबार र शनिबार केही गृहकार्य गर्नुभएको छ, औपचारिक छलफल गर्न बाँकी छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘छिटोभन्दा छिटो घोषणा गर्न पाए हुन्थ्यो भन्नेमा हामी छौँ ।’ शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको श्रेष्ठले बताए । 

अध्यक्ष ओलीनिकट बालुवाटार स्रोतका अनुसार चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाले आइतबार बिहान ९ बजे बसेर प्रस्तावलाई अन्तिम रूप दिने तयारी छ । सहमति जुटाउने मापदण्डका सन्दर्भमा विभिन्न विकल्पमा चारै नेताले लचिलो बनेर खुला छलफल गरेका छन् । विशेषगरी पूर्वएमाले समूहमा एकता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच समझदारी जुटेको थिएन । नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन् । पछिल्ला छलफलपछि भने अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।