अवैध उत्खनन गर्नेलाई कतै जरिवाना, कतै बेवास्ता

अवैध उत्खनन गर्नेलाई कतै जरिवाना, कतै बेवास्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७७

सर्लाही । सर्लाहीको ईश्वरपुरमा बाँके खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा तस्करी गर्ने जेसिबी र टिपरलाई कारवाही गरिएको छ । रातको समयमा उत्खनन गरेर निकासी गर्ने तीन टिपर र दुई जेसिबीलाई दण्डजरिवाना गरेर छाडिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो ।

नेपाल प्रहरीले फागुन १७ गते नै पक्राउ गरेर नगरपालिकाको जिम्मा लगाएको जेसिबीलाई १५ हजारका दरले र टिपरलाई १० हजारका दरले दण्डजरिवाना गरेर छाडिएको हो । अवैध ढङ्गले उत्खनन गर्दा बनेको खाल्डो पुर्नका लागि यत्तिका दिनसम्म जेसिबी र टिपरलाई नियन्त्रणमा राखेर खाल्डो पुरेपछि मात्रै आगामी दिनमा यस्तो गतिविधि नदोहोर्‍याउने शर्तमा छाडिएको नगरप्रमुख देवकोटाले बताउनुभयो ।

सर्लाहीमा बाँकेसहित फुलजोर, कालिञ्जोर, लखनदेही र वाग्मती खोलामा मापदण्डविपरीत अत्यधिक दोहन भइरहेको छ । वातावरणीय मूल्याङ्कन प्रतिवेदन र नगरपालिकासँगको सम्झौता विपरीत विभिन्न ठेकेदार कम्पनीले उत्खनन गरिरहेका छन् । पूर्व–पश्चिम रेलमार्ग निर्माणको ठेक्का पाएको गजुरमुखी कन्स्ट्रक्सनले लखनदेही खोलामा छ वटा स्काइभेटर लगाएर दोहन गरिरहेको छ । 

त्यसैगरी फुलजोर खोलामा सुकन्या वशिष्ट कन्स्ट्रक्सनले वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत नदी दोहन गरी नजिकै रहेको क्रसर उद्योगलाई खोलाको गिटी, बालुवा दिने गरेको छ । स्थानीय सरकारले स्थानीयस्तरको विकास निर्माणमा लगाएको ठेक्काको बहानामा क्रसरलाई नदीजन्य पदार्थ दिनुले स्थानीय सरकार र ठेकेदारबीच नदी दोहनमा मिलेमतो रहेका आशङ्का गर्न सकिन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले नगरपालिकाले ठेक्का लगाउँदा वातावरणीय मूल्याङ्कन प्रतिवेदनअनुसार उत्खनन गर्न दिएको बताउनुभयो । उहाँले सम्झौता विपरीत नदी दोहन गरेको पाइएमा आवश्यक कारवाही गर्ने बताउनुभयो । 

यता गजुरमुखी कन्स्ट्रक्सनले उत्खनन गरेको स्थानमा पनि वातावरणीय मूल्याङ्कन प्रतिवेदनअनुसार उत्खनन नगरेको पाइएको भन्दै लालबन्दी नगरपालिकाले चेतावनीसमेत दिइसकेको भए पनि गजुरमुखीले अटेर गरी नदी दोहन गरिरहेको छ । 

पूर्व–पश्चिम रेलमार्गको नजिकैबाटै प्रष्ट देखिने गरी जथाभावी उत्खनन भइरहँदा समेत जिल्लाका सरोकारवाला निकाय मौन बसेका छन् । ठेक्का लगाइएका ठाउँमा समेत स्थानीय निकायले बेवास्ता गर्दा दुर्घटना निम्तिने गरी अत्यन्त ठूलाठूला खाल्डो पारेर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको भन्दै बासिन्दाले गुनासो गरेका छन् । खोला उत्खननबारे नियमित अनुगमन हुन सकेको छैन । कहिलेकाहीँ हुने अनुगमन र कारवाही खासै प्रभाकारी नदेखिएको जनगुनासो छ ।

जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी नियमित अनुगमन गरिरहेको बताउनुहुन्छ । उहाँले पनि अनुगमन गर्दा वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत उत्खनन गरेको पाइएमा आवश्यक कारवाही गर्ने बताउनुभयो । सर्लाहीमा अहिलेसम्म वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत उत्खनन गरेको भनेर कुनै पनि ठेकेदार र ठेकेदार कम्पनीलाई कारवाही नगरेको पाइएको छ ।

खोला दोहनदेखि ठेक्कापट्टा कसलाई र कतिमा पार्ने भन्ने विषयमा जिल्लाका केही ठेकेदारको हातमा रहने गरेको देखिएको छ ।