खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७७

विराटनगर । खवास समाज परिषद् केन्द्रीय  समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज यहाँ पत्रकार सम्मेलन  गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरेको हो ।  

परिषद्का अगुवा कुमारविक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गर्नुभयो । परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औँ शताब्दीमा  पहिचान मेटाएर आफ्नो अधीनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएकोे बताउनुभयो । 

परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिव दुईलाख खवास जातिको  बसोबास  पाइन्छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो  सङ्ख्या थारु जातिमा मिसाइएर थारु जातिको सङ्ख्या अधिक देखाइएका विषयमा पनि परिषद्ले आपत्ति जनाएको छ ।