सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड

सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडौं । राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ । 

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत साता नै सो रकम प्राप्त भइसकेको छ ।

“उक्त सुरुङमार्ग निर्माणका लागि करिब ४२५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ जसका लागि करिब चार अर्ब रुपियाँ आवश्यक पर्छ” उहाँले भन्नुभयो । थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्याम खरेलका अनुसार जग्गा अधिग्रहण गर्न काठमाडौँ जिल्लामा पर्ने जग्गाका लागि प्रति आना न्यनूतम नौ लाख रुपियाँदेखि अधिकतम ४२ लाख रुपियाँसम्मको मूल्य निर्धारण गरिएको छ । तर धादिङ जिल्लामा पर्ने जग्गाको मूल्य निर्धारणबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । खरेलका अनुसार प्रस्तावित उक्त सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गामध्ये ३७६ रोपनी काठमाडौँ जिल्लामा ५५ रोपनी धादिङ जिल्लामा पर्छ । आजको गाेरखापत्र दैनिकमा खबर छ ।