नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य भेट्न कठिन

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य भेट्न कठिन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडौं । सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्रयाउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ। पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि  टिकाटिप्पणी सुरु भएका छन्।

नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजार हाराहारी पर्यटक आएका छन्। सरकारले यो वर्ष (सन् २०१९) प्रचारप्रसार गरी आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको हो। एक वर्षको तयारीमा झण्डै दोब्बर पर्यटक आउने, नआउनेमा पर्यटन  व्यवसायी अलमलमा छन्। सरकारले चमत्कारिक काम गरेमात्र लक्ष्य फेला पर्ने उनीहरुको भनाइ छ।

पूर्वाधारको विकासबिना सरकारले लक्ष्य हासिल गर्न सक्ने आधार नदेखिएको र पूर्वाधार एकै वर्षमा तयार नहुने धारणा व्यवसायीको छ। पर्यटन व्यवसायी लिलाबल्लभ दाहालका अनुसार नेपाल पर्यटकीय गन्तव्यका हिसाबमा भरिपूर्ण देश हो। तर, ती गन्तव्य भ्रमणका लागि पर्यटकलाई सहज छैन। उनका अनुसार नेपालले हवाई कनेक्टिभिटी बढी देशमा गर्न नसक्दा ठूलो संख्यामा पर्यटक आउने सम्भावना छैन।

‘पर्यटक आउन सबैभन्दा पहिला आवश्यक पर्ने हवाई कनेक्टिभिटी हो,’ टानका पूर्वकोषाध्यक्षसमेत रहेका दाहालले भने, ‘नेपालले केही सीमित छिमेकी देशसहित ६ देशमा मात्रै हवाई सेवा थालेको छ। चीन, श्रीलंकालगायत देशबाट लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना हुँदाहुँदै पनि नेपालले ती देशमा उडान गर्न सकेको छैन। यसले नेपालको पर्यटन बजार खुम्च्याएको छ।’ आजको नागरिक दैनिकमा खबर छ ।