चिसो खोज्दै भमरा

चिसो खोज्दै भमरा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडौं । पहिले जहाँ भमरा पाइन्थे, अहिले त्यहाँ नामोनिशान छैन । पहिले जहाँ भमरा हुँदैनथे, अहिले त्यहाँ भमरा भेटिन थालेका छन् । अनुसन्धान गर्नेहरू भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो ।’

त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक दयाराम भुसालका अनुसार भमराले तातो खप्न सक्दैन । चिसो खोज्दै भमरा उच्च पहाडी, हिमाली भेगतिर सरिरहेको छ । ‘बढ्दो तापक्रमका कारण भमराका केही प्रजाति हराइसकेका छन्, भएकाले पनि थप संघर्ष गर्नु परिरहेको छ,’ चितवन–अन्नपूर्ण भूपरिधि क्षेत्र (चाल) को उच्च क्षेत्रका भमरा प्रजातिबारे अध्ययन गरेका भुसालले भने ।

सन् १९७४–२०१४ सम्मको ४० वर्षमा नेपालको तापक्रम ०.५६ डिग्री सेल्सियसले बढेको थियो । सन् २०१६–२०४५ सम्म ०.९२ देखि १.०७ र सन् २०३६–२०६५ सम्म १.३ देखि १.८२ डिग्री सेल्सियसका दरले तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ । हिमाली क्षेत्रको तापक्रम अझ तीव्रगतिमा बढ्ने विशेषज्ञहरूले दाबी गरिरहेका छन् । ‘१ हजारदेखि १५ सय मिटर उचाइमा पनि तातो बढेकाले भमरा माथितिर सरिरहेका छन्,’ भुसाल भन्छन्, ‘हिमाली क्षेत्रमा पनि तापक्रम बढिरहेकाले कालान्तरमा भमरा प्रजाति लोपै हुने त्रास बढेको छ । आजकान्‍तिपुर दैनिकमा खबर छ ।