पुल बन्यो चलेन, ट्युबमै महाकाली वारपार

पुल बन्यो चलेन, ट्युबमै महाकाली वारपार

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

दार्चुला । महाकाली नदीमा पुल बने पनि लेकम गाउँपालिका–३ का बासिन्दा जोखिम मोलेर ट्युबबाटै ओहोरदोहोर गर्न बाध्य छन् । उनीहरू दैनिक उपभोग्य सामान पनि ट्युबबाटै तार्छन् । 

‘लालीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भएको ४ महिना बितिसक्यो,’ स्थानीय मोहनसिंह भण्डारीले भने, ‘तर सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा जोखिम मोल्न बाध्य छौं ।’ उनका अनुसार गत वर्ष ट्युबबाट खसेर एक जनाले ज्यान गुमाएका थिए । भारतमा आफन्त र इष्टमित्र भेट्न जान पनि जौलजिवी पुगेर लालीपारि पुग्नुभन्दा ट्युबबाटै जान छिटो हुने उनले सुनाए ।

लालीलगायत आसपासका बासिन्दा सीमावर्ती भारतीय बजारमै निर्भर छन् । औषधि–उपचारदेखि आफन्त भेट्न पारि जानुपर्ने भएकाले स्थानीयलाई कठिनाइ छ । उनीहरूले ३ दशकदेखि लाली क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुंगे पुल माग गर्दै आएका थिए । पुल बनिसके पनि सञ्चालनमा नआउनु विडम्बना भएको लेकम–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । पुल सञ्चालनका लागि नेपाली र भारतीयप्रशासनलाई अनुरोध गरे पनि सुनुवाइ नभएको उनकोगुनासो छ । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।