यूएनडीपीको पैसामा सांसदको रजाइँ

यूएनडीपीको पैसामा सांसदको रजाइँ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडाैं । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् ।प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाउनुभएको छ ।

‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वाचित रावलले भन्नुभयो– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’

रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरु बहिष्कार गर्ने नीति नै बनाउनुभएको छ । उहाँले अरु सांसदलाई पनि आफ्नो अभियानमा लाग्न सहयोग पु-याउन आग्रह गर्दै आउनुभएको छ । रावलले यो विषयबारे संसद्को आगामी बैठकमा उठाउने बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति शुक्रबार हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सा गएको छ । समितिको बिहीबारको बैठकमा समेत सभापतिले बारा र पर्सा जाने प्रस्ताव राखेपछि सांसद रावलले फेरि पनि यही प्रश्न दोहो-याउनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।