वडा कार्यालयमा तेस्रोपटक तालाबन्दी

वडा कार्यालयमा तेस्रोपटक तालाबन्दी

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ६, २०७७

खोटाङ । ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको जनाउँदै असन्तुष्ट बनेका स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र संसद् विकास कोषबाट रु १० लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनःगठन गर्नुपर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताउनुभयो । बाकाचोल वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेको यो तेस्रोपटक हो ।

वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ जेठ २८ गते र २०७६ पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । आफ्ना माग सम्बोधन नभए वडा कार्यालयको ताला नखोल्ने सम्पूर्ण बाकाचोलवासीको नाममा जारी प्रेस विज्ञप्तिमा चेतावनी दिइएको छ । वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले ४०५ जनाको हस्ताक्षरसहितको विरोधपत्र ऐँसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । छलफल नै नगरी बिस्खाम खोलाको पानी ऐँसेलुखर्कबजारलगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयवासीको असन्तुष्टि देखिएको हो ।

बिस्खाम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यान नै नदिई माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीयवासीले बताउनुभयो । वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्षले आफूखुशी गरेको जनाउँदै चार वडा सदस्य एवं स्थानीयवासीले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

वडाध्यक्ष तामाङले भने हालसम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि कसैलाई अनुमति नदिइएको बताउनुभयो । वडाध्यक्ष तामाङले सम्बन्धित ठाउँकै स्थानीयवासीलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको जानकारी दिनुभयो ।