शान्ति देवान : महिला तथा जनजाति अधिकारमा समर्पित नाम

शान्ति देवान : महिला तथा जनजाति अधिकारमा समर्पित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत्र ७, २०७७

कुनै पनि काम सानो अथवा ठुलो हुँदैन । कामको परिणामले त्यसको आयतन निर्धारण गर्ने हो । त्यसका लागि ठुलै डिग्री चाहिन्छ भन्ने पनि छैन । यो सबको उदाहरण हो, शान्ति देवान । एउटा सामान्य किसान परिवारको महिला तथा कुनै ठुलो डिग्री हासिल नगरीकन पनि महिला तथा जनजातिलाई आफ्नो अधिकारका बारेमा सचेत गराउने सफलता  प्राप्त छ उहाँलाई  । 

आफुसँग इच्छा शक्ति छ भने कुनै पनि कामका लागि लिङ्ग, पारिवारिक अवस्था अनि डिग्री कहिल्यै पनि वाधा बन्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हो यो आलेख । 

पारिवारिक अवस्था 

उहाँको परिवार लाहुरे परिवारको होइन । शिक्षकको परिवार पनि होइन । कहिलेकाहीँ सामाजिक सेवा पनि गर्ने । विशुद्ध किसान परिवार हो उहाँको । बुवा खेती किसानीमा रमाउने, आमा भने गृहिणी । 

राजनीतिका मार्फत पनि समाज सेवा भने गर्नुभयो उहाँको बुवाले । विद्यालय सञ्चालक समितिको अध्यक्ष तथा तत्कालीन गाउँ पञ्चायतको वडा अध्यक्ष हुनुहुन्थ्यो । उहाँको बुवाको तीन सन्तान । दुई छोरा तथा एक छोरी । उहाँ भने कान्छी छोरी हुनुहुन्छ । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२८ सालमा भएको हो । गाविस भने बोधे । हाल भने चौबिसे गाउँपालिका भएको छ, बोधे गाउँ । ठाउँलाई भन अहिले पनि बोधे नै भनिन्छ, उहाँ भन्नुहुन्छ । नागरिकताले भने उहाँलाई अलि पाको बनाएको छ । अर्थात् नागरिकता बनाउन जाँदा उमेर नपुगेका कारण नागरिकतामा उहाँको उमेर एक वर्ष थपेर  २०२७ साल कायम  गरिएकाे छ । 

उहाँको बाल्यकाल पनि अरु गाउँका सामान्य बालकझैँ नै बित्यो । एघार वर्षसम्म उहाँ गाउँकै अन्य केटाकेटीझैँ रमाइलो गर्दैमा  बित्यो उहाँकाे  बालापन । गाउँमा एक प्रकारको सद्भाव रहन्थ्यो विभिन्न जातजातिबिच । उहाँ पनि गाउँघरका आफन्त, छिमेकी सबैलाई काका, काकी, बडाबडी भनेर एक प्रकारको सद्भाव तथा सहृदयताको साइनो सहित रहनुभयो ।

उहाँको घर त्यति हिमाली भेकमा नभए पनि लेक बेसी गर्नुपर्थ्यो । लेकमा असाध्यै चिसो हुने लेक बेसी गर्ने चलन थियो । लेक बेसी गरेपछि गाई बस्तु पनि लेक बेसी गर्नु पर्ने । बेसीमा धान खेती हुन्थ्यो । तर, उहाँको भने सानो परिवार । लेक बेसी गर्न त्यति नभ्याउने । उहाँको दाइहरू स्कुल जान थालेपछि बुवा आमालाई समय मिलाउन असहज भएका कारण बेसीमा पनि एउटा घर बनाउनु भएको थियो । 

उहाँ हाल राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको महासचिव हुनुहुन्छ । उहाँ याक्खा जातिको संगठनको काठमाडौँ उपत्यकाको तदर्थ समितिको सदस्यदेखि केन्द्रीय सदस्यदेखि कोषाध्यक्ष हुँदै अहिले सचिव हुनुहुन्छ । याक्खा महिलाको पनि उहाँ सचिव हुनुहुन्छ । यही जातको संगठनको प्रतिनिधित्व गर्दै उहाँ जनजाति महासङ्घमा हुनुहुन्छ ।

त्यो घर भने तमोरको गडतिरमा पर्छ । तमोरको गडतिरमा तमोर नदी बग्छ । जुन ताप्लेजुङ देखि बग्दै आएर सप्तकोसीमा मिसिने गर्छ । त्यो नदीमा उहाँ पौडी खेल्ने गर्नुहुन्थ्यो । उहाँ सबैभन्दा धेरै पौडी खेल्न मन पराउने रुचि थियो ।  अरु सामान्य केटी जस्तो गट्टा खेल्ने भन्दा पनि उहाँ भने गुच्चा, पौडी तथा फुटबल खेलमा रमाउनुहुन्थ्यो । 

उहाँ अरु सामान्य केटीजस्तो लजाउने, डराउने केटी नभै केटा दाजुभाइहरू जस्तो पौडी तथा फुटबलमा धेरै रुचि राख्नुहुन्थ्यो । अरु केटी साथी पनि यस्तै स्वभाकासँग मात्रै उहाँको कुरा मिल्ने गर्दथ्यो । 

उहाँको आमाले केटी मान्छेले मसिनो स्वरमा बोल्नुपर्छ, बिस्तारै हिँड्नुपर्छ, डाङडुङ गर्नु हुन्न। उफ्राउफ्री गर्नुहुन्न भन्नुहुन्थ्यो । तर, उहाँको स्वभाव भने त्यो भन्दा बिलकुल भिन्न र फरक थियो । कान्लो, आलीमा उफ्रेर डिल नाघ्दै हिँड्ने, भेलाहरूमा जाने, दाजु, काकाहरूसँग बोल्न नलजाउने, नडराउने खालको स्वभाव थियो उहाँको । त्यस कारण उहाँको खेलमा पनि त्यस्तै खालको प्रभाव पर्‍यो । खेल पनि केटाको जस्तै रोजाइका परे उहाँको । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा बोधेकै मङ्गलादेवी प्राथमिक स्कुलबाट सुरु भएको हो । उहाँले सुकुलमा, पिर्कामा वा आफैँले चकटी लगेर बस्नु परेन त्यस बेला पनि । काठका सामान्य डेस्क, बेन्च थिए । विद्यार्थी सङ्ख्या यकिन नै नभए पनि विद्यार्थीको खडेरी नै थिएन, उहाँ भन्नुहुन्छ । पढ्नु पर्छ भन्ने एक प्रकारको चेतना आइसकेको थियो । भौतिक पूर्वाधारको कुरा गर्दा पनि अहिले जस्तो सम्पन्न नभए पनि आवश्यक पूर्वाधारको भने कमी नरहेको बताउनुहुन्छ उहाँ । 

स्कुल उहाँको घरबाट करिब दश मिनेटको दूरीमा थियो । कक्षा कोठा पनि साँघुरो थिएन । एउटा बेन्चमा चार जना बस्ने चलन थियो । यसो हुनुमा भने समाजका अग्रजको चेतना मुख्य रहेको उहाँको बुझाई छ । शिक्षाका लागि केही योगदान गर्नुपर्छ भन्ने चेतना भएका कारण टाढा, टाढा दार्जिलिङ, सिक्किमबाट शिक्षक लेराउने चलन थियो, उहाँ भन्नुहुन्छ । 

अब अहिलेको जस्तो ड्रेस, टाई अनि टिफिनको व्यवस्था थिएन । त्यो समयका कारण पनि हो । र, स्कुल नजिक भएका साथीहरू हाफ टाइमको घण्टी बजेपछि घरमा भएको बासी भात, मकै जे छ त्यो खाएर आउँथे, कसैले अलि अलि लिएर पनि आउँथे उहाँ भन्नुहुन्छ । 

उहाँको कक्षाका विद्यार्थी सङ्ख्या यकिन नभए पनि खेल्न निस्कँदाको बथानका आधारमा एउटा कक्षामा करिब बिस, पच्चीस जना विद्यार्थी हुन्थे उहाँ भन्ठान्नुहुन्छ । महिलाहरू करिब सात, आठ जना हुन्थे उहाँ भन्नुहुन्छ । उहाँ फस्ट बेन्चमा भने बस्नुहुन्थेन । फस्ट बेन्चमा प्राय फस्ट सेकेन्ड विद्यार्थी नै बस्ने चलन थियो। उहाँ भने सेकेन्ड, थर्ड बेन्चतिर बस्नुहुन्थ्यो । यकिन सम्झना नभए पनि प्राविमा पनि केही फि तिरेजस्तो लाग्छ उहाँलाई । 

उहाँले मङ्गलादेवी प्राविमा पाँच कक्षासम्म पढ्नुभयो । हुन त एक वर्ष छ कक्षामा पनि पढ्नुभयो । तर, त्यसपछि भने उहाँ काठमाडौँ आउनुभयो पढ्नका लागि । काठमाडौँमा उहाँको जेठो दाइ बस्नुहुन्थ्यो । 

पढ्नका लागि काठमाडौँ 

उहाँको जेठो दाइ नेपाल आयल निगमका जागिरे । उहाँको बुवाको काका अर्थात् बाजे त्यस बेला जिल्लाको सभापति हुनुहुन्थ्यो । अनि नेपाली राजनीतिका व्यक्तित्व तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापासँग उहाँको राम्रो उठबस थियो । त्यही सम्बन्धका आधारमा उहाँको दाइले जागिर पाउनु भएको थियो आयल निगममा ।  दाइ काठमाडौँमा जागिरे भएपछि उहाँको अर्को दाइ र उहाँ पढ्नका लागि काठमाडौँ आउनुभयो । त्यस बेला साल थाहा नभएको भए पनि अहिले भने २०३९ साल रहेछ त्यो भन्ने थाहा छ उहाँलाई । 

उहाँको गाउँबाट चार पाँच घण्टा हिँडेर आइपुग्छ धनकुटाको लारबोटे । अनि लारबोटेबाट बसमा हो कि के मा थाहा नभए पनि आइपुग्नु भो धरान । त्यसपछि भने धरानबाट भने रात्रि बस चढेर काठमाडौँ आइपुगेको सम्झना छ उहाँलाई । 

बसले ल्याएर काठमाडौँको सुनधारा झारेको पनि सम्झना छ उहाँलाई । गाउँबाट एकै पटक काठमाडौँ झर्दा उहाँ छक्क भने पर्नुभयो । तर, काठमाडौँ विशाल भए पनि अहिलेको जस्तो तामझाम भने थिएन उहाँ भन्नुहुन्छ ।  सुनधाराबाट दाइले उहाँलाई कोठामा लेराउनुभो । दाइको कोठा थियो नक्सालमा । सबै कुरा नयाँ लाग्यो गाउँमा भन्दा, उहाँ भन्नुहुन्छ । उहाँको दाइ भने दुई, तीन वर्ष अगाडि नै आउनु भएको  थियो काठमाडौँमा। 

डिल्ली बजारको कन्या स्कुल

पढ्नलाई काठमाडौँ आउनु भएको उहाँ त्यसपछि भर्ना हुनुभयो डिल्ली बजारको कन्या स्कुलमा । कक्षा भने छ । जुन उहाँ गाउँमा आधा उधी पढेर छोड्नु भएको थियो । कन्या स्कुल महिलाहरू मात्र पढ्ने । त्यस बेला त्यसको आकर्षण छुट्टै थियो । विद्यार्थी सङ्ख्या पनि धेरै नै थियो । विद्यालय छुट्टी भएको समयमा डिल्लीबजारको उकालोदेखि परसम्म सबै कन्या स्कुलका विद्यार्थीले बाटो ढाकेको हुन्थ्यो । अब त्यस बेला अहिले जस्तो ट्राफिक पनि थिएन, उहाँ भन्नुहुन्छ । 

एउटा कक्षामा चार वटा लाइन हुन्थ्यो बस्ने बेन्चको । एउटा बेन्चमा चार जना बस्ने चलन थियो । त्यस हिसाबले सामान्य रुपमा पनि कम्तीमा साठी जना हुन्थे एउटा कक्षामा । फि भने पैँतालिस देखि अठचालिससम्म तिरेको सम्झना छ उहाँलाई । खेलमा भने भलिबल, बास्केटबल थिए, अनि रिङ पनि । तर, उहाँ भने गाउँबाट आएको सोझी केटी त्यसरी अरूसँग घुलमिल लँडाइ झगडा गरेर खेल्ने भन्दा पनि आफ्नै प्रकारले बस्न रुचाउनु हुन्थ्यो । 

उहाँ तीक्ष्ण र मेधावी विद्यार्थी होइन । सामान्य नै हो । अनुशासनमा भने बडा कडा उहाँ भन्नुहुन्छ । स्कुलले दिएको गृहकार्य गर्ने । कक्षामा शिक्षकले सोधेका खण्डमा भन्नका लागि तयार हुने । तर, नआए नि ठिकै छ, उभिउँला बेन्चमाथि भनेर हेपाहा प्रवृत्ति नभएको विद्यार्थी भन्न रुचाउनु हुन्छ उहाँ आफूलाई । कोही कोही विद्यार्थी भने त्यस बेला पनि सेन्ट म्यारिजबाट आएका पनि हुन्थे रे ! किन त्यो स्कुलमा आउँथे थाहा थिएन । त्यहाँबाट आएको भनेपछि पक्कै पनि केही परेर आएका रहेछन् भन्ने अलि बुझ्ने भएपछि थाहा भयो उहाँ भन्नुहुन्छ । 

अब त्यस बेला एक जना दाइको कमाइले काठमाडौँमा दुई जना पढाउनु अनि गाउँबाट आएका बिरामीदेखि पाहुनासम्मको व्यवस्था गर्न समस्या नै हुन्थ्यो उहाँ भन्नुहुन्छ । अनि खाजाका लागि जुट्ने भनेको दुई, तीन रुपैयाँ र कहिले काहीँ पाँच रुपैयाँ । त्यसले एउटा डुनट, काँक्रोको चिरा, केराउको सानो पाकेट आउँथ्यो त्यसले पनि अघाइन्थ्यो । तर, ती साथीहरू भने दश पन्ध्र रुपैयाँको मःम खाने अनि लवाई पनि त्यस्तै भएका कारण सम्पन्न भन्ने लाग्थ्यो उहाँ भन्नुहुन्छ । 

अनि ती साथीहरू हाफ टाइम पछाडि कक्षामा बस्दैन थिए । त्यसो भएपछि स्कुलले सातौँ कक्षामा हाजिर गर्ने गर्न थाल्यो । अनि झोला पनि जाँच हुन्थ्यो । झोलामा मेकअपका सामान नहोस् भन्ने शिक्षकहरुको चाहना हुन्थ्यो । तर, ती साथीहरूको झोलामा भने त्यस्ता सामान फेला पर्थे । उहाँहरूलाई भने डर लाग्थ्यो रे ! यस्ता चिज कतै आफ्नो झोलामा पनि भेटिएला भन्ने । 

उहाँले नौ कक्षासम्म कन्या स्कुलमा पढ्नुभयो । त्यसपछि आयल निगममा काम गर्ने उहाँको दाइ भने अमेरिका तर्फ लाग्नुभयो । अनि उस्तै उमेरका दाजु र बहिनिलाई यहाँ काठमाडौँमा राखेर पढाउन अलिकति त आर्थिक समस्या पनि पर्‍यो । अर्को मुख्य कुरो भनेको एक्लो छोरी भएको हुनाले बुवा आमाले असुरक्षित महशुुश गर्नुभयो । त्यसपछि नौ कक्षासम्मको मात्र पढाइ सकेर उहाँ गाउँ तिरै लाग्नुभयो ।  पढाइका हकमा भने उहाँले प्राइभेटमा आइएसम्म पढेर छोड्नु भएको हो । 

विवाह

उहाँको विवाह २०४४ सालमा भएको हो । सोह्र वर्षको उमेरमा । मागी विवाह नै हो । देख्दै नदेखेको भने होइन । बुवा आमाले केटो राम्रो छ भनेपछि कसैले कुटुम्ब लेराएपछि जुरेको हो उहाँको विवाहको साइत । पढ्दा पढ्दैको सानै उमेरमा विवाह गर्नाको कारण चाहिँ बुवा आमाले विवाह पछि पनि पढाउने तथा एक्लो छोरी भएका कारण कोही अजात सँग जाली र इज्जत जाला भन्ने नै प्रमुख  कारण हो, उहाँ भन्नुहुन्छ ।  उहाँको एक्लो सन्तान छोरा । अहिले आफ्नै व्यवसायमा संलग्न हुनुहुन्छ । 

आफ्नै व्यवसाय

विवाह पछि उहाँ आफ्नै व्यवसायमा व्यस्त रहनु भयो । पस्मिनादेखि कुखुरा पालन अनि अरु सामान्य व्यवसाय पनि ।  उहाँ म्यानपावर व्यवसायमा पनि संलग्न हुनुहुन्थ्यो । तर, इराक काण्ड पछि उहाँलाई यो व्यवसाय त्यति उचित लागेन । अनि तनाव पनि कम र पैसा पनि कम होस बरु भनेर हाल भने काठको व्यवसायमा संलग्न हुनुहुन्छ ।  विवाह पछि बच्चा पनि हुर्कँदै गयो भने उहाँ बिस्तारै जातिगत हिसाबमा राजनीतिक तथा सामाजिक काममा सरिक हुन थाल्नुभयो विस्तारै । 

सङ्घसंस्थामा संलग्नता 

उहाँ हाल राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको महासचिव हुनुहुन्छ । उहाँ याक्खा जातिको संगठनको काठमाडौँ उपत्यकाको तदर्थ समितिको सदस्यदेखि केन्द्रीय सदस्यदेखि कोषाध्यक्ष हुँदै अहिले सचिव हुनुहुन्छ । याक्खा महिलाको पनि उहाँ सचिव हुनुहुन्छ । यही जातको संगठनको प्रतिनिधित्व गर्दै उहाँ जनजाति महासङ्घमा हुनुहुन्छ ।

उहाँ रामप्रसाद राई प्रतिष्ठानको पनि केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले भारत लगायत फिलिपिन्समा विभिन्न विषयमा तालिम समेत गर्नु भएको छ । उहाँले कामका दौरान देशका माथिल्लो  हिमाली जिल्लामा जान पाउनु भएको छैन । तराइका जिल्ला बढी घुम्नु भएको छ । देशका सतहत्तर मध्ये पचपन्न जिल्ला घुमिसक्नु भएको छ उहाँले । 

कुनै पनि समुदायमा सूचना सम्प्रेषण गर्दा उक्त समुदायको मातृभाषामा सम्प्रेषण गर्दा बुझ्न सहज हुने कारणले कोरोनाको पछिल्लो समयमा करिब तीस वटा भाषामा सूचना सम्प्रेषणका लागि समेत उहाँले पहल गर्नुभएको थियो । 

अन्त्यमा 

महिला भएका नाताले अनि पढाइ र डिग्री नभए पनि जीवनमा अघि बढ्ने दृढ इच्छा भएका खण्डमा संसारका कुनै पनि कुराले वाधा, व्यवधान खडा गदैन भन्ने कुराको सन्देश लिन सकिन्छ यो छोटो जीवन कथाबाट ।