प्रम ओलीद्वारा पर्वतारोहण सङ्घकी उपाध्यक्ष श्री माया शेर्पालाई झन्डासहित बिदाइ

प्रम ओलीद्वारा  पर्वतारोहण सङ्घकी उपाध्यक्ष श्री माया शेर्पालाई  झन्डासहित  बिदाइ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र ७, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहण गर्न जान लाग्नु भएका नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष श्री माया शेर्पालाई नेपालको राष्ट्रिय झण्डासहित आज (२०७७ चैत ७ गते शनिबार) बिदाई गर्नु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आरोहण गर्न जान लाग्नु भएका शेर्पालाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै प्रधामन्त्री ओलीले दुवै हिमालहरुको सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । त्यसअवसरमा प्रधानमन्त्रीले शेर्पालाई आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभयो । 

सन् २००३ देखि हिमाल आरोहण शुरु गर्नु भएकी शेर्पाले विश्वका आठ हजार मीटर भन्दा अग्ला १४ वटै हिमालहरुको आरोहण गर्ने लक्ष्य राख्नु भएको छ । यसमध्ये ५ वटा हिमालहरुको आरोहण गरिसक्नु भएकी शेर्पाले सर्वोच्च शिखर सगरमाथाको तीन पटक सफल आरोहण गरिसक्नु भएको छ । 

यस अघि उहाँलाई नेपाल पर्वतारोहण संघका तर्फबाट दुवै हिमालहरुको सफलतापूर्वक आरोहणका शुभकामनासहित संघको झण्डा संघका अध्यक्ष श्री सन्तबीर लामाले प्रदान गर्नु भएको थियो । दुवै हिमालहरुको आरोहणका लागि आरोही शेर्पाले भोलि (मिति २०७७ चैत ८ गते आइतबार बिहान) आरोहणका लागि प्रस्थान गर्ने बताउनुभयो ।