मेगा बैंकद्वारा गोलभेंडा उत्पादक कृषकहलाई सहुलियत कर्जा उपलब्ध गराउने

मेगा बैंकद्वारा गोलभेंडा उत्पादक कृषकहलाई सहुलियत कर्जा उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ८, २०७७

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंक अनुसार काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबिच समझदारी पत्रमा हस्ताक्षर भएको हाे  ।

समझदारी अनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ ।

इच्छुक कृषकहरुले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउने छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अबस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरुको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैंकको विश्वास छ ।